सुकीलाई संयुक्त राष्ट्र संघको अन्तिम मौका



 

न्युयोर्क, (एजेन्सी)
म्यान्मारका प्रभावशाली नेतृ आंग सान सुकीलाई देश छोडेर भाग्नुपर्ने गरी हजारौं अल्पमत रोहिंग्या मुस्लिममाथि सुरक्षाकर्मीबाट भइरहेको दमन रोक्ने अन्तिम मौका बाँकी रहेको आइतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बीबीसीलाई जानकारी दिएका छन्।

उनले यदि सुकीले तत्काल केही दरिलो कदम नउठाएको खण्डमा समस्याले भयानक रुप लिने तथा यसरी अल्मत समूहमाथि आक्रामक व्यवहार जारी रहँदा ठूलो परमाणमा जातीय सफाया हुने खतरा रहेको पनि बताएका छन्।

तर म्यान्मार सरकारले भने गत महिना रोहिंग्या लडाकूहरुबाट प्रहरी तथा सैनिक चौकीमा भएका आक्रमणलाई लिएर मात्र अहिले केही सुरक्षा कारबाही अघि बढाइएको र यो सर्वसाधारणप्रति लक्षित नरहेको बताउँदै आएको छ। यसैसाता हुन लागेको संयुक्त राष्ट्र संघको वार्षिक महासभाको सन्मुख बीबीसीको हार्ड टक कार्यक्रममा बोल्ने क्रममा गुटेरेसले मंगलबार राष्ट्र संघमा सम्बोधन गर्नुपूर्व सेनाको आक्रमक रवैयालाई रोक्ने सुकीसँग अन्तिम मौका रहेको बताएका थिए।

साथै उनले छिमेकी मुलुक बंगलादेशतर्फ भागेका लाखौं रोहिंग्या मुस्लिमलाई स्वदेश फर्काउन पहल गरिनुपर्ने विचार पनि व्यक्त गरेका छन्। प्रजातन्त्रको खातिर वर्षाैं नजरबन्दी बन्न बाध्य बनाइएकी तथा शान्तिका लागि नोबेल पुरस्कार विजयी सुकी रोहिंग्या समस्याको विषयलाई लिएर अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा निकै आलोचित भइरहेकी छिन्।

सुकीले यसपालि अमेरिकाको न्युयोर्क हुने उक्त महासभामा भाग नलिने भएकी छिन्। तर सुकीले आतंककारीहरुलाई बढावा दिने उद्देश्यले झुठा खबरहरु फैलाउने गरिएकाले पनि तनाव चर्किरहेको बताएकी छिन्। यसैबीच म्यान्मारका सेना प्रमुख जनरल मिन आंग लाइंगले हिजो रोहिंग्या समस्यालाई लिएर राष्ट्रका सम्पूर्ण पक्षलाई एकजुट हुन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्