“हामी सबैको अभियान २०३० सम्म रेविजमा पूर्णविराम !”



 

डा. नारायणबहादुर श्रेष्ठ
प्रमुख, जिल्ला पशु सेवा कार्यालय, काभ्रे

रेविज रोग विषाणुको कारणले लाग्ने एउटा अति नै खतरनाक तथा प्राणघातक जुनोटिक रोग हो। यो रोग लागिसकेपछि यसको कुनै उपचार हुँदैन र बिरामीको मृत्यु अवश्यंभावी हुन्छ। सन् १८२२ मा फ्रान्समा जन्मिएका लुइस पास्चरले सन् १८५५ मा रेविज रोगबारे विभिन्न तथ्यहरू पत्ता लगाएका थिए। उनले त्यतिबेला पत्ता लगाएको रोगको हालसम्म पनि कुनै उपचारै छैन। रेविज रोग आफैमा प्राणघातक रोग रहेको छ भन्ने कुरा पत्ता लगाएर सन् १८९५मा लुइस पास्चर यस संसारबाट बिदा भए। पछि उनको सम्झनामा यो डरलाग्दो रोगलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने उद्देश्य राख्दै विश्वमा हरेक सेप्टेम्बर २८ मा विश्व रेविज दिवस मनाइँदै आएको छ। नेपालको सन्दर्भमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै मनाइँदै आएको छ। हालैको सर्वेक्षणअनुसार रेविज रोगबाट हरेक वर्ष विश्वमा ५२ हजार मानिसले ज्यान गुमाइरहेका छन्। हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाइरहेका छन्। हरेक वर्ष नेपालमा यसको तथ्याङ्क ⁄

पनि बड्दो क्रममा छ। १ सय ५० देखि २ सयसम्म प्रत्येक वर्ष नेपालमा यो रोगको सङ्क्रमणबाट नेपालीले ज्यान गुमाइरहेका छन्। विशेष मानिस र पशुमा यो रोग लाग्छ। यो जुनोटिक रोग भएकैले मुख्य पशु र मानिससँग सम्बन्धित रहेको छ। कुकुरको मानसिक सन्तुलन ठीक नभएपछि (बहुलाएपछि) मानिसलाई टोक्ने गर्दछ। यो रोगको सङ्क्रमणपछि मानिसको मृत्यु निश्चित हुन्छ। यो रोग विशेष गरी एसिया र अफ्रिकी देशहरूमा बढी देखापर्दै आइरहेको छ। जापान, अस्ट्रेलिया, सिङ्गापुरजस्ता देशमा रेविज फ्रि मानिन्छ। विकसित देश र अविकसित देशको तुलनामा पनि यो रोगको मात्रामा थपघट रहँदै आएको छ। घरको पहरेदार मान्दै नेपाली समाजमा कुकुर ज्यादा पाल्ने गरिँदै आएको छ। समुदायमा रहेका भुस्याहा कुकुर र घरमा पालिने कुकुरमा धेरै भिन्नता भए पनि कुकुरको मानसिक सन्तुलनमा भने जुनै कुकुरलाई जुनै समयमा पनि देखापर्न सक्छ। आजको एकाइसौं शताब्दीमा आएर पनि मानिसहरुमा चेतनाकै कारण कुकुरले टोकेपछि झारफुकमा विश्वास गर्ने नेपाली समाजको यथार्थतालाई सर्वप्रथम उन्मूलन गर्नु जरुरी छ। आज हरेक दिन शहरी तथा ग्रामीण इलाकाबाट सयौं बिरामी मानिस कुकुरको टोकाइले अस्पताल आउने गर्दछन्। हरेक वर्ष ३ हजार मानिस अस्पतालमा सुई लगाउन मात्रै आउने गरेको तथ्याङ्क छ। कुकुरले टोक्नेबित्तिकै रेविज लाग्यो भन्नु पनि यसभित्रको भ्रम हो भने बहुलाएको कुकुरले टोकेको घाउमा कुकुरको र्यालबाट देखिने विषाणुहरुले घाउमा सङ्क्रमण शुरू गरेपछि मानिस र पशुमा विभिन्न लक्षणहरु देखापर्न थाल्दछन् अनि रेविज रोग लाग्छ।

