ब्राजिली ओलम्पिक अध्यक्ष पक्राउ



 

लन्डन, (एजेन्सी)
ब्राजिली प्रहरीले सो राष्ट्रको ओलम्पिक कमिटीका अध्यक्षलाई रियो दि जनेइरोमा पक्राउ गरेका छन्।

रियो २०१६ ओलम्पिकको आयोजना गर्न मतका लागि पैसा दिएको अनुसन्धानमा खुल्न आएकोमा कार्लोस नुजमान पक्राउ परेका हुन्। ओपरेसन अनफेयर प्ले भनिएको भ्रष्टाचार अनुसन्धानमा नुजमान दोषी ठहरिएको त्यहाँको एजेन्सीले जनाएको छ। जबकि उनले कुनै गल्ती नगरेको भन्दै आएका छन्।

यसैगरी कमिटीका अर्का पदाधिकारी लियोनार्डो ग्रिनर पनि पक्राउ परेको ब्राजिली सञ्चारमाध्यमले जनाएको छ। गत सेप्टेम्बरमा नुजमानको घरमा छापा मारिएको थियो। उनलाई सोधपुछ गरिएको थियो भने उनको पासपोर्ट पनि जफत गरिएको थियो।

७२ वर्षीय नुजमान सन् १९९५ देखि कमिटीमा रहेका छन्। उनले सफलतापूर्वक रियो ओलम्पिकको आयोजना गर्न प्रस्ताव हासिल गरेका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य लामिन डायकको सहयोगमा उनले रकम तिरेर मत किनेको आरोप लागेको थियो। डायक पेरिसमा सन् २०१५ मै पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्