बडादशैँको हार्दिक शुभकामना



 

राजनीतिक अस्थिरताका कारण मुलुक वर्षौंदेखि संक्रमणकालमा गुज्रियो । जसको कारण लामो समयसम्म शान्ति, सुरक्षा, सुशासन, विकास, समृद्धिजस्ता महत्वपूर्ण कुराहरू ओझेलमा परे । प्राथमिकताका साथ अघि बढ्नुपर्ने यी कुराहरू ओझेलमा पर्दा मुलुकको भविष्यसमेत अन्यौल हुँदै गएको थियो । कहिले प्रजातन्त्रको नाममा त कहिले गणतन्त्रको नाममा परिवर्तन ल्याउने भन्दै गरिएको पटक–पटकको आन्दोलनबाट प्राप्त उपलब्धि लामो समयसम्म संस्थागत हुन सकेन । पछिल्लो समय २०४६ सालपछि परिवर्तनका नाममा भएका विभिन्न आन्दोलनले मुलुक झन् अस्थिरतातर्फ धकेलियो । माओवादी सशस्त्र द्वन्द्व होस् वा २०६२⁄६३ सालको जनआन्दोलको उद्देश्य शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धि तथा जनतालाई अधिकार दिलाउनको लागि भए पनि राजनीतिक दल र ती दलका नेताहरूको दलीय स्वार्थ र व्यक्तिगत स्वार्थले प्राप्त उपलब्धि संस्थागत हुन निकै गाह्रो भयो । यसै क्रममा पहिलो संविधानसभाले संविधान बनाउन सकेन भने दोस्रो संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयन गर्न हम्यहम्य भयो ।

यद्यपि दलहरूबीचको लामो रस्साकस्सीपछि संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो स्थानीय तहको निर्वाचन सम्पन्न भैसक्यो भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदै छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि नयाँ कोर्सका साथ मुलुक अगाडि बढ्ने अपेक्षा पनि गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेका छन् । अब विश्वास गरौं, दुई महिनापछि प्रतिनिधिसभा र प्रदेशसभामा पनि जनप्रतिनिधि आउनेछन् । मुलुक संघीय प्रणालीमा गइसकेको छ । राज्यका संरचनाहरू फेरिँदै छन् । जनप्रतिनिधि, राजनीतिक दल र नेताले विगतमा के गरे, के गरेनन्, यसको समीक्षा पनि गरौं र कमी–कमजोरी सच्चाएर अघि बढौं । जनताको मतबाट चुनिएर आएका जनप्रतिनिधिहरूले पनि यस घडीमा आफ्नो भन्दा पनि जनताको स्वार्थमा ध्यान दिई मुलुकको हितका लागि असल मार्ग पहिल्याउनुपर्छ ।

हिन्दूहरूको महान् चाड दशैँ शुरू भैसकेको छ । यो दशैँले नेताहरूमा मुलुकलाई सही दिशामा अघि बढाउने सद्बुद्धि प्रदान गरोस् । आमजनतामा पनि दशैँमा देखासिकीभन्दा पनि आफ्नो स्तरअनुसार चाडबाड मान्ने प्रवृत्तिको विकास होस् । दशैँ दशा नबनोस् । सबैमा सद्बुद्धि पलाओस् । वर्षभरिको थकान, पीर–बाधालाई पर राखेर नयाँ आशा–उत्साहका साथ यो अवसरलाई सही ढंगले उपयोग गरौं । यस वर्षको विजया दशमीको अवसरमा आदरणीय पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुकप्रति कामना न्यूज पब्लिकेसन्स् परिवारका तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्