अस्ट्रेलियामा मासु खाने अल्सरको बिगबिगी



 

सिडनी, (एजेन्सी)
एकजना अस्ट्रेलियाली छात्रालाई लागेको संक्रमक रोग अर्थात् शरीरको मासु खाने अल्सरमाथि गम्भीर अनुसन्धानका लागि सरकारलाई आवश्यक कोष सहयोग गर्न आह्वान गरिएको छ । विशेष गरी विकासोन्मुख मुलुकहरुमा देखिने बुरुली अल्सरबाट पीडित १३ वर्षीया एल्ला क्रोफ्टसको स्वास्थमा क्रमिक सुधार भइरहेको बताइएको छ ।

उनी यस रोगबाट पीडित भएपछि भिक्टोरिया राज्यको उनी बस्ने क्षेत्रमा यसको महामारी फैलिने चेतावनी चिकित्सकहरुले दिएका छन् । स्वास्थ निकायहरुले यस वर्षको शुरुदेखि अहिलेसम्म १ सय ५९ जना व्यक्तिमा यो संक्रमण देखिएको जनाएका छन् ।

तीन वर्षअघिको तुलनामा यसपालि यस संक्रमणमा तीन गुणाले वृद्धि भएको हो । विशेषज्ञहरुले यस रोगको नियन्त्रण र ठोस उपचारका उपाय अझै थाहा पाएका छैनन् । त्याब शहर निवासी क्रोफ्टले आफूलाई अप्रिलमा यो रोग लागेको र हेर्दाहर्दै घुँडाको घाउमा प्वाल परेको बताएकी छिन् ।

अनलाइनमार्फत् उनले जानकारी गराएकी छिन् ,‘विस्तारै घुँडा पोल्न र सुन्निन थाल्यो। त्यसपछि छाला च्यातिन थाल्यो । सामान्य संक्रमणका दिइने एन्टिबायोटिक्सले पनि केही काम गरेन ।’ उनको घुँडाको अहिलेसम्ममा तीनपटक शल्यक्रिया गरिनुका साथै उनलाई निकै कडा एन्टिबायोटिक्स दिने गरिएको छ । यस रोगमा राम्ररी उपचार नगरिएको खण्डमा छालाबाट भित्र छिर्ने व्याक्टेरियाले विस्तारै मासु खाँदै जाने गर्दछ ।

सही उपचार नभएको खण्डमा रोगीको अंगभंग नै हुने संभावना पनि रहन्छ । चिकित्सकहरुले यो रोग मानिसबाट मानिसमा नभई माटो वा वातावरणबाटै सर्ने अनुमान गरेका छन् । एल्लाको अझैसम्म घाउ पूर्णरूपमा निको भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्