निङमा र दिवाना सेमिफाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय स्तरको महिला तथा पुरुष खुला बक्सिङ प्रतियोगितामा सोमबारको खेलबाट सफलता हात पार्दै निङमा बुढामगर र दिवाना शेर्माले सेमिफाइनलमा स्थान बनाएका छन्।

महिला ४८ केजी तौल समूहको क्वार्टरफाइनल खेलमा एपीएफकी निङमाले रूपन्देहीका प्रेशसा क्षत्रीलाई अंकका आधारमा हराइन्। त्यस्तै नेपाल पुलिस क्लबका दिवानाले पनि ४८ केजी तौल समूहमा नक्सालकी रोशनी राईलाई अंककै आधारमा पराजित गरेकी थिइन्। महिला ४८ केजी तौल समूहमा निङमाले दिवाना र ललिता महर्जनले जानकी थापामगरसँग खेल्नेछन्।

महिला ५१ केजी तौल समूहमा सफलता हात पार्दै आर्मीका खेलाडीद्वय सीता पाठक, गीता थापामगर, पुलिसकी निशा तामाङ र कास्कीकी सिसम थापामगर सेमिफाइनलमा प्रवेश गरेका छन्। सीताले झापाकी सुष्मा जोशीलाई, गीताले मकवानपुरकी आरती बम्जनलाई, निशाले अल्फाकी विमला थापामगरलाई तथा सिसमले सुनसरीकी दीपा लिम्बुलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए।

योग स्टार क्लबको आयोजनामा वसन्तपुर डबलीमा भएको तेस्रो दिनको खेलबाट सफलता हात पार्दै पुरुष ५२ केजी तौल समूहमा एपीएफका विक्रम परियार, सरोज बुढाथोकी र कास्कीका शेरबहादुर नेपाली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै पुरुष ५६ केजी तौल समूहमा आर्मीका विमल रोक्का, नरेश देवान, कपिलवस्तुका प्रेम राना, अल्टिमेटका अनशल शाक्य, नवलपरासीका अविन परियार र कञ्चनपुरका महेन्द्र चन्द क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
त्यसै गरी पुरुष ६० केजी तौल समूहमा आर्मीका खेलाडीद्वय एकबहादुर घले, सुरेश नेपाली, एपीएफका सुमन कार्की, कञ्चनपुरका रामबहादुर थापा, मोरङका सञ्जोग कार्की, झापाका प्रकाश लिम्बु र मेघदूतका सतेन्द्र शाक्यले क्वार्टरफाइनलमा स्थान बनाए।

पुरुष ६४ केजी तौल समूहको प्रि–क्वार्टरफाइनल खेलमा पुलिसका भूपेन्द्र थापाले आर्मीका दानबहादुर दर्लामीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे। पुरुष ६९ केजी तौल समूहको प्रि–क्वार्टरफाइनल खेलमा पाल्पाका दानबहादुर सासले योङस्टारका पीयूष माथेमालाई हराए। यसै गरी पुरुष ४९ केजी तौल समूहमा नक्सालका सुशील थापामगरले नवलपरासीका ओम परियारलाई अंकका आधारमा पराजित गरे।

प्रतिक्रिया दिनुहोस्