थ्रीस्टारलाई १ करोड ५० लाख दिइने



 

काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन क्लब थ्रीस्टारलाई क्षतिपूर्ति दिने औपचारिक निर्णय बिहीबार गरेको छ। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय बैठकले झन्डै १० महिनापछि थ्रीस्टारलाई १ करोड ५० लाख रुपियाँको क्षतिपूर्ति दिने निर्णय गरेको हो। यसअघि एन्फाले थ्रीस्टारलाई एक करोड मात्रै दिने तरखरमा थियो।

सो निर्णय भए पनि असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्रै निर्णयको कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ। गत वर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि ललितपुरको क्लबले एन्फामाथि ६ करोड रुपियाँको क्षतिपूर्तिको माग गरेको थियो।

लिगमा चार नयाँ टोली
एन्फाले आउँदो मंसिरमा आयोजना गरिने होम एन्ड अवे ‘ए’ डिभिजन लिग प्रतियोगितामा चार नयाँ टोली समावेश गरेको छ। १६ टोली सहभागी हुने लिगमा मोरङ, रूपन्देही, झापा र सुदूरपश्चिम नयाँ टोली हुन्। अरू क्लबहरू ‘सी’, ‘बी’ गरी ‘ए’ डिभिजनमा बढुवा हुने प्रावधान भए पनि एन्फाले यी चार टोलीलाई ‘ए’ डिभिजनसरह मान्यता दिएको छ। अन्य सहभागी हुन सक्ने टोलीमा थ्रीस्टार, फ्रेन्ड्स, नेपाल आर्मी, नेपाल पुलिस, नेपाल एपीएफ, मनाङमस्र्याङ्दी, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लब रहेका छन्।

प्रतिक्रिया दिनुहोस्