पिकेले सन्यास लिन सक्ने



 

लन्डन, (एजेन्सी)
बार्सिलोनाका सेन्टरब्याक जेरार्ड पिकेले क्याटलोनियाको स्वतन्त्रता जनमत संग्रहमा गरेको आफ्नो समर्थनलाई समस्याका रुपमा लिए स्पेनको राष्ट्रिय टिमबाट सन्यास लिन सक्ने बताएका छन्।

बार्सिलोनाले आइतबार नोउक्याम्पमा लस पाल्मसविरुद्ध दर्शकविना नै खेल्नुपरेको थियो। जुन खेल बार्सिलोना ३–० ले विजयी भएको थियो। खेलपछि भावुक रुपमा प्रस्तुत भएका ३० वर्षीय जेरार्डले उक्त खेल आफ्नो लागि निकै कठिन भएको बताएका छन्।

उनले भने– ‘यदि बोर्डले मलाई समस्याका रुपमा लिन्छ भने सन् २०१८ को विश्वकपअघि नै राष्ट्रिय टिमबाट सन्यास लिन्छु। तर स्पेनिस टिमको सदस्य हुन पाएकोमा मलाई गर्व लाग्छ।’ आइतबार जे भयो, त्यसमा असहमति राख्ने तर लोकतन्त्रमा विश्वास गर्ने मानिसहरू धेरै रहेको उनले बताए।

क्याटलोनिया उत्तर पूर्वी स्पेनको क्षेत्र हो। जहाँ ७ दशमलव ५ मिलियन मानिसहरू बसोबास गर्छन्। उनीहरूको आफ्नै भाषा र संस्कृति छ र बार्सिलोना त्यसको राजधानी हो। जहाँ अहिले पनि माथिल्लो स्तरको स्वायत्तता छ। तर स्पेनिस संविधानले भने त्यसलाई अलग राष्ट्रको मान्यता दिएको छैन।

पिकेले स्पेनको राष्ट्रिय टोलीबाट ९१ म्याच खेलेका छन्। सन् २०१० मा फिफा विश्वकप च्याम्पियन बन्दा र सन् २०१२ मा लगालग दोस्रो पटक युरोपियन च्याम्पियन बन्दा पीके स्पेनिस फुटबल टिमको महत्त्वपूर्ण सदस्य थिए। तर क्याटालोनियाको स्वतन्त्रताको पक्षमा उभिएपछि उनी विवादमा मुछिँदै आएका छन्। विश्वकप छनोटअन्तर्गत स्पेनले आगामी शुक्रबार एलीकान्टेमा अल्बानियाको सामना गर्दैछ। उक्त खेल जितेमा स्पेन विश्वकपका लागि छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्