सेक्स डल भाडामा दिने सेवा रोकियो



 

बेइजिङ, (एजेन्सी)
मानिसहरूलाई सेक्स डल भाडामा दिँदै आएको एक चिनियाँ कम्पनीले हालसालै सो सेवा बन्द गरेको छ। केही दिन अघिदेखि मात्र राजधानी बेइजिङमा रहेको टच नामक सो कम्पनीले विभिन्न पाँच प्रकारका सेक्स डललाई दैनिक वा त्योभन्दा लामो समयका लागि भाडामा दिन थालेको थियो।

तर जनस्तरमा गुनासो र आलोचना हुन थालेपछि त्यसले आफ्नो कारोबार रोकेको छ। यस कम्पनीले चर्चित सामाजिक सञ्जाल वेइवोमार्फत् एक विज्ञप्ति प्रकाशित गर्दै जनमानसमा आफ्नो सेवाको नकारात्मक असर परेकोमा क्षमायाचना गरेको छ। तर यसले यौन विषय आफैंमा पनि अश्लील नभएको र आफूले थप मानिसको आनन्दका लागि भविष्यमा काम जारी राख्ने जनाएको छ।

टचले मात्र दुई दिन सेवा सञ्चालन गर्दा आफूप्रति धेरैले चासो राखेको र थुप्रै व्यक्तिले सेक्स डलका लागि अनुरोध पठाएको जानकारी बीबीसीलाई दिएको छ। टचका प्रवक्ताले भनेका छन्– ‘हामीले परीक्षण सेवाका लागि दशवटा डलको व्यवस्था गरेका थियौं। हामीले इमेलमार्फत् सेवा प्रारम्भ गरेका थियौं। प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएके थियो। तर चीनमा यो काम निकै कठिन हुँदो रहेछ।’

प्रहरीहरूसँग यस विषयमा निकै विवाद उत्पन्न भयो। चिनियाँ सञ्चारमाध्यमका अनुसार कम्पनीले दैनिक ४६ डलर शुल्क लिएर सेक्स डल उपलब्ध गराएको थियो।

सेक्स डलमा चिनियाँ, कोरियाली र रूसी मोडल महिलालगायत तरवार र ढाल बोकेकी चलचित्रका पात्र वन्डर वुमनको पनि प्रयोग गरिएको छ। वेइवोमार्फत् यस कम्पनीले महँगा सिलिकन डलहरूमाथि सर्वसाधारणको उपभोगको पहुँच पुर्याउने लक्ष्यसहित सेवा प्रारम्भ गरिएको जनाएको छ।

तर कम्पनीले दैनिक शुल्कको दोब्बर बराबरको रकम ग्राहकलाई डिपोजिट गराउने गरिएको छ। यस कम्पनी सेक्स टोय र सेक्स डलको बिक्री कार्य पनि गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्