वाम एकताको सन्देश



 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गर्न तीन वामपन्थी घटक नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच समझदारी भइसकेको छ ।

निर्वाचनपछि पार्टी एकीकरण गर्ने उद्देश्यसमेत रहेको तीन वाम घटकको समझदारीपछि नेपालको राजनीतिमा एकाएक नयाँ तरंगसमेत पैदा भएको छ । चुनावमा बढी सिट ल्याउने पहिलो उद्देश्य रहेको वाम एकता दिगो हुनेमा भने आशंका नै छ । यद्यपि यो एकतासँगै नेपाली कांग्रेसलगायत अन्य राजनीतिक दलहरुलाई पनि आगामी निर्वाचनमा तालमेल गरी अघि बढ्न दबाब सृजना भएको छ । नेपाली कांग्रेस यसका लागि अगाडि बढिसकेको छ ।

नेपालजस्तो सानो मुलुकमा आगामी निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या झन्डै एक सयको हाराहारीमा रहेको छ । कानुनमा समेत राष्ट्रिय दलको मान्यता पाउन निश्चित प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था गरिएकोले अन्य साना दलहरु पनि एकताबद्ध भएर निर्वाचनमा होमिन दबाब सृजना भएको छ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा भाग लिनको लागि निर्वाचन आयोगमा ९१ दल दर्ता भएका छन् । अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने यी दलमध्ये धेरैले कानुनमा व्यवस्था गरिएको थ्रेसहोल्ड कायम गर्न नसक्ने निश्चित छ । साथै दलहरुको संख्या धेरै हुँदाको परिणाम कस्तो हुन्छ भन्ने बारेमा पहिलो र दोस्रो संविधानसभाले संविधान निर्माणका क्रममा देखाएको रवैयाले पनि प्रस्ट हुन्छ ।

सैद्धान्तिक र वैचारिक हिसाबले मिल्दाजुल्दा दलहरु पनि फरक–फरक भएकाले निर्वाचनमा पराजित मात्र हैन राष्ट्रिय मुद्दाहरुमा समेत एकमतका साथ अघि बढ्न सकेका थिएनन् । साथै सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसक्दा लामो समयदेखि सरकारसमेत स्थिर हुन सकेको थिएन । सत्ता प्राप्तिको फोहोरी खेलले सधैँ प्राथमिकता पाइरह्यो । १ करोड ५४ लाख मतदाता रहेको आगामी निर्वाचनमा प्रमुख दल नेपाली कांग्रेसले पनि अन्य दलहरुसँग सहकार्य गर्दै निर्वाचनमा भाग लिएमा कांग्रेस, कम्युनिस्टमध्ये एकले बहुमत ल्याउने र स्थिर राजनीति एवं स्थिर सरकार गठन गर्न सहयोग पुग्ने देखिन्छ । तर, चुनावमा सिट जित्नको लागि मात्र भएको तालमेल चुनावलगत्तै भत्कन सक्छ । सिद्धान्त र विचार मिल्ने दलहरु एकीकरण गरेरै अघि बढेमा मात्र स्थिर राजनीति र स्थिर सरकार निर्माणमा मद्दत पुग्छ र राष्ट्रिय मुद्दाहरुलाई हल गर्न सकिन्छ । साथै दिगो विकास गर्दै समुन्नत नेपाल निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्