रेविज रोग लाग्ने माध्यम विशेष गरी कुकुर भए पनि मुसो, चमेरोबाट पनि यो रोग सङ्क्रमण हुँदै आएको पाइन्छ। रेविज लागेको मानिसमा ज्वरो अचानक बढ्ने, आवाजमा हठात् परिवर्तन हुने, मुखबाट र्याल बग्न थाल्ने, आँखाहरु रातो हुने, पानीदेखि डराउने, आफूभन्दा अलग किसिमका वस्तुहरुलाई टोक्ने वा झम्टने यसका मुख्य लक्षणहरु हुन्। यस्ता लक्षणहरु देखापरेको केही क्षणमा नै मानिस या सङ्क्रमित पशुको मृत्यु हुन्छ भने यो रोग लागेपछि मस्तिष्कलाई धेरै नै प्रभावित बनाउने काम गर्दछ। रेविज लागेपछि तुरुन्तै उपचार सम्भव भए पनि दीर्घकालीन उपचार भने हालसम्म छैन। यदि कुकुर बहुलाएको छ र त्यो कुकुरले मान्छेलाई टोकेको छ भने कुकुर पनि १० देखि १४ दिनभित्रै मर्छ। यसकारणबाट पनि पत्ता लगाउन सकिन्छ कि कुकुर बहुलाएकै रहेछ भन्ने कुरा। कुकुरमा साधारण देखिने लक्षण एकोहोरो हुने, पुच्छर हरक्षण टाङमुनि लुकाउनेजस्ता कुकुरका क्रियाकलापले पनि कुकुर बहुलाएकै हो भन्ने कुरा थाहा पाउन सकिन्छ। कुकुरले टोकेकै दिनदेखि भ्याक्सिन लगाउन सकिन्छ। टोकेको दिनलाई शून्य मानी ३, ७, १४, २८ र ९० दिनसम्म पनि भ्याक्सिन लगाउन सकिन्छ। कुकुरमा उक्त भाइरस जङ्गली जनावरमार्फत सर्ने भएकाले र जङ्गली सङ्क्रमित पशुमा हुने भएकाले गर्दा यसरी एक अर्कामा सर्ने र अन्त्यमा मानिससम्म आइपुग्ने गर्दछ। कुकुर पाल्दै नपाल्नु भन्ने होइन कि सोखसँगै सामाजिक मर्यादालाई पनि ख्याल गरौं भन्ने कुरा हो। जब कि केही सोखमा कुकुर पाल्नेले आफ्नो जन्मदिने जन्मदातालाई वृद्धाश्रममा छोडिदिन्छ।

आज राजधानी काठमाडौंमा मात्रै होइन, हरेक नगरपालिकामा छाडा छोडिएका भुस्याहा कुकुरहरुको आतङ्क छ। हरेक दिनजसो अस्पतालमा कुकुरले टोकेका बिरामीहरु सयौं आउँछन्। नेपालको सन्दर्भमा रेविज लाग्नै नदिने उपाय भनेको कुकुरहरुलाई बन्ध्याकरण गरी कुकुरको सङ्ख्यामा कमी ल्याउँदै नियन्त्रण गर्नु नै महत्त्वपूर्ण उपाय मानिन्छ। कुकुरलाई कानुनले मार्ने मान्यता नदिए पनि यसरी सङ्ख्यामा कम गर्न सकिन्छ। कुकुरले टोकेपछि शरीरको ठाउँअनुसार सङ्क्रमण गर्ने समय हुन्छ। विकसित देशहरुमा हाल आएर हावाको मध्यमबाट पनि यो भाइरस सर्ने देखिँदै आएको छ। यस वर्ष पनि ‘हामी सबैको अभियान २०३० सम्म रेविजमा पूर्णविराम⁄’ भन्ने मूल नारा राखी विश्व रेविज दिवस असोज २३ देखि २९ सम्म सप्ताह व्यापीरूपमा मनाइँदै छ। रेविज दिवसले सिकाउनुपर्ने पाठ दिवसका दिनहरूबाहेकमा पनि प्रवाह गर्न सकेको खण्डमा यस्ता दिवस मनाउनुको सार्थकता रहन्छ भन्ने कुरा सम्बन्धित हामी सबैले बुझ्नु जरुरी छ। तब मात्रै नाराहरूले सार्थकता पाउनेछन्। २०३० सम्म रेविजमा पूर्णविराम नै लगाउने हो भने तपाईं हाम्रो अभियानलाई हामीले बेलैमा ध्यान दियौं र सबैलाई बेलैमा सचेत बनौं र बनाऔं।

