दशैँ र नेपालको अर्थतन्त्र



 

रूपनारायण खतिवडा

हिन्दूधर्मावलम्बी नेपालीको प्रमुख चाडका रूपमा रहेको दशैँको माहोलले यस वर्ष पनि सबैतिर छाइसकेको छ। घटस्थापनाको दिनदेखि नै औपचारिक रूपमा दशैँको आरम्भ भइसकेको छ। दश दिनसम्म मनाइने राष्ट्रिय पर्वका रूपमा रहेको दशैँले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा निकै महत्व राख्दछ। सँगसँगै, नेपालको सन्दर्भमा दशैँले अर्थतन्त्रलाई बहुआयामिक रूपमा चलायमान र गतिशील तुल्याउने मात्र नभई नकारात्मकरूपमा पनि उत्तिकै प्रभाव जमाउने प्रमुख पर्वका रूपमा समेत देखिन थालेको छ।

आर्थिक दृष्ट्रिकोणबाट हेर्दा दशैँ खुशीयालीको पर्व मात्र नभई सुस्ताएको बजारलाई चलायमान बनाउने पर्व पनि हो। दशैँको समयमा औपचारिक रूपमा नै ठूलो मात्राको रकम एकैपटक अर्थतन्त्रमा प्रवाह हुने गर्दछ। नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत खर्च असोज र कार्तिक महिनामा हुने गरेको छ।

यी महिनाहरूमा दशैँ–तिहारलगायतका ठूला चाडहरू पर्ने गर्दछन्। दशैँको समयमा सरकारी, निजी र अनौपचारिक क्षेत्रमा रोजगाररत सबैले दशैँ खर्च एवं बोनस पाउने भएकोले यसबाट पनि अर्बाैं रुपियाँ अतिरिक्त आम्दानीका रूपमा बजारमा भित्रिने गर्दछ। सरकारी कर्मचारीहरूका लागि मात्रै दशैँअघि चाडपर्व खर्चको भुक्तानीका रूपमा १० अर्ब हाराहारी रकम खर्च हुने तथ्यांक छ। यसबाहेक निजी क्षेत्रबाट पनि यो भन्दा ठूलो हिस्सा कर्मचारीहरूको दशैँ खर्चका रूपमा बजारमा पुग्ने गर्दछ। देशको कुल जनसंख्याको एकतिहाइभन्दा बढी हिस्सा दशैँ–तिहारका समयमा मुलुकको एक भागबाट अर्को भागमा आवतजावत गर्ने भएकोले सिंगै मुलुक हरेक हिसाबले चलायमान भइरहेको हुन्छ। अर्कोतर्फ, आवतजावतका क्रममा यातायातका क्षेत्रमा मात्रै ७ अर्बभन्दा बढीको कारोबार हुने यस क्षेत्रका व्यवसायीहरूको अनुमान छ। चाडपर्व मनाउन र आफन्तजनहरूसँग भेटघाटका लागि खासगरी शहरवासीहरू ग्रामीण भूभागतिर जाने भएकोले शहरको आम्दानी गाउँमा पुग्ने माध्यम र अर्थतन्त्रका लाभहरू सीमान्त वर्गसम्म पुग्ने अवसरका रूपमा समेत दशैँ रहेको छ।

दशैँको समयमा आमनागरिकलाई नयाँ नोटको मोह पनि उत्तिकै रहने गर्दछ। नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैँ–तिहारमा अर्बाैं रुपियाँ बराबरका नयाँ नोटहरू बजारमा पठाउने गरेको छ। अघिल्लो वर्ष ८ अर्बबराबरको नयाँ नोट सटही गरेको केन्द्रीय बैंकले यस वर्ष १०, २०, ५० र सय रुपियाँ दरका १५ अर्ब रुपियाँभन्दा बढीको नयाँ नोट बजारमा पठाएको छ। दशैँको समयमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूले पठाउने विप्रेषणको रकम पनि ह्वात्तै बढ्ने गर्दछ। विगत वर्षहरूको तथ्यांक हेर्दा औपचारिक माध्यमबाट १ खर्ब हाराहारी विप्रेषण रकम यही सिजनमा देशमा भित्रिने गरेको अवस्था छ। यसरी हेर्दा दशैँको आसपासमा अर्थतन्त्रमा ठूलो मात्रामा नगद चलायमान हुने र खर्चको मात्रा पनि उत्तिकै बढ्ने गरेको अवस्था छ।

