कोषाध्यक्षमा पुनः राजवंशी



इस्लामावाद, पाकिस्तान
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशी शुक्रबार एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआईपीएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित भएका छन्।
इस्लामावादमा भएको एआईपीएस एसियाको विशेष साधारण सभाबाट दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन्। उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए। २५ मध्ये राजवंशीले १८ र अलीले ७ मत प्राप्त गरेकी थिइन्।

एक कार्यकाल सदस्य रहेका राजवंशी गत वर्ष पहिलो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए। यो जितसँगै राजवंशी स्वतः नेपाल खेलकूद पत्रकार मञ्चको केन्द्रीय समिति सदस्य समेत बनेका छन्। मञ्चको विधानअनुसार कुनै सदस्य खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था र नेपाल पत्रकार महासंघमा निर्वाचित भएमा केन्द्रीय सदस्य हुने नियम रहेको छ।
राजवंशीले आफ्नो जितलाई मञ्च र समग्र नेपाली खेलकुद पत्रकारहरुको जितका रूपमा आफूले लिएको बताएका छन्। वि.सं २०५२ सालमा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकबाट खेलकुद पत्रकारिता शुरू गरेका राजवंशी पहिलो पटक सन् २०१२ मा एआईपीएस एसियाको सदस्यमा निर्वाचित भएका थिए।

विशेष साधारण सभाले कुवतेका सल्लाम अली अलसाहीमा अध्यक्षसहित १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। अलसाही, प्रथम उपाध्यक्षमा दक्षिण कोरियाका हि डन जुङ र महासचिवमा पाकिस्तानका अम्जद अलि मलिक निर्विरोध निर्वाचित भए। ५ उपाध्यक्ष, १ कोषाध्यक्ष र ८ सदस्यका लागि भने निर्वाचत भएको थियो।

नेपालबाट राजवंशी र नेपाल खेलकूद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले विशेष साधारण सभामा भाग लिएका थिए। साधारण सभामा २८ सदस्य देशका ७० बढी प्रतिनिधिको सहभागिता थियो। खेलकुद पत्रकाहरुको अन्तर्राष्ट्रिय संस्था एआईपीएसका अध्यक्ष जियानी मेर्लोको सभाका विशेष अतिथिका रूपमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्