होटेलको फ्रिजरमा किशोरीको लाश



 

रोजमन्ट, (एजेन्सी)
अमेरिकाको सिकागो निवासी १९ वर्षीया किशोरी केन्नेका जेन्किन्सको शव एउटा होटेलको फ्रिजरमा भेटिएको छ। उनका परिवारले उनको मृत्यु सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन प्रहरीमाथि दबाब दिइरहेको छ।

सिकागोदेखि करिब ३० मिनेट उत्तर पश्चिममा पर्ने इलिनोइसको रोजमन्टस्थित क्राउन प्लाजा होटेलको एउटा फ्रिजरमा उनको लाश फेला परेको थियो। उनकी आमा टेरेसा मार्टिनले उनलाई आफूले शुक्रबार बिहान साढे एघार बजे आफ्ना साथीहरूसँग सिकागोको वेस्ट साइडस्थित आफ्नो घरबाट निस्किँदा अन्तिमपटक देखेको बताएकी छिन्।

जेन्किन्सले नर्सिङ होममा नयाँ काम पाएकाले तिनीहरू पार्टी मनाउन जाँदै थिए। मार्टिनका अनुसार उनकी छोरीको शव सो होटेलको भूमिगत तल्लामा रहेको एक विशाल फ्रिजरभित्र भेटिएको हो।

सर्भिलेन्स भिडियोको आधारमा प्रहरीले नशाले मात्तिएकी उनी आफै फ्रिजरभित्र पस्दा सो दुर्घटना हुन गएको बताएको छ। तर मार्टिन भन्छिन्– ‘यदि मेरी छोरी मदिरा पिएर आफैलाई सम्हाल्न सक्ने स्थितिमा थिइनन् भने उनले कसरी बल लगाएर फ्रिजरका ढोकाहरू खोलिन् होला?’
प्रहरीले यस सम्बन्धमा गम्भीर अनुसन्धान गर्ने क्रममा सम्बन्धित सबै पक्षसँग व्यापक सोधपुछ गरिरहेको बताइएको छ। तर मार्टिनले बिहान साढे चार बजेतिर फोन गरेर जेन्किन्सका साथीहरूले उनी हराएको खबर गरेको र तिनीहरूसँगै छोरीको फोन र कारको साँचो रहेको तथा तिनीहरूले बारम्बार बयान फेरिरहेकाले सो घटना हत्या पनि हुन सक्ने आशंका व्यक्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्