दशैँको आरम्भसँगै धेरै चलायमान हुने अर्को मुख्य क्षेत्र व्यापार पनि हो। दशैँको शुभारम्भ हुनुभन्दा निकै दिनअघिदेखि नै साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र सपिङ मलहरू छुट, आकर्षक उपहारलगायतका सुविधा एवं सहुलियतहरूसहितका विज्ञापनले झकिझकाउ भइरहेका हुन्छन्। पत्रपत्रिकालगायत आमसञ्चारमाध्यमहरू व्यापारिक छुट र सहुलियतका आकर्षक विज्ञापनहरूले ढाकिने गर्दछन्। एक हिसाबले दशैँको समय मानिसहरूका लागि खरिददारीको मौसमका रूपमा रहेको हुन्छ। व्यापारिक स्थलहरूमा देखिने भीडभाड र कोलाहलले पनि यसको पुष्टि गरिरहेको हुन्छ। दशैँको समयमा नयाँ लत्ताकपडा, गरगहना, खानपानका लागि आवश्यक उपभोग्य सामग्रीहरूदेखि लिएर सवारीसाधन, भाँडाकुँडा, विद्युतीय सामानहरूजस्ता अनेकन वस्तुहरूको किनमेलमा मानिस जुट्ने गर्दछन्। फलफूल, मरमसलादेखि लिएर थुप्रै घरायसी सामानको कारोबार दशैँको समयमा चुलिने गर्दछ। पछिल्ला वर्षहरूमा विषेश गरी शहरी क्षेत्रहरूमा दशैँ, तिहारलाई नयाँ सामान जोड्ने पर्वका रूपमा समेत मनाउन थालिएको पाइन्छ। व्यापारीहरूको भनाइमा नूनदेखि सुनसम्म वर्षभरिको मुख्य कारोबार हुने सिजन भएकोले वर्षभरिमा हुने व्यापारको ठूलो हिस्सा कारोबार दशैँ–तिहारको समयमा नै हुने गर्दछ। यसबाट नेपालको व्यापारिक क्षेत्रमा ठूलो कारोबार हुने ‘पिक सिजन’का रूपमा दशैँ रहेको छ।

दशैँ–तिहारजस्ता चाडपर्वले अर्थतन्त्रलाई व्यापकरूपमा चलायमान गराउने र थुप्रै सकारात्मक प्रभावहरू छोड्ने भए पनि यसका नकारात्मक पाटाहरू पनि उत्तिकै रहेका छन्। दशैँ, तिहारको समयमा ठूलो मात्रामा खर्च हुने गरे पनि यसको अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्दछ। एक हिसाबले दशैँ उपभोगको पर्वका रूपमा रहेको छ। खर्चको ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नभई उपभोगमा खर्चिने स्थिति अर्थतन्त्रका लागि हितकर हुन सक्दैन। अर्कोतर्फ, पछिल्लो समयमा ‘राम्रो लगाउने र मीठो खाने पर्व’का लागि खरिद गरिने लगाउने एवं खाने अधिकांश वस्तुहरू आयातीत हुन थालेका छन्। दशैँमा गरिने खर्च र यससम्बद्ध धेरै क्रियाकलापहरूले आयातलाई प्रश्रय दिइरहेको देखिन्छ। राम्रो लगाउने नाममा लत्ताकपडामा ठूलो रकम खर्च हुने तर स्वदेशी उत्पादनले बजारलाई भर नगर्ने भएकोले यसमा गरिने अधिकांश खर्च विदेशिने गर्दछ। पछिल्ला वर्षहरूमा खानपानका सामग्रीहरू पनि विदेशी नै हुन थालेका छन्।

विगतमा दशैँका लागि भनेर खसीबोका, हाँस, कुखुरा आदि पालिने र मासुका रूपमा उपयोग गरिने प्रचलन रहेको थियो। हालका दिनहरूमा कृषि पेसाप्रति विभिन्न कारणहरूबाट मानिसमा देखिएको विकर्षणका कारण देशभित्रको मासुजन्य उत्पादनले आन्तरिक बजारको मागको १५ प्रतिशत हिस्सा मात्रै धानिरहेको तथ्यांक छ। यसको अर्थ, दशैँमा मासुका लागि खसी, बोका, च्याङ्ग्रालगायतका जनावरहरू मात्रै ८५ प्रतिशत आयातीत रहने गर्दछन्। कृषिप्रधान भनिएको मुलुकमा धान, चामललगायतका दैनिक खाद्यवस्तुदेखि जीरा, धनियाँ, लसुन, प्याजसमेत भारत एवं चीनबाट आयात गरी उपभोग गर्नुपर्ने र चाडबाड मान्नुपर्ने स्थितिमा हामी पुगिसकेका छौं। विप्रेषण आयमार्फत यो सिजनमा देशमा भित्रिएको रकमको पनि अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्दछ। दशैँ–तिहारको समयमा ठूलो मात्रामा हुने उपभोग खर्चले हरेक कोणबाट आयातलाई बढावा दिइरहेको हुन्छ। यस किसिमको अवस्थाले दशैँ–तिहारजस्ता पर्वहरू देशमा चुलिएको व्यापार घाटालाई अझै उचाइमा पुर्याउने पर्वका रूपमा स्थापित भइरहेका छन्।

