अझै कति चाहिएको हो मन्त्री ?



 

देउवा सरकारले फेरि तीन मन्त्री थपेर आफ्नै कीर्तिमान तोडेका छन्। सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरे। राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहोरा, वनमन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सफथ खुवाइन्। देउवाले आफ्नो जम्बो मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेपछि नेपालको मन्त्रिमण्डलमा नयाँ कीर्तिमान कायम भएको हो।

त्यति मात्रै हैन, ठेकेदार र आयल निगमको जग्गामा घोटाला गर्नेसम्मलाई मन्त्री बनाइएको छ। सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ। अझै कति चाहिएको हो मन्त्री ? नेपाली जनताले आश गर्ने ठाउँ अब कसरी बाँकी रहला र ? यिनको घैंटामा घाम कहिले लाग्ने ?
– रामप्रसाद ढुंगाना, रामेछाप

मासुका लागि पनि कहिलेसम्म परनिर्भर हुने हो ?
नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको खबर सुन्दा साह्रै नमजा लाग्छ। दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्राका लागि नेपाली सधैँ भारतकै भर पर्नुपर्ने अवस्था कहिलेसम्म चल्ने हो ? दशैंमा खपत हुने मासुका लागि ८० प्रतिशतभन्दा बढी चौपाया छिमेकी मुलुक भारतबाट आयात हुने गरेको तथ्याङ्क अघिल्ला वर्षहरूमा आउँथ्यो। अहिले पनि त्यो आयातको अनुपात नघट्ने खबर छ। मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको अवस्था छ।

यसपटक दशैंमा झन्डै ४५ हजारको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा भारतबाट आयात गर्ने तयारी छ। गतवर्ष पनि सोही संख्यामा त्यस्ता चौपाया आयात भएको खबर समाचारमा आएको थियो। त्यस्तै, दशैंमा अधिक खपत हुने राँगा–भैंसी भने कति आयात हुन्छ, त्यसको टुंगो छैन। नेपालमा बेरोजगारी बढेको बढ्यै अवस्थामा छ तर राज्यले यस्ता कुराहरूमा सधैँ भारतकै मुख ताक्नुपर्छ। यो विडम्बना हो। खसीबोका र भेडाच्याङ्ग्रा आयातका लागि अष्टमी⁄नवमीअघिको एक सातामा मात्र झन्डै ७० करोड रुपियाँ बाहिरिने अवस्था रहेको छ।

घटस्थापनापछि चौपायाको आयात ह्वात्तै बढ्छ। मासुको अत्यधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुन्छ। यसका लागि नेपालीले नै यहीँ उत्पादन गरेमा यसको फाइदा नेपालीले नै लिने थिए। रोजगारी हुन्थ्यो र अरुको मुख ताक्नु पर्दैनथ्यो। नेपालमा मासुकै लागि वार्षिकरूपमा १० अर्ब रुपियाँको हाराहारीमा रकम बाहिरिने अवस्था छ। नेपालमा वार्षिक २८ अर्ब रुपियाँको मासु खपत हुने अवस्था छ।

यहाँ मासुको एकिन मूल्य निर्धारण नहुँदा मनपरि पनि छ। दशैंमा खपत हुने चौपाया खरिद–बिक्री भने व्यवसायीले आफूखुसी गर्दै आएका छन्। यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन। सरकार र व्यवसायी कसैले पनि हालसम्म मूल्य निर्धारणका लागि हालसम्म मापदण्ड बनाएका छैनन्। मूल्य निर्धारणको मापदण्ड नहुँदा उपभोक्ता मासुमा ठगिँदै आएका छन्। व्यवसायीले दशैंमा मनोमानी गर्ने हुँदा अस्वस्थ प्रतिस्पर्धाका कारण उपभोक्तालाई मार पर्न नदिन सरकारले पनि खसीबोका र भेडाच्याङ्ग्राको कारोबार आफैं गर्ने गरेको छ। यसपटक खाद्य संस्थानले विभिन्न जिल्लाबाट २ हजार ५ सय खसीबोका र भेडाच्याङ्ग्र्रा उपत्यका ल्याउने तयारी गरेको समाचार पनि आएको थियो। यसरी सरकारले नै किनेर बेचेमा मनोमानी हुने थिएन। यदि त्यो सम्भव नभए मूल्य निर्धारण गर्नु जरुरी छ।
– सावित्रा घिमिरे, सल्यान

सवारी दुर्घटनाका कारणहरू
नेपालमा हुने दुर्घटना प्रायः ट्राफिक नियमको पालना नगर्दा हुने गरेको छ। यहाँ दैनिकजसो दुर्घटनाका खबरहरू आइरहेका हुन्छन्। दुर्घटना आफैँमा हृदयविदारक हुन्छन्। धेरै नेपालीले दुर्घटनामा परी अकालमा प्राण आहूति गर्न बाध्य छन्। कतै चालकको लापरबाही त कतै साँघुरा सडक, दुर्घटनाको कारण जेसुकै भए पनि धेरैजसो लापरबाहीले हुने प्रस्ट छ। आफन्त, नातागोता, इष्टमित्र, छोराछोरी, श्रीमान्⁄श्रीमती गुमाएकाहरूको पीडा जीवनभरि नै उनीहरूको मनमा परिरहेको हुन्छ। जसको काँधमा वृद्ध आमा, बुबा, श्रीमती र छोराछोरीको भविष्यको जिम्मेवारी हुन सक्छ। ऊ त मरेर गयो, उसको परिवार पनि मरेतुल्य नै हुन्छ।

जुन परिवारमा यी घटनाहरू घटेका छन्, उनीहरूको भयावह अवस्था हुन्छ। एक त उनीहरू पीडामा हुन्छन्, त्यसमाथि थप पीडा दिने काम गर्छ घूसखोरी प्रशासनतन्त्र, पुलिस, कानुन अनि सरकारले। नेपालमा हुने अधिकांश सडक दुर्घटनामा कम उमेरमा सवारीचालक, अनुमतिपत्र पाएका ट्यापे–झ्यापे, अत्यधिक मादक पदार्थ र लागूऔषध सेवन गरेर अनियन्त्रित ढंगले सवारी चलाउने युवा चालकहरूले गर्दा नै दुर्घटना दिनानुदिन बढ्दो क्रममा छ।

यहाँ सेटिङमा काम हुने भएकोले पनि चालकको लापरबाही बढी देखिन्छ। भर्खरै मात्र मात्रै काठमाडौंमा एउटा ट्रकले ठक्कर दिएको घाइतेलाई आफैं ब्याक गरेर मारेको मैले देखें। उपचार गर्न भन्दा मारेर उम्कन खोज्ने मानवता नभएका ड्राइभरका कारण नै धेरै दुर्घटना हुन्छ। नेपालमा सवारी दुर्घटना बढ्नुको कारणमा धुवाँ फ्याँक्ने थोत्रा सवारीसाधन, दशकौँदेखि स्तरोन्नति हुन नसकेका मिनी तालयुक्त खाल्डाखुल्डी भएका सडक, सडकछेउमा बनाएका अव्यवस्थित भौतिक संरचना आदि पनि हुन्। सडक चौडा एवम् गतिमापन मेसिन लगाएर दुर्घटना न्यूनीकरणतर्फ लागियोस्। ट्राफिक प्रहरी पनि यस विषयमा
गम्भीर बनोस्।
– रोशनी मल्ल, काभ्रेपलाञ्चोक, हालः काठमाडौं

प्रतिक्रिया दिनुहोस्