माओवादी शक्ति एकजुट होऔं



 

टुटफुट र विभाजन होइन, एकता र क्रान्तिको बाटो रोज्न अब माओवादीले कदम चाल्न जरुरी भएको छ। विभिन्न प्रशिक्षणमा म पनि सहभागी भएको मान्छे हुँ। हिजो तपाईंहरुको प्रशिक्षणमा बस्दा पाएको शिक्षाले अहिलेसम्म असर पारेको छ। समाजमा मौलाएको बेथिति, अत्याचार, सामाजिक भेद्भाव र हुनेखाने वर्गहरुको थिचोमिचोको अझै पनि अन्त्य भएको छैन। तपाईंहरु राजधानीमा मस्त निदाएको बेला यो देशको कुनाकन्दराका आमा, बाबा र चेलीहरु दिनहुँ सामन्तीहरुको निशानामा अन्याय सहन बाध्य छन्। यस्ता समाचारहरु तपाईंहरुले पनि सुनिराख्नु भएकै होला टेलिभिजनमा। ती दर्दनाक दृश्य देख्दै हुनुहोला। किन तपाईंहरुमा यस्तो अहमता देख्दै छौं हामी ? किन बाटो देखाएर हामीलाई बीचैमा छाड्नुभयो ? के यही हो जनवादी समाज व्यवस्था ?

हिजो १० वर्षसम्म सँगै रहेर, एउटै योजनामा, एउटै उद्देश्यमा जनयुद्ध लड्ने सिपाही र त्यही जनयुद्धको योजना बनाउने तिमी नेताहरूले अब पनि विगतको गल्तीलाई आत्मसात् गरेर पुनः एउटै बाटोमा हिँड्ने बाचा गरेनौ भने, हेर्दै जाऊ, तिमीहरु कसैको पनि यहाँ अस्तित्व रहँदैन, यो निश्चित हो। जनताले तिमीहरुलाई धिक्कार्नेछन्। तिमीहरुप्रतिको माया र विश्वास तोड्नेछन्। कमरेडहरु, यो विषयलाई गम्भीरतापूर्वक सोचौं। आदरणीय कमरेडहरु, माओवादी आन्दोलनको माग पनि एकता र संघर्ष नै हो। हिजोका महान् शहीदहरु जसले हाँसी–हाँसी यो व्यवस्थाका विरुद्ध मृत्यु स्वीकार गरे, आज तिनले देखाएको बाटोमा हिँड्न किन खुट्टा कमाउँदै छन्, हाम्रा नेतागणहरु ? के हिजोका अधुरा सपनाहरु अब खरानी नै हुने हुन् त ? किन झुट्टो आशामा बाँच्न सिकायौ तिमीहरुले शोसित, पीडित जनतालाई ? किन क्रान्तिको भाषा बोल्न सिकायौ, आवाजविहीनहरुलाई ?

हो, तिमीहरुले अब आ–आफ्नो बाटो मोडेर क्रान्तिकारी जनताको साथ छोड्यौ भने, क्रमशः एक्लिँदै जाने निश्चित छ। त्यसैले जुटौं पुनः एकताको पक्षमा। मिलौं अनि गरौँं अधुरा बाचाहरु पूरा गर्ने बाटोको त्यो महान् यात्रा। यहाँ फुटेर कमजोर भइन्छ। स्थानीय तहको निर्वाचनले पनि फुटेर हैन जुटेर अघि बढ्न माओवादीलाई प्ररणा दिएको छ। यदि नफुटेको भए अहिले पहिलो दल बन्ने निश्चित थियो। आफ्नै कारणले हार बेहोर्नुपर्दा पीडा हुन्छ। विशेष गरी पूर्वजनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रिय प्रचण्ड, दार्शनिक गुरु किरण, युवा अनि जुझारु नेता विप्लव, हिजोको क्रान्तिमा लामो समय संघर्ष गरेका डा. बाबुराम भट्टराईलगायत सबै शीर्ष नेतृत्वहरुसँग आवाजविहीन जनताका, भोका, नाङ्गा जनताको एउटै चाहना छ– के तिमीहरु मिलेर क्रान्तिको बाटोमा अझै हिँड्न सक्छौ ? हो, अहिलेको स्थानीय निर्वाचनमा हामी कोही बहिष्कारमा देखियौं, संसदीय व्यवस्थामा हिँडेर परिवर्तन खोज्नेहरु कोही त्यहीँबाट संघर्षको तयारीमा जुटे। तर न त संसदीय बाटोमा हिँड्नेहरुलाई जनताले विश्वास गरे, न बहिष्कारलाई नै समर्थन गरे।

