संख्या घटाउन कंगारुको मासु खान सल्लाह



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाका जग्गा मालिक र पर्यावरणविद्हरुले जंगली कंगारुको संख्या नियन्त्रण गर्नका लागि नागरिकलाई उसको मासु धेरै खान सल्लाह दिएका छन्।

सरकारी आँकडाअनुसार सन् २०१६ मा देशमा करिब ४ करोड ५० लाख कंगारु रहेको र त्यो संख्या भनेको त्यहाँको जनसंख्याको दुई गुणा हुन्छ।

सन् २०१० मा देशमा कंगारुको संख्या करिब २ करोड ७० लाख थियो। तीव्रताले संख्यामा वृद्धि हुनुको कारण वर्षाले पर्याप्त मात्रामा भोजन उपलब्ध हुनु हो। तर विशेषज्ञहरुले यदि गर्मीमा सुखाग्रस्त प्रकोप आएमा दशौं लाख कंगारु भोकले मर्न सक्ने डर रहेको बताएका छन्।

अस्ट्रेलियामा कंगारु मार्नुलाई लिएर कडा कानुन छ। हरेक प्रान्तमा मार्न सकिने कंगारुको संख्या निर्धारित छ। स्थानीय सन्चार माध्यमको प्रतिवेदनअनुसार कंगारु मार्नका लागि जारी लाइसेन्सको माग बजारमा मासुको माग कम हुनुको कारण कम भएको हो। प्रत्येक वर्ष कंगारु मारिन्छ र कंगारु मार्नुले पर्यावरणमा कुनै असर पर्छ वा पर्दैन भन्ने विवाद पनि उत्पन्न हुने गरेको छ।

अस्ट्रेलियाले ठूलो परिमाणमा मारिएका कंगारुको छाला पनि निर्यात गर्दै आइरहेको छ। तर ती कंगारुका मासुको माग अत्यन्त कम भएकाले उनीरुको मासु खेर जाने गरेको छ।

कंगारु अस्ट्रेलियाको राष्ट्रिय पशु हो त्यसैले यसको मासु खाने विषयमा नागरिकहरु आशंकित रहने गर्छन्। मासु खाने समर्थकहरु कंगारुको मासुमा बोसोको मात्र कम हुने र यसले अन्य जनावरको तुलनामा मिथेन ग्याँस पनि कम उत्सर्जित गर्ने र त्यसलाई पाल्नुले पर्यावरणका लागि धेरै लाभदायक हुने बताउँछन्।

एडिलेड युनिभर्सिटीका प्रोफेसर डेविड पेटनले एबीसीलाई भने– ‘मानिसहरुले पर्यावरणको रक्षा गर्न र मृत पशुलाई कुहिनबाट बचाउनका लागि कंगारु मार्नुपर्ने मुद्दालाई समर्थन गर्न आवश्यक छ।’

उनले भने– ‘धेरै संख्यामा उपलब्ध हुनु कंगारुको गल्ती होइन, यसको कारण सायद हामी उनीहरुलाई मार्न अनिच्छुक हुनु हो। यदि उनीहरुलाई छिट्टै नहटाउने हो भने यो नोक्सानदायी हुन सक्छ।’

ती जनावरलाई मार्ने हो भने त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि सोच्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्