व्यवसायीको मनोमानी रोकियोस्



 

हिन्दूहरुको महान् पर्व दशैँको चहलपहल शुरू भइसकेको छ। दशैँको किनमेलका लागि सर्वसाधारणको चाप बढ्न थालेसँगै बजारमा कालोबजारी र कृत्रिम अभाव सृजना हुनसक्ने देखिन्छ। अनि सम्भावित आपराधिक घटनाको चुनौती पनि उत्तिकै छ। विभिन्न कारण र समस्या देखाउँदै मौकाको फाइदा उठाउन उद्यत् व्यापारी⁄व्यवसायीबाट सर्वसाधारण ठगिने शृङ्खला अद्यापि चलिरहेको छ। बजारमा कृत्रिम अभाव सृजना गर्ने, सामानको मूल्य अस्वाभाविक ढंगले वृद्धि गर्ने, मूल्यसूची नराख्नेजस्ता समस्या अझैसम्म छन्। कतिपय ठाउँमा व्यापारीले अनावश्यकरुपमा मूल्य वृद्धि गरेका कारण बजारमा चहलपहल बढ्न सकिरहेको पनि छैन।

यता प्रहरीले चाडबाडको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। प्रहरीले चाडबाडलाई लक्षित गरी राजमार्गमा हुने चोरी–डकैती निरुत्साहित गर्ने, बजारमा कालोबजारी र कृत्रिम अभाव सृजना हुन नदिने, कुनै पनि घटनामा तत्कालै प्रहरी परिचालन र विस्तार गर्ने, राजमार्गको यातायात नियमित सञ्चालन गर्ने सुरक्षा योजना बनाएको छ। प्रहरीले राजमार्गमा चल्ने सवारीसाधनलाई स्कर्टिङ गर्ने, बैंक तथा वित्तीय संघसंस्था, बढी आर्थिक कारोबार हुने स्थानहरुमा अनुगमन गर्ने, चोरी, लुटपाटजस्ता घटना निरुत्साहित गर्न चौबीसै घन्टा प्रहरी परिचालन गर्ने योजना बनाएको छ।

अहिले नारायणगढमा दैनिक २५ करोड रुपियाँभन्दा बढीको कारोबार हुने बताइन्छ, जसमध्ये दशैँकेन्द्रित सामानहरुको कारोबार मात्रै १५ करोडको हाराहारीमा हुने गर्दछ। मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भइरहने कारण दशैँको व्यापार यसपटक पनि प्रभावित हुने देखिएको छ। बुधबारदेखि सो सडकखण्ड नियमित सुचारु हुने भनिए पनि कतिखेर जाम हुन्छ भन्ने यकिन छैन। सर्वसाधारणले सहजरुपमा किनमेल गर्न सक्ने वातावरण सृजना गर्न चितवन प्रशासनले अनुगमन कार्यलाई पनि तीव्रता दिनुपर्छ।

दशैँ कमैका लागि रहर बने पनि धेरैका लागि कहर बन्ने गरेको छ। बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका कारण चाडबाडमा सर्वसाधारणले जोहो गर्ने उपभोग्य वस्तुको अझै पनि सहज भइसकेको छैन। यस्तो बेला व्यापारीहरुले कृत्रिम अभाव गरेर अनुचित लाभ लिने गरेका विगतका दृष्टान्त छन्। अहिले बजारमा कृत्रिम अभाव सृजना भैरहेको र मूल्य दोब्बर⁄तेब्बर वृद्धि गरिएको गुनासा सुनिँदै आएका छन्। एकातर्फ बजारमा चहलपहल नभएर व्यापारी चिन्तित भएका छन् भने अर्कातर्फ बन्द, हडतालको घाटा यही समयमा उठाउनुपर्छ भन्ने सोचका व्यापारी पनि छन्। यसको प्रत्यक्ष मारमा सर्वसाधारण परिरहेका छन्।

प्रशासनले बजार अनुगमन गर्दै आए पनि सर्वसाधारण ठगिन भने छाडेका छैनन्। दशैँको समयमा प्रशासनले बजार अनुगमनलाई तीव्रता दिँदै सर्वसाधारणलाई सहज र सुपथ मूल्यमा सामान किनमेल गर्ने वातावरण सृजना गर्नुपर्छ। विशेष गरी, तरकारी तथा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि अस्वाभाविकरुपमा आकाशिएको छ। प्रशासनले सबै क्षेत्रमा अनुगमन कार्यलाई तीव्रता दिनुपर्छ। प्रभावकारी अनुगमन गर्न सकियो भने कालाबजारियाहरु निरुत्साहित हुनुका साथै बजारमा स्वच्छ प्रतिस्पर्धा शुरू हुनेछ, जसबाट ग्राहकले सुपथ मूल्यमा सामान किनमेल गर्न सक्ने अपेक्षा लिइएको छ।

