नोबेल शान्ति पुरस्कार आइक्यानलाई



ओस्लो, (एजेन्सी)
यस वर्षको नोबेल शान्ति पुरस्कार परमाणु हतियार नष्ट गर्ने अभियानमा जुटेको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्स‘ (आइक्यान)लाई प्रदान गरिएको छ।

नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले परमाणु हतियारमाथि रोक लगाउने सन्धिका लागि आइक्यानले गरेको प्रयासको मूल्यांकन गरी नोबेल पुरस्कारबाट सम्मानित गरिएको बताउनुभएको छ। उत्तर कोरियाको प्रसंग उठाउँदै उहाँले भन्नुभयो– ‘हामी त्यस्तो विश्वमा छौं जहाँ परमाणु हतियार प्रयोगको खतरा पहिलाको भन्दा अत्यन्तै बढेको छ।’ उहाँले परमाणु हतियार सम्पन्न देशहरूलाई परमाणु हतियार नष्ट गर्नका लागि वार्ता शुरू गर्न पनि अपिल गर्नुभएको छ।

आइक्यान सयभन्दा धेरै देशमा काम गरिरहेको गैरसरकारी संस्थाहरूको समूह हो। यसको शुरुआत अस्ट्रेलियामा भएको थियो। सन् २००७ मा भियानामा यस संस्थाको औपचारिक घोषणा भएको थियो। स्विजरल्यान्डको जेनेभामा मुख्यालय रहेको यस संस्थालाई आगामी डिसेम्बरमा उक्त पुरस्कार प्रदान गरिनेछ।

विश्वलाई परमाणु हतियारमुक्त गर्ने संयुुक्त राष्ट्र संघको सन्धिलाई गत जुलाईमा १ सय २२ देशले अनुमोदन गरेका थिए। यसमा अमेरिका, रुस, चीन र बेलायत पनि परेका छन् भने फ्रान्स यसबाट बाहिर बसेको छ। उत्तर कोरिया र अमेरिकाबीच परमाणु हतियारलाई लिएर बढ्दो तनाबबीच यो नोबेल शान्ति पुरस्कारको घोषणा भएको हो।

यसलाई निशस्त्रीकरणलाई प्रोत्साहन दिने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्