अफगानिस्तानमा ८१ जना तालिबान लडाकू मारिए



काबुल, अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा ८१ जना तालिबान लडाकू मारिएका छन् ।

विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही तथा केही स्थानमा भएका भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् ।

अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो ।

पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्