मुसाले किशोरीलाई सयौं पटक टोक्यो



 

पेरिस, (एजेन्सी)
उत्तरी फ्रान्समा शरीरभरि मुसाको टोकाइका कारण एक शारीरिकरूपमा अशक्त किशोरी गम्भीर घाइते हुनपुगेकी प्रहरीले जनाएको छ। रोवाइक्सस्थित भाडामा लिइएको भुइँतलाको कोठामा सुतिरहेका बेला पाराप्लेजिक रोगबाट ग्रस्त सामन्था नामकी ती १४ वर्षीया किशोरीलाई मुसाले आक्रमण गरेका थिए।

उपचारमा संलग्न एक चिकित्सकलाई उद्धिृत गर्दै फ्रान्स इन्फोले उनको अनुहारमा ४५, हातमा १ सय ५० र खुट्टामा ३० वटा घाउ भएको जनाएको छ। ती किशोरीका पिताले घरबेटीसँग यस घटनाका लागि क्षतिपूर्तिको माग गरेका छन्।

स्थलगत अनुसन्धानबाट घटनास्थलनजिक फोहोरका बाकसहरू छरपस्टरूपमा भेटिएको छ। अर्को दुई सन्तान पनि रहेका ती पिताले गत शनिबार छोरीलाई पलंगमा रगताम्य अवस्थामा फेला पारेको बताएका छन्। रातिसम्म सबैकुरा ठीकठाक रहेको र आफु माथिल्लो तलामा सुतेको उनले बताएका छन्।

उनले स्थानीय अखबार कोरियरर पिकार्डलाई बताएका छन्– ‘सामन्थाका दुवै कानबाट रगत बग्दै गरेको देख्दा उनलाई मस्तिश्कश्राव भएको होला भन्ठानेर तर्सिए। मुसाले उनको हातका औंलाका टुप्पो पनि खाइदिएको छ। त्यसको उपचारै हुन सक्दैन, रे।’

अस्पतालमा तत्काल गरिएको परीक्षणबाट उनलाई रेबिज भने नलागेको पत्ता लागेको छ। प्रहरीले यस घटनामाथि गम्भीर अनुसन्धान गरिरहेको छ भने सामन्थाको परिवार अर्को घरमा सरेको छ। निकै भोकाएको बेला कहिलेकाहीं लास खानसमेत पछि नपर्ने मुसाले यसरी जीवित मानिसमाथि विरलै आक्रमण गर्ने विशेषज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्