रिस के हो ? यसको व्यवस्थापन कसरी गर्ने ?



मानिस असाध्यै रिसाएको बेलामा आफुलाई नियन्त्रण गर्न पनि गाह्रो हुन्छ । यही कारणले रिसको आवेगमा ठुला–ठुला नराम्रा घटना भएको पनि सुनिन्छ ।

पारिवारिक कलह, झगडादेखि लिएर हत्या नै हुने जस्ता गम्भीर समस्या यही कारणले भएको सुनिन्छ । परिवारमा झगडाको नकारात्मक असर प्रत्यक्ष रुपमा बच्चामा पर्न सक्छ ।

चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चाताप गर्नुपर्ने पनि हुन सक्छ ।

रिस के हो ?

रिस एक प्रकारको भावनात्मक संवेग हो ्र सामान्यदेखि शक्तिसाली अवस्थासम्म पुग्न पनि रिसको उर्जाले सामर्थ्य राख्छ । रिस सधै नकारत्मक मात्र हुन्छ भन्ने हुँदैन । रिसकै कारण कतिपय मानिसले आफ्नो सामर्थ्यको पहिचान गर्छ । यसले जुनसुकै प्रतिस्पर्धालाई पनि सामना गर्न सिकाउँछ ।

रिस या प्रेममा, मानिसको जीवनमा उर्जाकै प्रभाव पारेको हुन्छ । उर्जा चाहे रिसको होस् या प्रेमको, त्यसको सहि व्यवस्थापन गर्न सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ ।

रिसलाई बुझ्ने तरिका

रिसबाट बाहिर निस्कन खासै गाह्रो हुँदैन ्र यसलाई बुझन नसक्दा भने गम्भीर समस्या उत्पन्न हुन् सक्छ ्र जब रिस उठ्छ हामी के गर्न सक्छौ ?

रिसलाई दबाउन ।

रिसलाई पोख्न ।

रिसलाई होसपुर्वक हेर्न

रिसलाई दबाउनु पक्कै राम्रो होइन । यसले शारीरिक, मानसिक र भावनात्मक रुपमा असर पुर्याउछ । रिसलाई पोख्नु त झनै राम्रो होइन । यसले त झन् भौतिक रुपमा असर पुर्याउने काम गर्छ ।

जसलाई रिस पोख्छौ झन् उसैसंग सम्बन्ध बिग्रन्छ । आफुलाई हानि बनाएर भित्तामा हान्ने, काट्ने, पिट्नेजस्ता क्रियाकलापले आफ्नै शरीरलाई हानि हुन्छ । जब रिस स्खलित हुन्छ, तब फेरी पश्चातापभन्दा अरु केही हात लाग्दैन। त्यसैले रिसलाई न त दबाउनु राम्रो हो न त अरुसामु पोख्नु नै ।

सबैभन्दा उत्तम उपाय भनेको रिसलाई होसपुर्वक हेर्ने हो । रिस उठ्न लागेको थाहा पाउनासाथ पुरा होसमा बस्ने । म के गर्दै छु, के बोल्दै छु भन्ने बोध गर्ने । जब रिसलाई निष्काम भावले केही समय हेर्छौ, तब यो आफै केही हद सम्म कम हुन सक्छ ।

यसो गर्दा उक्त रिसको उर्जा रुपान्तरण भएर प्रेम करुणा, क्षमामा परिवर्तन हुन्छ । कारण जस्तोसुकै होस् त्यसले व्यक्तिमा कुनै बदलाब ल्याउदैन । यसका लागि नियमित ध्यानको अभ्यास गर्नु अत्यन्त राम्रो हुन्छ ।

रिसले निम्त्याउने रोग

रिसले मानसिक, भावनात्मक समस्या मात्र नभई शारीरिक समस्या पनि निम्त्याउने गर्छ ।

टाउको दुख्ने, रक्तचाप , मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्या पनि रिसको कारण उत्पन्न हुन सक्छ ।

रिसको व्यवस्थापन

रिसको व्यवस्थापन गर्न रिस उठेको बेला मलाई रिस उठेको छ भन्ने थाहा पाउनु जरुरी छ । वास्तवमा मान्छेले चरम रिसको अवस्थामा होससमेत गुमाएको हुन्छ ।

जसले गर्दा नराम्रो घटना भएको पनि पत्तो पाउँदैनन् । होसमा मान्छेले नराम्रो कार्य गर्न सक्दैन । जब रिस उठ्छ, सो समयमा चार –पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानि गर्नुपर्छ । यस्तो बानीको विकास गर्नाले रिस कम हुन्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ ।

साथै, सो परिवेशबाट उम्कने कोसिस गर्नुपर्छ । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा अभ्यस्त बनाउनुपर्छ  साथै, मनोप्रामर्शदाता सँग परामर्श गर्नु पनि राम्रो हुन्छ ।
आदर्श प्रधान
मनोपरामर्शदाता

प्रतिक्रिया दिनुहोस्