लस भेगास नरसंहार, आक्रमणकारी व्यावसायिक जुवाडे



५९ को मृत्यु, ५ सय २७ घाइते
वासिङ्टन, (एजेन्सी)
सन् २०१२ को स्यान्डी हुक आम नरसंहारयता अमेरिकामा गोली प्रहारका घटना झन्डै नियमित नै हुन थालेको र अहिलेसम्म यस्ता घटनाबाट कम्तीमा १ हजार ५ सय १८ जना व्यक्तिले ज्यान गुमाइसकेका छन्।

आइतबार राति १० बजे नेवादा निवासी ६४ वर्षीय रियल स्टेटका लगानीकर्ता तथा करोडपति स्टेफन क्रेग प्याडकले पुनः त्यस्तै घटना दोहोर्याएका छन्। उनले लसभेगासस्थित मन्डाले बे रिसोर्ट एन्ड क्यासिनो होटेलको ३२ तल्लाबाट कन्सर्ट हेरिरहेको भिडमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५९ जनाको ज्यान जानुका साथै ५ सय २७ जनाभन्दा बढी घाइते भएका छन्।

उनले कसैले चाल नपाउने गरी कोठामा २३ वटा अत्याधुनिक स्वचालित राइफल तथा हजारौं संख्यामा गोली र विस्फोटक पदार्थ जम्मा पारेको प्रहरीले जनाएको छ। आम नरसंहारकर्ताको जीवनीले भविष्यमा हुनसक्ने यस्ता अप्रिय घटना रोक्न मद्दत पुग्नसक्ने भएकाले प्रहरीले फ्लोरिडाको आर्लान्डो निवासी उनका भाइ एरिक प्याडकसँग सोधपुछ गरेको छ।

एरिकले आफ्नो दाजुबाट यस्तो कार्य कसरी हुन पुग्यो भन्ने कुराले आफू पनि निकै अचम्मित भएको एबीसी न्यूजलाई बताएका छन्। तर आईएसआईएसले एउटा विज्ञप्ति जारी गर्दै हालसालै मात्र प्याडकले उक्त आतंककारी समूहको सदस्यता लिएको दाबी गरेको छ।
यद्यपि मंगलबारसम्म विज्ञप्तिको पुष्टि हुन सकेको छैन। उनी लसभेगासदेखि ८० माइल उत्तर पूर्वमा पर्ने नेवादाको मेस्क्वाइटमा बस्दै आएका थिए। तर गुगल सर्चले सो स्थानमा कुनै मस्जिद रहेको संकेत दिँदैन।

शिकार र विमान चालकको अनुमति प्राप्त उनीसँग दुईवटा निजी विमान रहेको बताइएको छ। अमेरिकी प्रचलित कानूनअनुसार त्यस्ता अनुमति–पत्र लिन मानसिक अवस्था र दृष्टिक्षमता दुरुस्त हुनु अनिवार्य मानिन्छ। उनी एकल पनि नभएको बरू उनको ६२ वर्षीया म्यारिलो डेन्ली नाम गरेकी गर्लफ्रेन्ड रहेको बुझिएको छ। २७ वर्ष अघि उनले विवाह गरेकी महिला अहिले दक्षिणी क्यालिफोर्नियामा रहेको अनुसन्धानबाट खुल्न आएको छ।

शुरूमा एकाउन्टेन्ट र अडिटरको रूपमा करियर थालेका उनले पछि प्रपर्टी किनबेच तथा व्यवस्थापन व्यवसायबाट थुपै्र पैसा कमाएका थिए। पछिल्लो समयमा व्यवसायिक जुवाडेका रूपमा देखिएका उनी समयसमयमा डेन्लीसँग लस भेगासमा आएर पोकर खेलमा ठूलो दाउ लगाउने गरेको बुझिएको छ।
तर रोयटर्सले एकजना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उनको विगतमा मानसिक विचलनको अभिलेख रहेको जनाएको छ। प्रहरीले यस आक्रमणको उद्देश्य पत्ता लगाउने कोसिस गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्