चाडबाडको समयमा हरतरहले बजारमा मुद्राको आपूर्ति बढेसँगै अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार नै बजारमूल्यसमेत बढ्ने गर्दछ। दशैँको आसपासमा एकैपटक ठूलो मात्रामा नगद प्रवाह भएसँगै उपभोक्ताहरूको क्रयशक्ति बढ्ने र यसबाट बजारको कारण सँगसँगै फेरिएको उपभोग प्रवृत्तिले समेत मूल्यवृद्धिमाथि चाप पर्ने गर्दछ। यसबाट गरिब एवं सीमान्तकृत नागरिकहरूलाई चाडपर्व मान्ने ध्याउन्न र देखासिकीका कारण अझै गरिबीतर्फ धकेलेका अनेकौं दृष्टान्त छन्। ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ भन्ने प्रचलित नेपाली उखानले समेत यसखालको अवस्थाको उजागर गरिरहेको छ। मुद्राको ठूलो मात्रा बजारमा एकैपटक भित्रिने र मागमा व्यापक बढोत्तरी भई बजारमूल्य पनि ह्वात्तै बढ्ने अवस्था स्वस्थ अर्थतन्त्रको द्योतक होइन।

यस किसिमका नकारात्मक पाटाहरूलाई ठेगान लगाउन र दशैँलाई मुलुकी अर्थतन्त्रको हितमा उपयोग गर्नका लागि विभिन्न सुधारहरू आवश्यक छन्। दशैँ, तिहारको समयमा ठूलो मात्रामा खर्च हुने र यसको अधिकांश हिस्सा उपभोग खर्चमा नै सीमित हुने स्थितिमा सकेसम्म न्यूनतम खर्चमा मितव्ययी हिसाबले चाडबाड मनाउने परम्परालाई स्थापित गरिनुपर्छ। दशैँमा हुने खर्चको केही अंशलाई मात्रै बचत गर्न र पूँजी निर्माणमा लगाउन सकिएमा यसबाट अर्थतन्त्रमा सोझै सकारात्मक प्रभाव पर्ने भएकोले यसतर्फ सबैलाई प्रेरित गरिनुपर्छ। उपभोग खर्चको ठूलो हिस्सा आयातीत सामानमा विदेशिरहेको स्थितिलाई मध्यनजर गर्दे सम्भव भएसम्म स्वदेशी उत्पादनमा खर्च गर्नेतर्फ ध्यान पुर्याइन आवश्यक छ। मुलुकभित्र कृषिजन्य उत्पादन एवं औद्योगिक उत्पादनलाई वृद्धि एवं विस्तार गर्न सकिएमा स्वदेशी वस्तुहरूको उपभोगमा खर्च भई अर्थतन्त्रमा गुणात्मक योगदान पुग्न सक्ने तथ्यलाई गम्भीरताका साथ लिन पनि ढिला भइसकेको छ। नेपालको सन्दर्भमा दशैँ, तिहारजस्ता ठूला चाडहरूमा हुने खर्चको आधा अंश मात्रै स्वदेशभित्र राख्न सक्ने वातावरणको सिर्जना गर्ने हो भने यसले नेपाली अर्थतन्त्रमा महसुस गर्न सकिने गरी सकारात्क प्रभाव छाड्ने निश्चित छ।

दशैँ, तिहारजस्ता परम्परागत चाडहरू हाम्रो संस्कृति र सभ्यतासँग जोडिएका रमाइला एवं राष्ट्रिय रूपमा परिचायक पर्वहरू हुन्। यस्ता पर्वहरू मनाइनु र संस्कृतिको जगेर्ना गरिनु निश्चय नै सकारात्मक कदम हो। तर, यस खालका पर्वहरू मनाइरहँदा यसभित्रका आर्थिक पक्षहरूलाई पनि मध्यनजर गरिन आवश्यक छ। संस्कृतिको जगेर्ना गर्दै दशैँ मनाउने क्रममा गरिने ठूलो खर्चका कारण अर्थतन्त्रमा देखिएका र देखिन सक्ने यावत् नकारात्मक प्रभावहरूबाट मुलुकी अर्थतन्त्रलाई मुक्त राख्दै यसका सकारात्मक पाटाहरूलाई पक्षपोषण गर्न सके दशैँलाई देशको आर्थिक हितमा समेत उपयोग गर्न सकिने अवस्था रहन्छ। विजयको चाड मानिने दशैँले अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव र धमिला परिदृश्यहरूलाई पराजित गर्दे आर्थिक विकासको खुड्किलो चढ्ने पर्वका रूपमा स्थापित हुन सकोस्, सबैलाई दशैँको शुभकामना ⁄

प्रतिक्रिया दिनुहोस्