संघीय फोरम र राजपा मिलेर चुनाव लड्ने भएपछि लोकतान्त्रिक गठबन्धन धरापमा



नेपाल समाचारपत्र, काठमाडौ ।
कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् । यस्तो खालको निर्णयले कांग्रेस नेतृत्वमा बन्न लागेको लोकतान्त्रिक गठबन्धन धरापमा परेको छ ।

फोरम र राजपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । यी दुवै दलले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको नाम नलिई, अन्य गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय सार्वजनिक गरेका छन् ।

मधेसवादी दुई ठूला दलको यो निर्णयसँगै अब उनीहरुले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन पनि संयुक्त दावी पेश गर्नेछन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रवार संयुक्त वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नुप परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।

आगामी प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भाई साझा उम्मेदवारहरुको रुपमा चुनावमा भाग लिने,उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टीहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहाकार्य गर्ने सहमति गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्