कृषि क्षेत्रमा गढेका समस्याहरू



 

संघर्ष बुढाथोकी

कुनै सन्देह छैन कि नेपाल कृषि प्रधान मुलुक हो। यस कुरामा पनि कुनै शंका छैन कि करिव ६५ प्रतिशत नेपालीको मूल पेसा पनि कृषि नै हो। तर, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ह्रास हुँदै २८.९ प्रतिशतमा संकुचित भएको छ। यहाँसम्म कि एक इकाइ मानिसलाई वार्षिकरूपमा आवश्यक पर्ने सरदर १९१ केजी अन्न उत्पादन गर्नु विद्यमान कृषि प्रणालीको काबुमा छैन। यसै पनि मुलुकका २१ जिल्ला खाद्य अभावको चपेटामा छन्। अर्थात् ४० प्रतिशत नेपालीले साँझ–बिहान भरपेट खान पाइरहेका छैनन्।

जसको कारण करिव ७५ प्रतिशत नागरिक कुनै न कुनै रूपमा कूपोषित छन्। सीधै भन्नुपर्दा आन्तरिक उत्पादनले ६ महिना पनि थेग्न नसकेको अवस्था छ। प्रस्तुत दृष्टान्तबाट मुलुकको कृषि प्रणाली पूरै परम्परागत, निर्वाहमुखी र गैरव्यावसायिक रहेको सबुत मिल्दछ। यसैको उपज हो– विगतमा कृषिजन्य वस्तु निर्यात गर्ने मुलकमा सवा खर्ब अधिकको खाद्यान्न, तरकारी, फलफूल, दुग्धपदार्थ, माछामासुलगायतका कृषि वस्तु भित्रनु। आयातको उक्त दुर्दशा नियाल्दा मुलुकको कृषि क्षेत्र समस्यैसमस्याको चाङमा पुरिएको छ भनेर बुझ्न कुनै कठिन पर्दैन।

कृषि योग्य भूमिको सीमितता, कृषि क्षेत्रको प्रथम समस्या हो। यसै पनि कृषियोग्य भूमिबिना कृषि कर्मको कल्पनासमेत गर्न सकिँदैन। वस्तुतः नेपालको भूवनोट विषम प्रकृतिको छ। कुल भूमिमध्ये कृषियोग्य जमिनको हिस्सा करिव २७ प्रतिशत मात्र छ। त्यसो त भूमि आफैंमा प्रकृतिको उपहार पनि हो। केही हदसम्म मानवीय बाहुबलमा पनि बन्जर जमिन कृषियोग्य बनाउन सकिन्छ। तर, अल्पकालमा त्यो सम्भवना नेपालमा अत्यन्त न्यून छ।

सिँचाइ सुविधाको अप्रयाप्तता, कृषि क्षेत्रको दोस्रो समस्या हो। मुलुकमा २६ लाख ४१ हजार हेक्टर (१९ प्रतिशत) कृषियोग्य भूमि छ। कृषियोग्य भूमिमध्ये १७ लाख ६० हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउन सकिने अवस्था छ। तर, अहिलेसम्म १३ लाख ६८ हेक्टर भूमिमा मात्र सिँचाइ पुर्याउने संरचना निर्माण छ। जब कि सिँचाइ संरचना निर्माण भएको हिस्साको ३८ प्रतिशत अर्थात् ५ लाख २८ हजार ९ सय ६० हेक्टर मा मात्र वर्षभर सिँचाइ उपलब्ध छ। विगतमा निर्मित सिँचाइ आयोजनाहरुको उचित मर्मम सम्भार गर्न सकिएको छैन। सिक्टा, रानीजमरा कुलरिया, जमुनिया, भेरी बबई सिँचाइ आयोजनाको पानी सिँचाइ विमुख जमिनले प्रतीक्षा गर्न थालेको धेरै भइसकेको छ।

