सारंगाको श्वास कलामा



रश्मी थापा ।

फिल्म अग्नि परीक्षाको ए संगीता बोलको गीत सुन्दा नेपाली दर्शकले अहिले पनि झट्ट सम्झने नाम हो सारंगा श्रेष्ठ। १६ वर्षको उमेरमा फिल्म मोहनीबाट नेपाली रजतपटमा प्रवेश गरेकी सारंगा छोटो समयमै निरमाया, गरीब, सुनचाँदी, मिलन, सिन्दुरपोतेजस्ता दर्जनौं फिल्मका विभिन्न भूमिकामा खेलेर नेपाली दर्शकको मनमा राज गर्न सफल भइन्।

१६ वर्षअघि अचानक अमेरिका उड्दा नेपाली रजतपटमा अब्बल डान्सरको छाप बनाएकी उनलाई नेपाली दर्शकले भने अभैm बिर्सेका छैनन्। त्यसो त सारंगाले पनि नेपाली फिल्म र कला जगत्लाई भुल्न सकेकी छैनन्। नेपाली कला र नृत्यको मायाले उनी अमेरिकामै रहँदा पनि नृत्य सिकाउनेदेखि नृत्य गर्नेसम्म गर्छिन्।

समय समयमा माइती देश नेपालमा आइरहने सारंगा अहिले पनि स्वदेश आएकी छिन्। आमाको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि आफ्नी ४ वर्षे छोरी रीतिषा श्रेष्ठ कार्कीको साथ नेपाल आएकी सारङ्गा हाल आमाको रेखदेखमै व्यस्त छिन्। ”

आमाको स्वास्थ्यकै काराण आफ्ना सहकर्मीहरुसंग भेटघाट गर्नसमेत पाएकी छैनन् उनले। ‘नेपाल आएको १ महिना हुन लाग्यो, तर आमाको स्वास्थ्यका कारण उहाँकै रेखदेखमा दिन बिताइरहेकी छु। आमालाई फोक्सोको क्यान्सर भएको रहेछ,’ –सारंगाले नेपाल समाचारपत्रलाई सुनाइन् ‘अहिले अलि बेटर फिल गर्नुभएकाले घर ल्याएका छौँ। घरमै नर्सले उहाँको हेरचाह गरिरहनुभएको छ।’

राम्रो अवसरको खोजीमा अमेरिका हानिएकी उनले अमेरिकामै विवाह पनि गरिन्। विवाहपछि उनी अमेरिकामै रमाउँदै आएकी छिन्। किनभने त्यहाँ पनि उनी नृत्यकलालाई अंगिकार गरिरहेकी छिन्। माउन्ट एभरेस्ट तेक्वान्दो नामक नामक संस्थाको सहयोगमा खोलिएको डान्स एकेडेमीमा उनी एक वर्षदेखि नृत्य सिकाइरहेकी छिन्।
‘विषेश गरी दशंै तिहारजस्ता अकेजनमा कार्यक्रम हुन्छ। त्यस्तो प्रोग्राममा इन्भल्भ भइरहेकी छु। पहिलेपहिले त धेरै प्रोगामहरुमा इन्भल्भ हुन्थें। तर अहिले आफ्नो रेगुलर क्लास र बच्चाको पनि केयर गर्नुपर्ने भएकाले भ्याउँदिन्’ –सारंगा गफिन्छिन् ‘सबैलाई थाहा छ कलाकारहरु किन अमेरिका जान्छन्? म पनि एउटा मिडल क्लासबाट आएको मनछे भएकाले राम्रो अवसरको खोजीमा अमेरिका गएकी थिएँ। उता गएपछि राम्रो अवसर पाउँदै गएँ। उता पनि जिन्दगी राम्रो चलिरहेको छ।’

आफूलाई नृत्यङ्गना र अभिनेत्रीभन्दा पनि कलाकार भन्न रुचाउने सारंगाले छोरीलाई भविष्यमा के बनाउने भन्नेबारे चाहिँ केही सोचेकी रहिनछन्। ‘मजस्तै बने त बेटर हो तर म उसलाई यहीं बन भनेर फोर्स गर्दिनँ। उनी के बन्न चाहन्छिन् उनको इच्छा हो’ –सारंगा भन्छिन्।

नेपाली फिल्मबाट टाढा रहे पनि उनलाई नेपाली फिल्ममा अभिनय गर्ने रहर भने अझै रहेछ। ‘मानिस जहाँ भए पनि आफ्नो धरातल कहाँ बिर्सन सक्छ र? म अमेरिका भए पनि नेपाली नेपाली फिल्मलाई निकै मिस गरिरहेकी हुन्छु।’ अभिनयका साथमा विषेश गरी आफ्नो फिल्म खेल्दा गरेका डान्स मिस गरिरहेकी हुन्छु। पहिलेका आफ्ना फिल्महरु सर्च गरेर हेरिरहन्छु।

अहिलेका फिल्महरु पनि हेर्छु। अहिले आफ्नै व्यवहारमा व्यस्त छु मुख्य कुरा त आमाको हेल्थ हो। मैले अहिले नै फिल्म खेल्छु भन्न सक्दिनँ तर परिआएको खण्डमा र एक्सट्रा समय भयो भने फिल्म खेल्ने इच्छा भने छ नै’, उनले भनिन्– ‘मेरो श्वास नै कलामा छ।’

दशैं तिहारलगत्तै अमेरिका फर्कने सोच बनाएकी सारंगाले पहिले र अहिलेको नेपाली फिल्ममा निकै नै परिवर्तन आएको महशुस गरेको बताइन्। ‘पहिले मैले फिल्म खेल्दाभन्दा अहिले धेरै परिवर्तन आएको छ। विषेश गरी त प्राविधिक कुरामा निकै चेन्ज छ। अहिलेको नयाँ जेनेरेसनले निकै राम्रा कलाकार जन्माएको छ’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्