प्रतिस्पर्धामा भोयाज अफ क्रिएसन



लैको एक दिन सन्ध्याकालीन समय छिपिँदै गएसँगै राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्ण फेसनमय बन्न पुग्यो।

होटलको पभेलियन गार्डेनमा बिछ्याइएको र्याम्प लिनेन साटन, नेट, टिस्यु, ब्रोकेड, रअ सिल्क, साटन सिल्क, लाइक्रा, फर, जापानिज सिल्क, अर्गान्जा, ग्लिटर फ्याब्रिकदेखि ढाका, बाम्बु, हेम्प, बनाना, अल्लो, जुट, कटनसम्मका फ्याब्रिकदेखि पेपर, फ्लेक्स, सिडीजस्ता सामग्रीसम्मलाई फेसन डिजाइनरहरुले आफ्नो कल्पनाशीलता र सृजनशीलतालाई अभिव्यक्त गर्ने माध्यम बनाए।

Photo : GlamourNepal.Com

मुख्य गरी १२ महिला मोडल र ६ जना पुरुष मोडललाई सहभागी फेसन डिजाइनरहरुले आफ्नो सृजनालाई रनवेमाथि प्रस्तुत गर्ने माध्यम बनाए पनि हरेक सिक्वेन्सको अन्तिम पहिरनलाई मास्टरपिस अर्थात् कलेक्सनको विशेष पहिरनमा रुपमा प्रदर्शन गरेका थिए। ३१ प्रतिस्पर्धी डिजाइनरका १६ कलेक्सनमा हरेकमा ६ पहिरन र एउटा मास्टरपिससहित ७ सृजनामार्फत सहभागी डिजाइनले फेसन प्रतिस्पर्धामा आ–आफ्नो दाबेदारी दिएका थिए।

नेपाल इन्स्टिच्युट अफ फेसन (निफ)को आयोजना र श्रेष्ठ इभेन्ट्सको व्यवस्थापन तथा सुवास श्रेष्ठको संयोजनमा भएको भोयाज अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा अन्ततः वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठको सामूहिक कार्यले सफलता हात पार्यो।

गार्बेज रिनोभेसन शीर्षकमा प्रस्तुत उनीहरुको कलेक्सन पुनः प्रयोग सन्देशमा केन्द्रित थियो, जसमा फ्लेक्स, सिडी चक्काहरु, अल्मुनियम फोयल, प्रयोग भइसकेका ब्याग, टेप तथा प्लास्टिकलाई पहिरनको स्वरुप प्रदान गरिएको थियो। प्रतियोगिताको फस्ट रनर्सअपका रूपमा प्रमिन शाक्य, दुष्यन्त रुम्दली राई र करिश्मा लामाको समूहले तयार पारेको पहिरनले सफलता प्राप्त गर्यो। उनीहरुको सृजना भने पेपिरस शीर्षकअन्तर्गत थियो। जसमा पहिरनका सबै स्वरूपहरु कागजको प्रयोगबाट तयार पारिएको थियो।

कागजको पुनः प्रयोग तथा कागजको सुन्दरता र उपयोगितालाई यो कलेक्सनले देखाएको थियो। ओम्निजम शीर्षकमा प्रस्तुत लक्ष्मी थापा मगर र अमृता थापा मगरको जोडीले प्रतिस्पर्धामा सेकेन्ड रनर्सअपको स्थान प्राप्त गर्यो। उनीहरुको सृजना सबै धर्मप्रति केन्द्रित थियो। जसमा बहुधार्मिक प्रतीकहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको थियो।

Photo : GlamourNepal.Com

सञ्चारकर्मी एवम् कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत फेसन प्रतिस्पर्धामा पूर्व मिस नेपाल सुगरिका केसी, अभिनेत्रीहरु वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, जेबिका कार्की र मोडल पूजा श्रेष्ठले जर्दोजी बुटिक अमितेष कर्ण र इन्दु आछाजुले तयार पारेको पार्टी तथा फेस्टिभ मुडमा आधारित विविध शैलीका लेहेंगाको प्रस्तुति विशेष आकर्षण रुपमा र≈यो।

 

फेसन डिजाइनरत्रय मुक्ता श्रेष्ठ, दलजित कौर सुडान र योगेन्द्र मेहर वज्राचार्यको निर्णायक टोली रहेको फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा गाउनका विविध आकर्षक शैलीहरु मुख्य पहिरनका रुपमा प्रस्तुत भए पनि वान पिस, लेहेंगा, स्कर्ट, पाइन्ट, सर्टलगायतका विविध रूप र स्वरूप पनि प्रस्तुत गरिएको थियो। फेसन डिजाइनहरुको परिकल्पनाहरु पार्टी, रोमान्स, रेड कार्पेट, प्रकृति, धर्म, संस्कृति, अग्नी, वसन्त ऋतु आदिबाट प्रेरित थिए।

प्रतिक्रिया दिनुहोस्