वास्तवमा जनताले माओवादी एकताको आह्वान गरेका छन्। यो मत निर्वाचनको अवस्थालाई हेर्दा, अनि किन र केको लागि क्रान्तिमा होमिन सकेका छैनौ तिमीहरु ? आमगरिब, शोषित, पीडित, घाइते, अपांग, बेपत्ता अनि सिउँदो पुछिएका आमशहीद परिवारको माग हो, यसलाई सबैले आ–आफ्नो स्थानबाट महसुस गरेर एकताको बाटो रोजौं। सबै कमरेडहरु अब संघर्षको बाटो एउटै बनाएर हिँडौं। यदि बेलैमा बुद्धि नपुर्याए सबैको बाँकी राजनीतिक भविष्य देखिँदैन। चाहे नयाँ जनवादी क्रान्तिको बाटो होस् या एकीकृत जनक्रान्तिको बाटो, या त संसदीय व्यवस्थामा लिप्त भएर बस्ने काम कुनै पनि सफल हुनेछैन।
–पंकज श्रेष्ठ (पूर्व जनमुक्ति सेना), काठमाडौं

दशैँको भन्दा पनि चुनावको बढी चासो
हिन्दूहरुको महान् पर्व बडादशैँले सबैको घरआँगन चुमिसकेको छ। दशैँको रमझमसँगै तराईको प्रदेश नं. २ मा सोमबार स्थानीय निकायको तेस्रो चरणको चुनाव पनि सम्पन्न भएको छ। सपन्न भएको उक्त चुनावको नतिजा आउने क्रम पनि जारी छ।

यस वर्षको दशैँ–तिहार आमनेपालीले भव्यताका साथ मनाउन पाउने कुरा भने पक्का छ। जनताले लामो समयदेखि संघर्ष, बलिदान र त्याग गरेर भित्र्याएको संविधान र यसको कार्यान्वयनको महत्वपूर्ण खुड्किलो पूरा हुने सम्भावना देखिएको छ। अबको केही महिनामा जनताले नेपालको नयाँ संविधान कार्यान्यन भएको देख्न पाउनेछन्। त्यसैले स्थानीय तहको चुनाव सम्पन्न भएसँगै प्रदेशको चुनावको तयारी पनि अहिले गाउँघरमा देखिन लागिसकेको हामीले महसुस गर्न थालिसकेका छौं ।
दशैँ–तिहार मात्र नभई आमजनताले लामो समयदेखि अपेक्षा गरेर बसेको संविधान कार्यान्यन हुने दिन पनि दशैँ–तिहारभन्दा कम महत्वपूर्ण होइन भन्दा फरक नपर्ला। कस्तो उम्मेदवार, कुन पार्टीको उम्मेदवार अदि विषयहरु अहिले धेरै चर्चामा रहेका छन्। यससँगै देशको विकासको गतिलाई कसरी अगाडि बढाउने र कसरी निकास दिलाउने भन्ने विषयमा पनि उत्तिकै चर्चा चुलिएको हामीले प्रस्टै देख्न सक्छौं।

आगामी मंसिरमा सम्पन्न हुने भनिएको निर्वाचनको तयारी पनि तीव्ररुपमा शुरु हुन लागेको छ। मंसिर १० र २१ दुई चरणमा हुने भनिएको चुनावलाई लिएर नेताहरु पनि आफ्नो रणनीति तय गर्नमा व्यस्त छन् भने जनता पनि मतदान गर्न अझै आतुर देखिएका छन्। त्यति मात्र नभई विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीले विदेशबाट नै भोट हाल्ने अवसर उत्पन्न गराइदिन सरकारलाई आग्रह पनि गरेको सुन्नमा आएको छ।

यसले के देखाउँछ भने, नेपाली जनतालाई नेपालको महान् चाड दशैँको भन्दा पनि संविधान कार्यान्यन, मंसिरमा हुने चुनाव र देश विकासको धेरै चिन्ता रहेको देखिएको छ। त्यसैले सरकारले पनि जनताका इच्छालाई पूरा गर्नेछ भन्ने जनताले अपेक्षा गरेका छन्। हुन त अहिले चुनावको चर्चासँगै भित्रिन लागेको बडादशैँको पनि उत्तिकै महत्व छ। आवश्यक सामग्री किनमेल, खसी–बोकाको व्यवस्था, टिकट बुकिङजस्ता कुराका लागि मानिसको बाक्लो हुल देखिन थालेको छ। दशैँ–तिहार सकिनासाथ पुनः चुनावको माहोल बढ्नेछ। यसो हेर्दा दशैँभन्दा पनि जनतालाई चुनावको चासो बढी हुने गरेको देखिएको छ। त्यसैले आगामी चुनावहरु पनि धाँधलीरहित होस्।
– हरि अधिकारी, हेटौंडा

प्रतिक्रिया दिनुहोस्