अमेरिकालाई ‘भयानक पीडा’ दिने उत्तर कोरियाको चेतावनी



 

सोल, (एजेन्सी)
संयुक्त राष्ट्र संघको नयाँ आर्थिक प्रतिबन्धलाई लिएर उत्तर कोरियाले अमेरिकालाई ‘भयानक पीडा’ दिने चेतावनी दिएको छ। राष्ट्र संघमा उत्तर कोरियाका दूतले अमेरिकामाथि राजनीतिक, आर्थिक र सैन्य संघर्षको विकल्प चयन गरेको आरोप लगाएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको संकट समाधानमा जे गर्न सकिन्थ्यो, त्यसको तुलनामा यो प्रतिबन्ध केही नभएको बताएका छन्। राष्ट्र संघको नयाँ प्रतिबन्धको उद्देश्य उत्तर कोरियाका लागि तेल निर्यात रोक्नु र उसको हतियार कार्यक्रमका लािग आम्दानी समाप्त गर्नु रहेको जनाइएको छ।
यसै महिना उत्तर कोरियाले आफ्नो छैठौं र अहिलेसम्मको सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेको थियो। यो प्रतिबन्ध सोही परीक्षणको जवाफमा लगाइएको हो।

उत्तर कोरियाको राष्ट्र संघस्थित दूत हान ताए सोंगले यसलाई अवैध भएको बताए। जेनभामा संयुक्त राष्ट्रको एक सम्मेलनमा उनले भने– ‘उत्तर कोरियाले जुन कदम उठाउँदै छ त्यसले अमेरिकालाई भयानक पीडा हुनेछ, जुन उसले पहिला कहिल्यै महसुस गरेको छैन।’

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सर्वसम्मतिबाट उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध पारित गरेको हो। उत्तर कोरियाका सहयोगी देश रुस र चीनले भनेपछि अमेरिकाका तर्फबाट प्रस्तावित उक्त प्रस्तावमा अत्यन्त कडा प्रतिबन्धलाई केही खुकुलो पारिएको थियो।

शुरूमा उत्तर कोरियामाथि तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने मस्यौदा तयार गरिएको थियो। यसले उत्तर कोरियाली सरकार अस्थिर हुन सक्ने विशेषज्ञहरूले बताएका थिए।

सन् २००६ देखि यता राष्ट्र संघीय सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नौवटा प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरिसकको छ। हालैका महिनामा उत्तर कोरियाले कयौं क्षेप्यास्त्र परीक्षण गरेको छ। अहिले ऊसँग अमेरिकालाई निसाना बनाउन सक्ने हतियार रहेको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्