गणेशले मासु खाँदै गरेको विज्ञापनको विरोध



 

नयाँ दिल्ली, (एजेन्सी)
भारतले सोमबार हिन्दु भगवान् गणेशले मासु खाँदै गरेको विज्ञापन बनाएको भन्दै अस्ट्रेलियासमक्ष कूटनीतिक विरोध जाहेर गरेको छ। एउटा मासु उत्पादक कम्पनीले बनाएको सो टेलिभिजन विज्ञापनमा थुपै्र धार्मिक व्यक्तित्वलाई एउटै टेबुलमा बसी खाना खाएको देखाइएको छ।

अहिलेसम्म गणेशले कहिल्यै पनि मासु खाएको नदेखेको भन्दै अस्ट्रेलियास्थित हिन्दु समुदाय यस विज्ञापनप्रति आक्रोशित भएका छन्। क्यानवेरास्थित भारतको उच्च आयोगले तीनवटा अस्ट्रेलियाली सरकारी विभागसमक्ष विरोध–पत्र पेस गरिसकेको जनाएको छ।

यस आयोगले अधिकांश व्यक्तिको धार्मिक आस्थामा आँच आउने बताउँदै मिट एन्ड लाइभस्टक अस्ट्रेलिया (एमएलए) लाई पनि उक्त विज्ञापनमाथि रोक लगाउन अनुरोध गरिसकेको छ। उच्च आयोगले जारी गरेको एक विज्ञप्तिमा थुप्रै धार्मिक तथा सामुदायिक संघसंस्थाले पनि अस्ट्रेलियाली सरकार र एमएलए समक्ष विरोध पत्र पेस गरिसकेको उल्लेख गरिएको छ।

उक्त विज्ञापनमा जिसस क्राइस्ट, बुद्ध र साइन्टोलोजीका संस्थापक एल रोन ह्युवर्डलगायतका धार्मिक व्यक्तित्वहरू टेबुलमा बसेर कुरा गर्दै खाना खाइरहेको देखाइएको छ। त्यस विज्ञापनले पैगम्वर मोहमदले यस्तो काम गर्न सक्दैन भन्ने संक्षिप्त संकेत दिन खोजिएको छ।

अस्ट्रेलियाको विज्ञापन मापदण्ड आयोगले यसविरुद्ध ३० वटाभन्दा बढी उजुरी परेको जानकारी दिएको छ। अस्ट्रेलियको हिन्दु परिषद्ले यसरी गणेशको तस्वीर प्रयोग गरी मासुको उपभोग प्रवद्र्धन गर्न खोज्नु असभ्य तरिका भएको जनाएको छ। साथै यसलाई प्रतिबन्ध लगाउन अनलाइनमार्फत् चालिएको अभियानमा ४ हजार ४ सय जनाभन्दा बढीको हस्ताक्षर भइसकेको जनाइएको छ।
अस्ट्रेलियाली कपिल सचदेवले सामाजिक सञ्जालमा यस विषयलाई लिएर व्यापक आक्रोश पोखिन थालेपछि आफूले पनि सम्बन्धित क्षेत्रमा यसविरुद्ध अनुरोध गरेको बीबीसीलाई बताएका छन्।

उनले गणेशको जन्मदिन अर्थात् हिन्दुहरूको महान् चाड गणेश चौंथीको केही दिनपछि नै यस्तो विज्ञापन प्रसारण गरिएकोप्रति आक्रोश व्यक्त गरेका छन्। तर एमएलएले गत साता यस विज्ञापनलाई लिएर सफाइ दिने क्रममा आफूले विविधता र एकताको प्रवद्र्धन गर्न खोजेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्