यो सुकीको अन्तिम मौका होः राष्ट्रसंघ महासचिव



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यानमारकी नेतृ आङ सान सुकीसँग सेनालाई रोक्ने अन्तिम मौका भएको बताएका छन्। अन्याथा त्यसको परिणाम भयानक दुःखान्त हुने चेतावनी पनि गुटेर्रेसले दिएका छन्।

बिबिसीको हार्डटक कार्यक्रममा अन्तर्वार्ता दिँदै महासचिव गुटेर्रेसले रोहिंग्याहरुलाई घर फर्किन दिनुपर्नेमा जोड दिए।

‘यो परिस्थितिलाई उनी अहिले नै सल्ट्याउँदिनन् भने मलाई लाग्छ, दुःखान्त भयानक बन्नेछ। त्यसपछि भविष्यमा पनि यो कुरा सल्टिने कुनै तरिका म देख्दिनँ,’ गुटेर्रेसले भनेका छन्।

गुटेर्रेसले म्यानमारमा अझै पनि सेना सरकारभन्दा शक्तिशाली रहेको देखिएको बताएका छन्।

म्यानमारको रखाइन राज्यमा भएको हिंसाका कारण ३ लाख ७० हजारभन्दा बढी रोहिंग्याले देश छोडिसकेका छन्।

रोहिंग्याहरुमाथि चर्को दमनपछि सुकीको नोबेल पुरस्कार फिर्ता लिइनुपर्ने माग समेत गरिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्