ट्राफिक प्रमुखलाई प्रश्न



म आफ्नो निवास भैंसेपाटीबाट गाडीमा सधैँ बिहान करिब ९ बजेदेखि १० बजेको आसपासमा भीमसेनस्थानमा रहेको कार्यालयमा आउने गर्छु। हिजो ४ गते बुधबार पनि यसै गरी गाडीमा आएँ। सधैँभैmँ बिहान ९ः३० बजे टेकुको साझा पेट्रोल पम्पबाट कनक पेट्रोल पम्पतिर दायाँ गाडी मोड्न गाडीको साइड लाइट बालेर गाडी बीच सडकमा रोकें। तर, मलाई सडकको बीचमा उभिएका ट्राफिकले दायाँ मोडेर जान अनुमति दिएनन्। सीधै अगाडि बढ् भनेर इशारा गरे।

ट्राफिकको आदेशलाई पालना गर्दै सीधा अगाडि गाडी गुडाएँ। त्यसभन्दा अघि प्रभु बैंकअगाडिको मोडबाट पनि गाडीलाई दायाँ मोड्न नदिएपछि सीधै कालिमाटी चोकको हृद्यचन्द्र सिं प्रधानको शालिक हुँदै दायाँ मोडेर ताहाचल साइडतिर गएँ। ताहाचल जाने मोडबाट दायाँ मोडेर मलाई विष्णुमतीको पुल हुँदै भीमसेनस्थानको परोपकार स्कुल पुग्नु पर्ने थियो। तर, विष्णुमतीको पुलबाट पनि त्यहाँ उभिएका ट्राफिकले दायाँ मोड्ने अनुमति नदिएपछि म जिल्ल परें। ट्राफिकलाई मेरो समस्या बताएँ। उनले मेरो कुरा नसुनी रिसाउँदै खुरुक्क अगाडि हिँड्न आदेश दिए। मेरै कारणले ट्राफिक जाम हुने देखेपछि पुनः म त्यहाँबाट पनि विष्णुमति लिंकरोड हुँदै अगाडि बढें।

मेरा लागि आफ्नो कार्यालयमा पुग्ने अब अन्तिम उपाय भनेको त्यहाँबाट सीधै गएर डल्लु पुलबाट दायाँ मोडी ककञ्चो हुँदै फेरि भीमसेनस्थान पुग्नुको विकल्प थिएन। तर, डल्लु पुलमा आधा घण्टाभन्दा बढी जाममा फसेपछि निराश हुँदै पुनः गाडी मोडेर झोलुङ्गे पुलको साइडमा रोकें। त्यसपछि हिँडेरै कार्यालय पुग्न बाध्य भएँ। कार्यालयमा एकजना अतिथिलाई अघिल्लो दिन नै बिहान १० बजे भेट्ने समय दिइसकेको हुनाले मसँग त्यहीँ गाडी रोकेर जानेबाहेक अर्को उपाय पनि थिएन।

साँझ ४ बजे जब म आफ्नो काममा बाहिर जान गाडी भएको ठाउँमा पुगें। मेरो गाडीनजिक दुईजना ट्राफिक उभिएर बसिरहेको देखें। केही कामले गफ गर्दै बसिरहेका होलान् भनी म आफ्नै सुरले गाडीको ढोका के खोल्न लागेको थिएँ, गाडीसँगै उभिरहेका ती ट्राफिकले मेरो लाइसेन्स मागे। अचम्म हुँदै मैले बिहान आपूmले भोगेका सबै कुरा बेलिबिस्तार लगाएँ र मैले सडकको साइडमा गाडी रोकेको ठाउँमा थुप्रै गाडीहरु साइड लगाएर रोकेकैले आफूले पनि त्यही ठाउँमा गाडी रोकेर हिँडेको कुरा बताएँ। उनीहरु मेरो कुरा सुन्न तयार थिएनन्। मैले फेरि सोधें– खोई त यहाँ कतै नो पार्किङ पनि लेखिएको छैन। सधैँ यसै गरी यहाँ दिनहुँ गाडी पार्किङ गरिरहेको देखेरै आफूले पनि गाडी पार्क गरी हिँडेको कुरा बताएपछि बल्ल मलाई जान दिए।

अहिलेका ट्राफिक प्रमुख सर्वेन्द्र खनाललाई व्यक्तिगतरुपमा राम्ररी चिन्दछु। उनी एकजना इमानदार मात्र होइनन् कि जिम्मेवार अफिसर पनि हुन्। यही भएकै कारण उनलाई काठमाडौंको सबैभन्दा विकराल समस्याको रुपमा देखिएको यो चुनौतीको सामना गर्नलाई नै यहाँ सरुवा गरिएकोमा कसैको विमति छैन। तर, ट्राफिकहरुको छिन्–छिन्मा परिवर्तन हुने यस्तो व्यक्तिगत लहडका कारणले सवारीचालक अथवा सवारीधनीहरुले व्यहोर्नुपरिरहेको अनावश्यक दुःखबारे उहाँलाई जानकारी नहुन सक्छ। व्यक्तिगतरुपमा उहाँलाई यसबारे जानकारी गराउने हैसियत भए पनि सार्वजनिक समस्या भएकाले मैले यहाँ सार्वजनिकरुपमै गुनासो पोखेको हुँ। अघि–पछि सधैँ त्यही बाटोबाट गाडी मोड्ने अनुमति दिने ट्राफिकले हिजो मलाई के कारणले मोड्ने अनुमति दिएनन् र मैले अनावश्यक सास्ती व्यहोर्नुपरेको हो ?

– पुष्करलाल श्रेष्ठ
प्रधान सम्पादक, नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्