उत्तर कोरियाको अर्को क्षेप्यास्त्रको कारण शक्ति राष्ट्रबीच मतभेद



सोल, (एजेन्सी)
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आणविक र क्षेप्यास्त्र परीक्षण गरेकै कारण नयाँ नाकाबन्दी लगाएको केही दिनपछि नै शुक्रबार उत्तर कोरियाले अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ। तर यस परीक्षणले केही समयअघि मात्र त्यसलाई नाकाबन्दी लगाउन एकजुट भएको विश्वका शक्ति राष्ट्रहरूमा फुट ल्याएको छ।

किनभने संयुक्त राज्य अमेरिकाले अब उत्तरको यस कार्यप्रति प्रतिक्रिया जनाउने काम त्यसको प्रमुख गठबन्धन मुलुक चीन र अर्को कम्युनिस्ट राष्ट्र रसियाको भएको जनाएको छ। तर चीनले अमेरिका आफ्नै जिम्मेवारीबाट खुम्चिरहेको तथा रसियाले अमेरिका अनावश्यक रूपमा आक्रामक भएको जनाएका छन्।

हिजो जापानको भू–भागमाथिबाट प्रहार गरिएको क्षेप्यास्त्रको मार हान्ने दूरी क्षमता अमेरिकाको गुआमसम्म पुग्न सक्ने बताइएको छ। दक्षिण कोरियाको सेनाले यो क्षेप्यास्त्र करिब ७ सय ७० किमि उचाइबाट ३ हजार ७ सय किमि दूरी तय गरेर जापानको होकाइदो नजिकको समुद्रमा खसेको बताएको छ।

सामरिक अध्ययनका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठानका अधिकारी जोसेफ डम्पसीले उत्तर कोरियाको कुनै पनि ब्यालेस्टिक क्षेप्यास्त्रले यति लामो दूरी तय गरेको यो पहिलो चोटी भएको बताएका छन्। अमेरिकाका प्रमुख गठबन्धन मुलुक दक्षिण कोरियाले उत्तर कोरियाको हिजोको कदमलाई तत्कालै प्रतिक्रिया जनाउने क्रममा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरी समुद्रमा खसालेको थियो।

अमेरिका र जापानको अनुरोधमा उत्तर कोरियाको यस कार्यबारे ब्यापक छलफल गर्न हिजो बेलका नै न्युयोर्कमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्ने कार्यक्रम रहेको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले आफ्नो राष्ट्रले कहिल्यै पनि यस्तो खतरानाक तथा निहुँ खोज्ने कार्य नसहने बताएका छन्।

यस अघि गत ३ सेप्टेम्बरमा प्योङयाङले आणविक बम परीक्षण गरेको बेला जस्तै यसपालि पनि चीन र रसियाले क्षेप्यास्त्र परीक्षणको औपचारिक रूपमै भत्सर्ना गरेका छन्। केही दिनअघि मात्र उत्तर कोरियाको तेल आयात र कपडा निर्यातमा प्रतिबन्ध लगाउन सुरक्षा परिषद्मा सर्वसम्मत निर्णय भएको थियो।

तर हिजो अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले अब वासिंटनले प्योङयाङलाई यस्ता काम गर्नबाट रोक्न मस्को र बेइजिङले कदम चाल्नुपर्ने स्पष्ट सोच निकालेको बताएका छन्। उनले उत्तर कोरियालाई तेल आपूर्ति गर्ने चीन र उत्तरका नागरिकहरूलाई रोजगार उपलब्ध गराउने रसियाले यस्ता अनावश्यक क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरियामाथि प्रत्यक्ष दबाब दिनुपर्ने विचार व्यक्त गरेका छन्।

यसै बीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यिङले यस समस्याको केन्द्रविन्दु आफ्नो देश नभएको प्रतिवाद गरेकी छिन्। उनले अप्रत्यक्ष रूपमा अमेरिका र दक्षिण कोरियालाई इंगित गर्दै यसमा प्रत्यक्ष रूपमा संलग्न अन्य पार्टीहरूले यसको जिम्मेवारी लिनुपर्ने पत्रकारहरूलाई बताएकी छिन्।

साथै हुवाले यस समस्याको समाधान नाकाबन्दी नभई औपचारिक कूटनीतिक तरिकाले शान्तिपूर्ण ढंगले गरिनुपर्ने पनि बताएकी छिन्। त्यसै गरी रुसको एउटा सरकारी रेडियो स्टेसनसँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका महिला प्रवक्ता मारिया जाखारोभाले आफूहरूले यस्ता अवैधानिक क्षेप्यास्त्र प्रक्षेपणको विरोध मात्र नगरिरहेको बरु कोरियाली प्रायद्विपमा शान्ति र स्थिरता ल्याउनसमेत चाहेको बताएकी छिन्।

दक्षिण कोरियाको सैनिक सूत्रले राजधानी प्योङयाङको सुनान जिल्लाबाट सो क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। सुनानमा प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। सोलले तत्काल हिजो सैनिक अभ्यास थालेर आफैंले पनि क्षेप्यास्त्र परीक्षण गरेपछि कोरियाली प्रायद्विपमा हातहतियार होडबाजीको सन्त्रास बढेको छ।

गत २९ अगस्टमा गरिएको परीक्षणमा जस्तै यसपालि पनि होकाइदो जापानको उत्तरी टापू माथिबाट उडेर क्षेप्यास्त्र प्रशान्त महासागरमा खसेको थियो। यस प्रक्षेपणको कारण कुनै विमान वा जहाजमा क्षति पुगेको भन्ने कुनै खबर प्राप्त भएको छैन।

तर सो क्षेत्रमा खतराको सायरन बज्नुका साथै मानिसहरूलाई सतर्क रहने टेक्सट मेसैज पठाइएको थियो। पर्यवेक्षकहरूले यो मध्यम दूरी क्षमताको क्षेप्यास्त्र भएको दाबी गरे पनि जापनी अधिकारीहरूले भने यो अन्तर महादेसिय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीवीएम ) हुन सक्ने आशंका गरेका छन्।

यसै गरी गत ३ सेप्टेम्बरमा गरिएको छैंठो आणविक परीक्षण पहिले भनिएभन्दा दोब्बर शक्तिशाली हुन सक्ने नयाँ विश्लेषण भएको छ। त्यसलाई उत्तर कोरियाले गरेको हालसम्मकै सबैभन्दा शक्तिशाली आणविक परीक्षण मानिएको थियो।

प्रतिक्रिया दिनुहोस्