कानुनी बाटो अपनाऊ



 

अहिले कर्मचारीमाथि विभिन्न आरोप लगाउँदै कालोमोस दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका केही कर्मचारीहरूलाई अनियमितता गरेको भनी कालोमोसो दलेपछि अहिले सरकारी कर्मचारीहरु त्रसित भएका छन् । यसरी कालोमोसो दल्नेहरुमध्ये केही पक्राउ परे पनि सहजै छुट्ने गरेको कर्मचारीहरुको गुनासो छ । विभिन्न बहाना बनाएर आउँदा सेवाग्राही हो वा कालोमोसो दल्ने समूह हो भन्ने अलमलमै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेकाले आफूहरू निरीह बन्नुपरेको कर्मचारीहरु बताउँछन् ।

यसरी कार्यालयमै गएर एक्कासी कर्मचारीलाई कालोमोसो दल्दा गल्ती नगर्ने कर्मचारीहरु पनि त्रसित बन्ने र उनीहरुको मनोबल गिरी कार्यसम्पादनमा समेत असर पर्ने देखिन्छ । त्यसैले कालोमोसो दल्ने कार्यको सट्टा कारबाहीका लागि कानुनी बाटो अपनाउनु नै उचित हुन्छ ।

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले गलत काम गर्ने कर्मचारीलाई सरकारले कानुनअनुसार कारबाही नगर्दा बाध्य भएर आफ्नो पार्टीले कालोमोसो दल्ने अभियान चलाएको बताएका छन् । तर उता कालोमोसो दलिएका रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आफूले कुनै पनि अनियमितता नगर्दा पनि कालोमोसो दलिएको बताएको समाचार प्रकाशित भएको छ । यसरी कानुनी बाटो हुँदाहुँदै कर्मचारीमाथि कालोमोसो दल्दै हिँड्दा निर्दोष कर्मचारीसमेत आफूलाई पनि मोसो दलिने हो कि भनेर त्रसित हुन पुग्छन् । यस्ता कार्यले सिंगो कर्मचारीतन्त्रमा नकारात्मक प्रभाव पार्ने हुँदा मुलुककै लागि अहित हुनसक्छ ।

हुन त अहिले संक्रमणकालको फाइदा उठाउने कर्मचारीहरु पनि नहोलान् भन्न सकिन्न । ठूला ओहदाका कर्मचारी एवं राजनीतिज्ञहरुसमेत अनियमितामा संलग्न भएको विगतले नै बताइसकेको छ । आर्थिक अनियमितता मात्र नभएर अन्य अनियमितता पनि हुने गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रिमण्डल बनाएकै हुन् । यसैले माथिबाटै अनियमितता रोकिनुपर्छ ।

कर्मचारीहरूलाई मात्रै नभई भ्रष्ट प्रवृत्तिका मन्त्री र राजनीतिक पार्टीमा आबद्ध व्यक्तिलाई समेत जनकारबाही गरिने बताइनुले समस्या झनै चर्कने देखिन्छ । त्यसैले अनियमितता गर्ने जो–कोहीलाई दोषी ठहरिएमा कानुनी कारबाही हुनै पर्छ । कर्मचारीमाथि कालोमोसो दल्नेहरुले पनि मोसो दल्न छोडेर दोषी देखिए कानुनी कारबाहीतिर लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्