– दिलीप रेग्मी, चितवन

छाडा चौपायाले दुःख दिए

काठमाडौंको बल्खु क्षेत्र र सानेपावरिपरि छाडा चौपायाले निकै सताउँदा पनि महानगरपालिका मौन छ। सडकमा पशु चौपायाको बिगबिगी हुँदा पनि सम्बन्धित निकायको ध्यान गएको छैन। महानगरपालिकाले पशु चौपाया व्यवस्थापनका लागि केही गरेको छैन। १०० दिनमा त्यत्ति नै काम गरेर देखाउने भनेका मेयर पनि कुन दुलोमा पसेका छन्, थाहा छैन। सडकमा हुने दुर्घटना अधिकांश चौपायाका कारणले हुन गर्छ।
सरकारले ट्राफिक व्यवस्थापनका लागि हर्न निषेध गरेको छ। पैदल यात्रुलाई पनि बाटो काट्दा कडाइ गरेको छ तर दुर्घटना निम्त्याउने यस किसिमको गतिविधिमा चासो गएको छैन। छाडा पशु चौपाया व्यवस्थापनमा तत्काल ध्यान दिन जरुरी छ। त्यति मात्रै हैन, भुस्याहा कुकुरबाट पनि समस्या हुने गरेको छ। सडकमा यातायात सञ्चालकदेखि बटुवालाई समेत भुस्याहा कुकुरका डर छ। यस विषयमा महानगरपालिकासहित सम्बन्धित निकायको ध्यान जाओस्।

– शिवराज शर्मा, कलंकी, काठमाडौं

नाम मात्रको विद्यार्थी छुट

विद्यार्थीलाई ४५ प्रतिशत छुट देखाउने दाँत मात्रै भएको छ। पहाडी भेग र अन्य स्थानका गाउँ–गाउँमा यातायात व्यवसायीको मनोमानी छ। हामी विद्यार्थीले एक रुपियाँ पनि छुट पाउँदैनौं। छुट माग्दा थर्काइ खानुपर्ने अवस्था छ। अशक्त, वृद्ध, महिला कसैलाई कोटा छैन। विद्यार्थीले छुट माग्दा कतिपयले कुटाइ पनि खाएको देखिन्छ। नाममात्रको छुटमा सरकारले ध्यान पुर्याउनु जरुरी छ।

– सुरेश आचार्य, लमही, दाङ

जरिबाना मात्रै तिराउने कि उचित व्यवस्थापन गर्ने ?

काठमाडौं महानगरपालिकाले सधैँ गाडी दौडाएर नियम विपरीत पार्किङ गर्ने मोटरसाइकल र निजी गाडी बोकेको बोक्यै हुन्छ। गाडी धेरै छन्, सडक सानो छ अनि कसरी अट्ने यत्तिका धेरै सवारीसाधन ? उचित व्यवस्थापन गर्नेतिर नसोचेर जरिबाना मात्रै तिराउनु सरासर गलत छ। महानगरपालिकालाई गाडी ओसार्न भ्याइ–नभ्याइ छ भने पार्किङ गर्ने ठाउँ नपाएर जनताले हैरान बेहोर्नुपरेको छ।

उचित पार्किङ व्यवस्थापनका लागि केन्द्रीय स्तरबाटै केही गर्ने महानगरका मेयरज्यूले बताउनुभएको थियो। उहाँको कुम्भकर्णे निद्रा अझै खुलेको छैन। दिनानुदिन बढिरहेको गाडीको चापले पनि पार्किङको समस्या झन् पछि झन् चर्कने निश्चित छ। समयमै यो समस्या समाधान नगरे पछिल्ला दिनमा निकै समस्या हामी सबैले झेल्नुपर्ने देखिएको छ । सानो ठाउँ, त्यसमा पनि यति धेरै गाडीको चाप र पार्किङ व्यवस्थापन चुनौतीको विषय हो। महानगरपालिका निदाएपछि सरकारले यो विषयलाई केन्द्रीय स्तरबाटै केही गर्न जरुरी देखिएको छ।

– राजु महर्जन, काठमाडौं

प्रतिक्रिया दिनुहोस्