हरिवंश आचार्यसहित तीनजना सम्मानित



नेपाली हास्यव्यङ्ग्य क्षेत्रका चर्चित व्यक्तित्व हरिवंश आचार्य, उहाँकी पत्नी रमिला आचार्य र बौद्ध धर्मसम्बन्धमा विधावारिधि गर्न सफल व्यक्तित्व डा. अनोजा गुरुमाँलाई प्रतिभा–सम्मान प्रबन्ध गुठी, बनेपाले सम्मान गरेको छ। प्रतिभा–सम्मान प्रबन्ध गुठीको २० औं वार्षिकोत्सवका अवसरमा प्रत्येक सम्मानित व्यक्तित्वलाई नगद रु. १५ हजारसहित हालै सम्मान अर्पण गरिएको हो।

धुलिखेलमा भएको सम्मान कार्यक्रमका अवसरमा प्रमुख अतिथिको आसनबाट काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले नेपाली संस्कृति गर्व गर्नलायक छ तर अन्य संस्कृतिले अतिक्रमण गरिरहेकाले बचाउन गाह्रो भइरहेको बताउनुभयो। उहाँले संस्कृतिमा हाम्रो पहिचान लुकेको छ भन्ने कुरा पनि व्यक्त गर्नुभयो। कलाकारिता प्रतिभावान् व्यक्तिबाट स्वस्फूर्तरुपमा आउँछ भन्नुहुँदै उहाँले हामीले महत्व दिनुपर्ने अर्को कुरा खेलकुद भएको बताउनुभयो।

लागतको कल्पना नगरी विश्वविद्यालय स्थापना गरेको स्मरण गर्नुहुँदै आफूभित्रको तागत प्रस्फुटन गर्नुपर्ने कुरासमेत डा. शर्माले औंल्याउनुभएको थियो।

नेपाली संस्कृति गर्व गर्नलायक छ तर अन्य संस्कृतिले अतिक्रमण गरिरहेकाले बचाउन गाह्रो भइरहेको छ।
— डा. सुरेशराज शर्मा

सो सम्मान कार्यक्रममा विशिष्ट अतिथि डा. राजेन्द्र कोजूले कलाकारिताबाट पनि समाजलाई दीर्घकालीन सन्देश दिन सकिने कुरा औंल्याउँदै कलाकार पनि समाजको मार्गदर्शक भएको बताउनुभयो। सम्मानित व्यक्तित्व डा. अनोजाले आफ्नो मन्तव्यको क्रममा भगवान् बुद्धले बताउनुभएका ३८ वटा मंगलमध्ये पूजा गर्नयोग्य व्यक्तिलाई पूजा गर्नु पनि मंगल भएको कुरा बताउनुभयो। अर्का सम्मानित व्यक्तित्व हरिवंश आचार्यले स्कुल पढ्दाका क्षणहरु स्मरण गर्दै घरभित्रको सम्मान नै सबैभन्दा ठूलो सम्मान रहेको कुरा बताउनुभयो।

प्रतिभा सम्मान प्रबन्ध गुठीका अध्यक्ष एवं कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार मोहन दुवालले हास्यव्यंग्य क्षेत्र मनोरञ्जन मात्र नभई सामाजिक चतना बढाउने माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘त्यसैले समाजमा राम्रो काम गर्नेलाई यस संस्थाले सम्मान गर्दै जानेछ।’

कार्यक्रममा इम्मानुयल इङ्लिस स्कुलका विद्यार्थीले कोरियन बाजाका साथ ‘रेसम फिरिरी’, ‘जाग लम्क चम्क हे नवजवान हो’ र चर्चित अंग्रेजी गीत टाइटानिकको धुन पस्किएका थिए। संस्थाका सचिव विधान जोशीद्वारा सञ्चालित उक्त कार्यक्रममा साहित्यकार एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, छायाकार गौरीशंकर धुँजू, सामजसेवी केदारनारायण मानन्धरलगायतका अतिथिहरुको साथै नमोबुद्ध न.पा.का प्रमुख टीपी शर्मा, धुलिखेल न.पा.का उपप्रमुख विमला शर्मा, इतिहासकार डा. पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे समितिका सभापति मोतिराम तिमल्सिना आदिको उपस्थित रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्