चिनियाँ अर्बपतिले अमेरिकामा राजनीतिक शरण लिने



 

न्युयोर्क, (एजेन्सी)
चीनका उच्च पदस्थ अधिकारीहरूलाई भ्रष्टाचारीको अभियोग लगाउने अमेरिकाको न्युयोर्कस्थित एकजना प्रपर्टी टाइकुनले अमेरिकामा राजनीतिक शरण लिन आवेदन दिएको शुक्रबार उनका वकिलले जानकारी दिएका छन्।

चिनियाँ नागरिक गुवो वेन्गुइ उर्फ माइलेस क्वोकले आफूलाई चीन सरकारले राजनीतिक विपक्षीका रूपमा लिएको महशुस गरेको वकिल थोमस र्यागल्यान्डले बीबीसीलाई बताएका छन्। बेइजिंगले गुओलाई पक्राउ गर्ने कोसिस गरिरहेको छ। तर उनी विरुद्धको अभियोग भने स्पष्ट भएको छैन।

चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले ५० अर्बपति गुवोले एकजना उपमन्त्रीलाई घुस ख्वाउन खोजेको अभियोग लगाएको छ। तर उनले भने यस अभियोगलाई ठाडै अस्विकार गरेका छन्। र्यागल्यान्डले गुवाले आफूले बोल्ने गरेको कुराको कारणले चीन सरकारले आफूसंग बदला लिनसक्ने तथ्यबाट भयभित रहेको बताएका छन्।

सन् २०१४ मा चीन छोडेका उनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ सदस्यहरूलाई भ्रष्टाचारको अभियोग लगाउनका लागि शृंखलाबद्ध ट्विट गर्नुका साथै यु ट्युब भिडियोहरू बनाएका छन्। उनले बेइजिङको भ्रष्टाचार विरुद्धको अभियानका जार मानिने वांग क्विासानलाई पनि भ्रष्टाचारको आरोप लगाएका छन्।

गुओलाई प्रत्येक ५ वर्षको एकपटक बस्ने कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठकको सम्मुख चीनको संवेदनशील गोप्य सरकारी दस्तावजेहरू पनि सार्वजनिक गरेको अभियोग लगाइएको छ। आगामी १८ अक्टोबरमा यो बैठक शुरू हुन गइरहेको छ। चीन सरकारले गत अप्रिलमा इन्टरपोलमार्फत् गुवोको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको थियो।

चिनियाँ सरकारी निकायले उनी विरुद्ध अपहरण, धोखाघडी र मुद्रा अपचलनलगायत कम्तिमा १९ वटा अभियोगमाथि अनुसन्धान गरेको एपी समारचार निकायले जनाएको छ। गत महिना मात्र चिनियाँ प्रहरीले उनी विरुद्धको बलात्कारको नयाँ फाइल खोलेको पनि बताइएको छ। अप्रिलमा गुवाले पूर्वराज्य सुरक्षा उपमन्त्री मा जियानलाई ८७ लाख अमेरिकी डलर घुस ख्वाउने प्रयास गरेको संचार माध्यमले जनाएको थियो।

मालाई त्यतिबेला नै पक्राउ गरिएको थियो। उनीमाथि अहिले भ्रष्टाचारसम्बन्धी अनुसन्धान भइरहेको छ। तर गुवोले आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आफू विरुद्धको पक्राउ पुर्जी राजनीतिक पूर्वाग्रहबाट प्रभावित भएको आरोप लगाएका छन्। यसै वर्षको अन्त्यसम्ममा गुवोको अमेरिकी टुरिस्ट भिसाको म्याद समाप्त हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्