रेविजबारे यी कुरा जानिराखौं
रोगको कारक तत्त्वः
रेविज रोगको मुख्य कारक तत्त्व भनेको रेब्डो परिवारभित्रको लाइसा प्रजातिको एउटा विषाणुको कारणले लाग्ने गर्दछ। ५ थरिका प्रोटिन र लिपोप्रोटिन युक्त यो विषाणुलाई घाम, साबुन⁄डिटरजेन्ट र आयोडिनले नष्ट गर्छ।

रोग सर्ने तरिकाः
यो रोग विशेष गरी बौलाएको पशुले टोकेपछि सो पशुको र्यालमा भएको विषाणुको संक्रमणबाट सर्ने गर्दछ। कुकुर, ब्वाँसो, स्याल, न्याउरीमुसा, चमेरो आदि यो रोगको प्रमुख स्रोत र संवाहक हुन्। अस्ट्रेलिया तथा दक्षिण अमेरिकी देशहरूमा चमेरोको टोकाइबाट पनि यो रोग सर्ने गरेको पाइन्छ। यस रोगको विषाणुले स्नायु प्रणालीका कोष र खास गरी स्नायु तथा मस्तिष्कमा असर गर्दछ। त्यस्ता रोग लागेका जनावरले टोकिसकेपछि विषाणुहरू स्नायु प्रणालीको माध्यमबाट गिदीमा पुग्छन् र त्यहाँ तिनीहरूको संख्यामा तीव्र वृद्धि हुन्छ। त्यसपछि त्यस्ता विषाणुहरू स्नायु प्रणालीको कोषको माध्ययमबाट शरीरको विभिन्न भाग हुँदै फैलन्छन् र पछि र्यालमा देखापर्दछ।

रेविज रोग लागेर लक्ष्यण देखाएको दिनदेखि १० दिनदेखि १४ दिनभित्र उक्त जनावरको मृत्यु हुन्छ। यो रोग लाग्नमा विषाणुको मात्रा, घाउको गहिराइ र टोकेको अंगमा भर पर्छ। टाउको नजिक वा गहिरो घाउ भएमा रोगको लक्षण छिटो देखापर्छ। शरीरको अरू कुनै भागमा टोकेको खण्डमा २ हप्तादेखि १ वर्षसम्म रोगको लक्षण देखापर्न सक्छ। कुनै बहुला कुकुरले कसैको घाँटीभन्दा माथिको भागमा टोकेको छ भने एक हप्तादेखि चार हप्ताभित्रमा रेविज रोगको लक्षण देखिने हुन्छ। यस्तै शरीरको अन्य भागमा टोकेको खण्डमा १ महिनादेखि १ वर्षभित्रमा रोगका लक्षण देखिन सक्छ। कुनै अपवादहरूमा २ वर्षको अवधिमा समेत यस्तो देखिँदै आएको छ। तर पाकेको दूध र मासुबाट यो रोग सर्दैन।