अवैज्ञानिक भूमि वितरण प्रणाली, कृषि क्षेत्रको तेस्रो समस्या हो। यसै पनि नेपालको भूमि वितरण प्रणाली दोषपूर्ण छ। भूमिको वितरण र उपायोग न्यायोचित हुन सकेको छैन। भूमि नीति एकहदसम्म कागजी खोस्टो मात्र बनेको छ। जसका कारण वास्तविक किसान जमिनको स्वामित्वबाट टाढा छन्। करिब ७५ प्रतिशत किसानको हातमा १ हेक्टर जमिन पनि नहुनुले उक्त दोषपूर्ण भूमि वितरण पद्धतिलाई उजागर गरिरहेको छ।

आधुनिक कृषि प्रविधिको अबलम्वन गर्न नसक्नु, कृषि क्षेत्रको चौथो समस्या हो। आधुनिक कृषि प्रविधिको प्रयोगबिना कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि असम्भव कुरा हो। प्रविधिको प्रयोग लागत न्यूनीकरणको द्योतक पनि हो। लागत न्यून हुनु भनेको कृषि उपजको प्रतिस्पर्धात्मक क्षमता, कृषकको मुनाफा र वचत वृद्धि हुनु पनि हो। तर, मौजुदा कृषि प्रणालीमा ९० प्रतिशत मानवीय तथा पशुश्रमको प्रयोग भइरहेको छ। कृषि उत्पादन प्रक्रियामा टइक्टर, पावरटिलर, थ्रेसर जस्ता सामान्य कृषि उपकरणको प्रयोगसमेत नगन्य छ।

पर्याप्त लगानी गर्न नसक्नु, कृषि क्षेत्रको पाँचौं समस्या हो। सिद्धान्ततः प्रतिफल सधैं लगानीद्वारा निर्धारित हुन्छ। तर, १५ वर्ष यता राज्यले कृषि क्षेत्रमा आवश्यकताअनुरूप बजेट विनियोजन हुन सकिरहेको छैन्। ०७३⁄०७४ मा कृषि विकास मन्त्रालयका लागि २७.४३ अर्ब, भूमि सुधार मन्त्रालयका लागि ५.८१ अर्ब, सिँचाइ मन्त्रालयका लागि २४.४६ अर्ब र पशुपक्षी विकास मन्त्रालयका लागि ८.४६ अर्ब गरी कुल ६६.१६ अर्ब विनियोजन भएको थियो। जुन कुल विनियोजित १० खर्ब ४८ अर्बको ६.६१ प्रतिशत थियो। २०७४⁄०७५ मा कृषि क्षेत्रको विकासका लागि ३०.४० अर्ब, सिँचाइ कार्यक्रमका लागि २७.४१ अर्ब, भूमि सुधारको क्षेत्रमा ६.८० अर्ब गरी कुल ६४.६१ छुट्टाएको छ। जुन कुल विनियोजित १२ खर्ब ७८ अर्बको ५.०५ प्रतिशतअर्थात् अघिल्लो वर्षभन्दा न्यून हो।

वित्तीय सुविधाको अभाव हुनु कृषि क्षेत्रको छैठो समस्या हो। लगानीमा बैंक तथा वित्तीय संस्थाको भूमिका अहम् हुन्छ नै। परन्तु बैंक तथा वित्तीय संस्था कृषि क्षेत्रमा लगानी गर्न पुरै उदाशिन जस्तै छ्न। बैंक तथा वित्तीय संस्थाको लगानी कृषि क्षेत्रमा ४ प्रतिशतभन्दा न्यून हुनु, करिबन ७५ प्रतिशत किसान बैंक तथा वित्तीय सुविधावाट वञ्चित हुनुले उक्त उदासीनताको सबुत दिइरहेको छ।

