परमाणु कार्यक्रम पूरा गरी छाड्ने किमको प्रतिज्ञा



 

सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनले देशको परमाणु कार्यक्रम पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई लिएर चौतर्फी निन्दा भइरहेको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले किम जोङ उनले परमाणु कार्यक्रमको उद्देश्य अमेरिकी फौजको तुलनामा सन्तुलन बनाउनु रहेको बताएको उल्लेख गरेको छ।

किमले भने– ‘हामीलाई यी ठूला शक्तिशाली देशलाई देखाउनु छ, हाम्रो देश उसको व्यापक प्रतिबन्ध र अवरोधका बाबजुद कसरी आफ्नो परमाणु कार्यक्रम पूरा गर्छ।’

उनले भने– ‘हाम्रो उद्देश्य अमेरिकी फौजको तुलनामा आफूलाई सन्तुलन बनाउनु हो। ताकि अमेरिकी शासक सैन्य विकल्पका बारेमा सोच्ने आँट नगरून्।’

यसअघि उत्तर कोरियाको हालैको क्षेप्यास्त्र परीक्षण अत्यन्त उक्साउने खालको कारबाही भएको बताउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्ले त्यसको निन्दा गरेको छ। बिहीबार उत्तर कोरियाले जापानतर्फ अहिलेसम्मकै सबैभन्दा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

परीक्षणलाई लिएर राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आयोजना गरेको छ। बैठकले प्योङयाङले यस प्रकारको कारबाही तत्काल रोक्न भनेको छ।
क्षेप्यास्त्र परीक्षणपछि अमेरिका चीन र रूसले उक्त मामिलामा तत्काल कडा बयान जारी गरेको छ। विज्ञप्तिमा सदस्य देशलाई प्रतिबन्ध अझ कडा गर्न आह्वान गरेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका लागि अमेरिकीदूत निकी हेलीले यदि कडा आर्थिक प्रतिबन्ध प्रभावकारी नभएमा वासिंगटनसँग सैन्य कारबाहीजस्ता विकल्प रहेको बताएकी छिन्। यद्यपि संयुक्त राष्ट्रका लागि रुसी दूत भेसिली नेबेँजियाले कूटनीति नै यो संकट एक मात्र मार्ग भएको बताए।

उनले भने– ‘सबैभन्दा पहिला हामीले धम्की, परीक्षण, क्षेप्यास्त्र परीक्षण र एक अर्कालाई धम्की दिने कार्य बन्द हुनुपर्छ भन्ने बुझ्नु आवश्यक छ। हामीले उपलब्धिमूलक नतिजा दिने वार्तामा संलग्न हुनुपर्छ। मलाई लाग्छ, यो सबैले बुझेको कुरा हो, यसको अर्को कुनै उपाय छैन।’
बैठकमा शुरूमा अमेरिकासँग चीन र रूसको यस मुद्दालाई लिएर विवाद उत्पन्न भएको थियो। अमेरिकाले यी सबै घटनाको जिम्मेवारी रूस र चीन भएको आरोप लगाएको थियो। उत्तर कोरियालाई सम्झाउने सम्पूर्ण जिम्मेवारी उसको निकट सहयोगी चीनको भएको अमेरिकाले जोड दिएको थियो।

हालै मात्र सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धलाई थप कडा गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बयानमा थप प्रतिबन्धको उल्लेख गरेको छैन।

अमेरिकाको शहरमा बम खसाल्न सक्षम
ताजा क्षेप्यास्त्र परीक्षणपछि युरोपमा उत्तर कोरियाको सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि एलेज्यान्ड्रो काओ डि केनोले जस्तोसुकै हमलामा पनि उनको दश अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताए।

उनले उत्तर कोरिया अब अमेरिकाको कुनै पनि शहरलाई निसाना बनाउन सक्षम भएको चेतावनी पनि दिए। बेनोलाई किम जोङका सबैभन्दा नजिकमध्येका एक मानिन्छ। परमाणु परीक्षणको दुई हप्ता नबित्दै उत्तर कोरियाले जापानको आकासमाथि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। यसले त्यस क्षेत्रमा थप तनाव बढेको छ।

बेनोले बीबीसी रेडियो फाइवलाई भने– ‘अमेरिकाका सबै वैज्ञानिकहरूलाई थाहा भइसकेको हुनुपर्छ, हामीले जुन क्षेप्यास्त्र परीक्षण गरेको हो, उसले कम उचाइका बाबजुद लामो दूरी तय गर्न सक्छ। यसलाई हामी ४ हजार किलोमिटरसम्म पठाउन सक्छौं। अर्थात् अब हामी अमेरिकाको करिब कुनै पनि शहरसम्म पुग्न सक्छौं।’

उत्तर कोरियाले परमाणु परीक्षण पनि गरिसकेको र यसले उसको परमाणु क्षमता पनि देखाइसकेको बताउँदै विश्वलाई उत्तर कोरियाको प्रविधि र वैज्ञानिक क्षमताका बारेमा थाहा भएको उनले बताए।

उत्तर कोरियाकाको सेनाले भने– ‘क्षेप्यास्त्रले ७ सय ७० किलोमिटरको उचाइ हासिल गरेको र होकाइडोको समुद्रतर्फ करिब ३ हजार ७ सय किलोमिटर दूरी तय गरेको छ।’

बेनोले भने– ‘डोनाल्ड ट्रम्पले बुझे होला, खेल समाप्त भइसकेको छ। तर विश्वको अगाडि टेलिभिजनमा आफ्नो क्षमताको ढोग गरिरहेका छन् कि उनी अमेरिकालाई फेरि महान् बनाउन प्रयास गरिरहेका छन्। अर्को कुरा कुनै पनि गम्भीर परिस्थितिबाट बच्न र शुरूमै सहमति बनाउने विषयलाई लिएर हाम्रो पहिलेदेखि नै छलफल भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्