रोगको लक्षणः
रेविज लागेपछि प्रायः सबै जनावरहरूमा एउटै थरिका लक्षणहरू देखापर्छ तर कुकुर, भैंसी, गोरु, गाई, चमेरो र मानिसहरूमा यसको लक्षण केही फरक हुन्छ। कुकुर र अन्य जनावरलाई पानीबाट केही थाहा हुन्न भने मानिसलाई मात्र यो रोग लागिसकेपछि पानीबाट डराउने समस्या देखा पर्छ। बिरालोको नङ्ग्रा फिँजारिएको देखिएमा पनि यो रोगको लक्षण हो भन्ने शंका गर्न सकिन्छ।

जस्तै कुकुरमा उत्तेजक व्यवहार देखिन्छ। यसबेलामा कुकुर अत्यधिक आक्रामक हुने, आफ्ना वरपरका वस्तुहरू टोक्ने, जोडले चपाएको जस्तो देखिने, एकैनासले भुकिरहने, स्वरमा एकाएक परिवर्तन हुने, पुच्छर खुट्टामुनि लुकाएर हिँड्ने, जिब्रो बाहिर निकालेर र्याल बगाइरहने, च्यापुमा प्यारालाइसिस हुने र एकोहोरो स्वभावमा जे भेट्यो त्यही टोक्दै हिँड्ने हुन्छ। लाटो अवस्थामा भने कुकुर लाटो हुने, आवाज नै निकाल्न नसक्ने, एउटा कुनो वा शान्त ठाउँमा बस्ने, खाना खान पनि छोड्ने, मुखबाट तातरन्तार र्याल बगाइरहने हुन्छ। यदि यस्ता लक्षण देखाएको कुकुर छ भने लक्षण देखिएको ४ दिनदेखि ५ दिनको बीचमा मर्छ। गाईभैंसी र अन्य जनावरहरूमा यो रोग लागिसकेपछि बिस्तारै घाँस, दानापानी खान बन्द हुने, छटपटाउने, विनाकारण हिँडिरहने, कराउने, उफ्रने, आँखा ठूल्ठूला पारी कान ठाडो पारेर हेर्ने र सिङले हिर्काउन खोज्नेजस्ता लक्षणहरू देखिन्छन्।

विस्तारै घाँटीको आवाज निस्कने भाग पक्षपात भई आवाज पनि भिन्न निस्कने, भुइँमै लड्ने, मुखबाट प्रशस्त मात्रामा र्याल निस्कने, पक्षघात हुने जस्तो देखिन्छ। मानिसमा रेविज रोगका प्रमुख लक्षणहरूमा शुरूमा सुस्त हुने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, पानी निल्न गाह्रो पर्दछ। पानी, हावा र उज्यालोबाट तर्सने, छिनछिनमा मुर्छित हुने, र्याल आउने, खाना निल्न नसक्ने पक्षघात हुने र अन्तमा रोग लागेको ४ दिनदेखि १० दिनभित्र सास फेर्न बन्द भई बिरामीको मृत्यु हुन्छ।

रेविज नै हो भन्ने कसरी थाहा पाउने?
यदि यो रोग लागेको पशुमा रोग निदान गर्दा लक्षणले मात्रै पनि अपुग हुन्छ। त्यसैले सही किसिमले रोगका बारेमा थाहा पाउनु छ भने प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन्छ। जस्तै र्यापिड टेस्ट, फ्लोरेसेन्ट एन्टिबडी टेस्ट, माउस इनोकुलेशन टेस्टबाट यो रोग निदान गर्न सकिन्छ।