कमजोर पूर्वाधार, कृषि क्षेत्रको छैठौं समस्या हो। आधारभूत पूर्वाधारबिना कृषि क्षेत्रको समष्ठिगत विकासको कल्पना गर्न सकिने कुरा होइन। रासायनिक मल, कृषि औजार, विषादि सहज आपूर्तिका लागि तत्सम्बन्धी कारखाना, उत्पादित कृषि वस्तु सञ्चयका लागि शीतघर, कृषि उपज बजारसम्म पुर्याउनका लागि कृषि सडक, कृषिसम्बन्धी ताजा सूचनाका लागि कृषि सूचना प्रणाली, कृषि क्षेत्रमा आधुनिक प्रविधि उपयोगका लागि कृषि वैज्ञानिक, सर्वसुलभ कृषि ऋणका लागि बैंक तथा वित्तीय संस्था, कृषि वस्तुको जोखिम न्यूनीकरणका निमित्त बीमा कम्पनी कृषि क्षेत्रको विकास निमित्त आवश्यक पर्ने आधारभूत पूर्वाधारहरु हुन्। तर् मुलुकमा रासायनिक मलको हाहाकार पुनरावृत्ति भइरहँदा एक थान रासायनिक मल कारखानासमेत स्थापना गर्न सकिएको छैन। सडक सुविधाको अभावमा हुम्लाको स्याउ बजारसम्म ल्याउन सकिएको छैन। कृषि वैज्ञानिकको अभावमा परम्परागत कृषि प्रणालीले डेरा जमाइरहेको छ।

शीतघरको अभावमा अधिक उत्पादन भएको बखतमा कम मूल्यमा कृषिउपज बिक्री गर्न किसान बाध्य छन्। कृषि चुन कारखाना स्थापना त परै जाओस्, विगतमा स्थापित कारखानाहरुको नामोनिसान पाउन कठिन छ।

कमजोर उत्पादकत्व वा न्यून उत्पादन वृद्धिदर, कृषि क्षेत्रको सातौं समस्या हो। यसै पनि एक दशकको समष्ठीगत औसत आर्थिक वृद्धि दर ४.१८ प्रतिशत मात्र छ। त्यसमाथि कृषि क्षेत्रको औसत आर्थिक वृद्धि दर ३.२१ प्रतिशत मात्र छ। जब कि प्र्रतिस्पर्धा गर्नुपर्ने भारतको वृद्धिदर ४⁄५ प्रतिशतभन्दा माथि छ। कृषियोग्य जमिनको परिमाण कति धेरै छ भन्नुभन्दा पनि उत्पादकत्व कति उच्च छ त्यो महत्त्वपूर्ण कुरा हो। तर, नेपालमा प्रतिहेक्टर खाद्यन्न औसत उत्पादन ३ मेट्रिकटनभन्दा कम छ। जब कि भारतमा, पाकिस्तान र चीनमा दोब्बर–तेब्बरभन्दा अधिक छ। नेपालमा औसत प्रतिहेक्टर ९७ केजी मात्र रासायनिक मल प्रयोग हुँदा बंगालादेशमा १ सय ५० केजी र चीनमा ३ सय ५० केजी प्रयोग भइरहेको छ। गुणस्तरीय बीउ प्रयोग गर्दा १५ देखि २० प्रतिशतसम्म उत्पादन वृद्धि हुने अनुसन्धानकर्ताले बताइरहँदा ग्रामीण क्षेत्रमा ९० प्रतिशत रैथाने बीउ प्रयोग भइरहेको छ।

यसो त पाँचौं योजना कालदेखि नै कषि प्राथमिकतामा परेको क्षेत्र हो। कृषि क्षेत्रको विकास र प्रवद्र्धनका खातिर कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि अनुसन्धान परिषद्लगायतका अनेकन अड्डाहरु खडा भएका छन्। कृषि विकाससम्बन्धी कार्यक्रमहरु बग्रेल्ती अगाडि सारिएका छन्। स्रोत साधनको छेलोखेलो भइरहेको छ। तर, कृषि क्षेत्रमा वर्षौंदेखि जगडिएका समस्याको दीर्घकालीन निरुपण हुन सकेको छैन। यी समस्याको दीर्घकालीन निदानबिना कृषि क्षेत्रको समष्ठीगत विकास असम्भव कुरा हो।

प्रतिक्रिया दिनुहोस्