विपद व्यवस्थापन विधेयकले सार्थकता पाओस्



 

नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वमा नै ६ औं स्थान र प्राकृतिक जोखिमको हिसाबले ११ औं स्थानमा रहेको छ । यसैले पनि होला, नेपालले पटक–पटक प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । विभिन्न समयमा भोग्नुपरेका प्राकृतिक प्रकोपका कारण नेपालले ठूलो मात्रामा जन–धनको क्षति पनि बेहोर्नुपरेको छ । प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि नेपालले चालेका कदमहरू अहिलेसम्म प्रभावकारी हुन सकेका छैनन् । विपत्ति न्यूनीकरणका लागि सुरक्षा निकायलाई सरकारले बेला–बेलामा तयारी अवस्थामा रहन निर्देशन दिने गरेको छ तर भौगोलिक बनावटका कारण ती निकाय समयमा नै प्रभावित स्थानमा पुग्न नसक्दा बढी मात्रामा मानवीय क्षति हुने गरेको छ । त्यसैले सरकारले जनस्तरमा नै विपद व्यवस्थापन गर्ने उद्देश्यले अब पाठ्यपुस्तकमा नै यसको व्यवस्था गर्न लागेको छ ।

विद्यालयस्तरमा नै विपद व्यवस्थापनको विषयमा पढाइ गर्न सके नागरिक आफैं सचेत हुने र उद्धार तथा राहत वितरणमा समेत सरकारको मुख ताक्नुपर्ने बाध्यता अन्त्य गर्न सहयोगी हुने सरकारको भनाइ छ । यसै उद्देश्यले सरकारले विपद व्यवस्थापनसम्बन्धी विषय पाठ्यपुस्तकमा समावेश गर्न लागेको हो । यसरी विद्यालयस्तरमै हुने विपद व्यवस्थापनसम्बन्धीको पढाइले स्थानीयवासीमा चेतना जगाउनेछ । प्राकृतिक विपत्ति आइपर्दा उनीहरू आफैं सजग हुनेछन् । यसले केही हदसम्म जन–धनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्नेछ । त्यसैले सरकारले पाठ्यपुस्तकमा नै यसको व्यवस्था गर्न लागेको हो । सरकारले गर्न लागेको यो कार्यको सराहना गर्नै पर्छ ।

संसद्मा पेस गर्न तयार पारिएको विधेयकमा प्राकृतिक र गैरप्राकृतिक विपत्ति किटान गरिएको छ । यसले गर्दा जनतामा चेतनाको स्तर बढ्नुका साथै विपत्तिमा परेकाहरूको उद्धार गर्न सहयोगी हुनेमा दुईमत छैन । सरकारले उक्त विधेयकमार्फत विपदपछिको खोज तथा उद्धार समूह गठन गर्ने उद्देश्यसमेत राखेको छ । राष्ट्रिय पूर्वचेतावनी प्रणालीको विकास गर्ने उल्लेख गर्दै विपदका घटना हुनासाथ खोज तथा उद्धार अनि राहतका कार्यहरू तत्काल गर्न संस्थागत संयन्त्र स्वतः परिचालित हुने अपेक्षा सरकारले विधेयकमार्फत गरेको छ । यो विधेयक संसद्बाट पारित गराउनु राम्रो पक्ष हो । तर सबैभन्दा महत्वपूर्ण पाटो भनेको यसको कार्यान्वयन पक्ष हो । सरकारले विधेयक ल्याएर मात्रै हुँदैन, यसको कार्यान्वयन पक्ष सबल हुनै पर्छ । त्यसपछि मात्रै सरकारले परिकल्पना गरेको विपद व्यवस्थापन विधेयकले सार्थकता पाउँछ ।

प्रतिक्रिया दिनुहोस्