उपचार
यदि यो रोग लागेकै हो भने मृत्यु हुने निश्चित नै छ। यदि रोगीलाई वा शंकास्पद जनावरले टोक्नासाथ टोकेको घाउमा उपचार, खोप र आवश्यकताअनुसार भ्याक्सिनहरूको प्रयोग गर्नुपर्छ। जस्तै बहुला कुकुरले वा शंकास्पद जनावरले टोकेको स्थानमा तुरुन्तै साबुन पानीले १५ मिनेटसम्म राम्रोसँग धुनुपर्छ र त्यसपछि टिन्चर आयोडिन, पोभिडिन वा अन्य कुनै एन्टिसेप्टिक औषधि लगाउनुपर्छ। अनि टिटानसको सुई पनि लगाउनुपर्छ। आफूलाई टोकेको कुकुरको पहिचान गर्नुस् र निगरानीमा राख्नुस्। अन्यथा यसको उपचार छैन।

खोप लगाउने विधि
यो रोग लागेको जनावरले टोकेको, लसपस मात्र भएको शंकास्पद अवस्थामा, पहिलो दिन, तेस्रो दिन, सातौं दिन र अठ्ठाइसौं दिन एक⁄एक मात्राको दरले मासुमा टिस्युकल्चर रेविज खोप दिनुपर्छ। यसरी खोप दिँदा ठूलो जनावरमा एक भाएल घाँटीको मासुमा र एक भाएल पुट्ठाको मासुमा दिनुपर्छ भने सानो जनावरमा एक भाएल मात्र दिए पुग्छ। रोकथामका लागि कुकुरहरूमा खोप लगाउँदा तीन महिना उमेर पूरा भएपछि पहिलो मात्रा, चार महिनाको उमेरमा दोस्रो मात्रा र त्यसपछि वर्षैपिच्छे दोहोर्याउनुपर्छ। पशुका लागि प्रयोग हुने खोपको पोटेन्सी १ आईयू प्रतिडोज र मानवका लागि प्रयोग हुने खोपको पोटेन्सी २ दशमलव ५ आईयू प्रतिडोज लगाउनुपर्छ। यदि यो रोग लागेको पशुले स्वस्थ मानिसको टाउको वा माथिल्लो भागमा रगत आउने गरी टोकेको हो भने खोपसँगै हाइपरइम्युनी सिरम पनि लगाउनुपर्ने आवश्यक हुन्छ। यदि यो रोगको रोकथाम र नियन्त्रण गर्ने हो भने सम्पूर्ण कुकुरहरूमा सर्वप्रथम नियमितरूपले खोप लगाउन अति आवश्यक पर्छ। घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई नगरपालिका, गाउँपालिका र वडाहरूबाट खोप लगाउने व्यवस्था अनिवार्य गर्नुपर्छ। साथै कुकुरहरूको सङ्ख्यामा कम गर्न बन्ध्याकरणक (शल्यक्रिया) गरी प्रजनन गर्न नसक्ने बनाउनुपर्छ। सबैले यो रोगको महत्त्वका बारेमा सूचित गर्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाको माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, यो रोगबारे हामीले जानेको कुरा एकबाट अर्काेमा जानकारी गराउन सकियो भने पनि केही मात्रामा विस्तारै यो रोगको रोकथाम र नियन्त्रण हुँदै जान्छ।

खोप प्रयोग गर्ने तालिकाः
कुकुर वा बिरालोमा खोप प्रयोग गर्ने तालिका
– पहिलो मात्राः ३ महिना
– दोस्रो मात्राः ४ महिना
– बुस्टरः प्रत्येक वर्ष
३ महिनाभन्दा कम उमेरका कुकुर वा बिरालोमा यो खोप प्रयोग गर्नुहुँदैन। पूर्ण स्वस्थ जनावरमा मात्रै यो खोप प्रयोग गर्नुपर्ने हुन्छ। साथै खोप लगाउनुअघि र लक्षण देखिएको खण्डमा तुरुन्तै चिकित्सककोमा जानुपर्छ। साथै प्रभावकारी खोप कार्यक्रम, भुस्याहा कुकुरको नियन्त्रण तथा जनचेतनाका महत्त्वपूर्ण उपायहरू हुन्।

प्रतिक्रिया दिनुहोस्