मेसी र अर्जेन्टिनाको कठिन समय



लन्डन, (एजेन्सी)
लियोनल मेसीको टोली अर्जेन्टिनाका लागि विश्वकप २०१८ मा पुग्न झन्झन् कठिन बन्दै गएको छ। बिहीबार राति आफ्नै मैदान ब्युनोस आयर्समा भएको खेलमा पाहुना टोली पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना समस्यामा परेको हो। पहिलो हाफमा केही मौका पाए पनि अर्जेन्टिनाले सदुपयोग गर्न सकेन। यो बराबरी नतिजाले अर्को वर्ष रसियामा हुने विश्वकपमा छनोट हुन धौधौ भयो।अर्जेन्टिनाले दुईपटक फिफा विश्वकप उपाधि उचालेको छ। सन् १९७८ र १९८६ को विश्वकपमा अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो। यसपछि सन् १९९० र २०१४ को विश्वकपमा फाइनलको यात्रा गरे पनि दुवैपटक अर्जेन्टिना जर्मनीसँग हारेको थियो। संयोग यस्तो पर्यो कि दुबै पटक अर्जेन्टिना १–० गोलले हारेको थियो।

 

सन् १९७० देखि विश्वकप नछुटाएको अर्जेन्टिनालाई पहिलोपटक फुटबलको महाकुम्भमा अनुपस्थित हुने डरसमेत उब्जेको छ। अर्जेन्टिनालाई मात्रै होइन अर्जेन्टिना र आजकलका सुपर स्टार लियोनल मेसीका समर्थकलाई समेत निरास तुल्याएको छ। यदि यसो भएमा अर्जेन्टिना र मेसीबिनाको विश्वकप सायद नुन नभएको तरकारीको स्वाद जस्तै हुन सक्नेछ। मेसी जसले बार्सिलोनाका लागि कयौ उपाधि दिलाएका छन् तर आफ्नो देशका लागि उनी केही गर्न असमर्थ भएका छन्।

दक्षिण अमेरिकी समूहबाट शीर्ष चार टोलीले सीधै विश्वकपमा छनोट हुन पाउनेछन्। त्यस्तै पाँचौ स्थानमा रहेको टोलीले प्लेअफ खेलेर विश्वकपमा छनोट हुन सक्ने प्रावधान रहेको छ। यो समूहमा अन्तिम चरण मात्रै बाँकी छ। अर्जेन्टिनाका लागि मंगलबार हुने इक्वेडरविरुद्धको खेलमा एक मौका हुनेछ। अर्जेन्टिना ब्राजिलमा ३ वर्षअघि सम्पन्न विश्वकपका रनर अप बनेको थियो। टोली विश्व च्याम्पियन जर्मनीसँग १–० गोलले हारेको थियो।

अर्जेन्टिना समूहमा २५ अंकसहित छैटो स्थानमा रहेको छ। पाँचौ स्थानमा आएमा पनि ओसियाना टोली न्युजिल्यान्डसँग प्लेअफ खेलेर सम्भवतः विश्वकपमा पुग्न सक्ने स्थिति पनि छ अर्जेन्टिनाका लागि। अहिलेको अवस्थामा ब्राजिल, उरुग्वे, चिली र कोलम्बिया शीर्ष चार स्थानमा रहेका छन्।

अन्तिम चरणको खेलमा चिली र कोलम्बियाको खेल बराबरी भएर अर्जेन्टिनाको जित भएमा मेसी र उनका समर्थकका लागि खुसीको खबर हुनेछ। यदि चिली र कोलम्बियाले जितेमा अर्जेन्टिनाको विश्वकपमा पुग्ने सपना साकार नहोला। पेरुको खेलको नतिजाको पनि भर पर्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्