प्रमज्यू, सूचना प्रविधिमा ध्यान दिनुस्



 

प्रधानमन्त्रीका कारण सूचना प्रविधिमा अहिले नेपाललाई धक्का लागेको अवस्था छ। सरकारलाई सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीतिगत मार्गदर्शन गर्न गठन भएको सूचना तथा सञ्चार प्रविधि परिषद् पनि अहिले निष्क्रिय भएको छ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद् स्थापना भएको १ वर्ष बितिसक्दा पनि कुनै ठोस काम भएको छैन। प्रधानमन्त्रीले बैठकमा नजाँदा परिषद्ले कुनै काम गर्न सकेको छैन। २०७३ वैशाख ३० मा मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको अध्यक्षतामा २३ सदस्यीय परिषद्को गठन भएको थियो।

परिषद् गठनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ४ साउन २०७३ मा एउटा बैठक बसेको थियो। त्यसपछि प्रमका कारण केही हुन सकेन। मुलुकले दुई नयाँ प्रधानमन्त्री पाइसक्दा पनि परिषद्को एउटै बैठक बस्न नसकेको समाचारमा आइरहेको अवस्था छ। बैठक बस्न नसकेपछि आईसीटीसम्बन्धी नीति निर्माण तथा विभिन्न निकायबीच गर्नुपर्ने आईसीटी क्षेत्रमा समन्वयको अभाव देखिनु स्वाभाविक हो। अहिले सूचना प्रविधिको युग हो। सरकारले यो सोचेर केही कदम चाल्नुपर्छ। प्रम देउवालाई अनुरोध, फोकटमा कार्यक्रम उद्घाटन गर्न गएर समय बिताउनुभन्दा सूचना प्रविधिका क्षेत्रमा काम गर्नुस्।

– दीपेन्द्र बोगटी, रुपन्देही

जग्गा घोटालाका नाइके खोई ?

करिब ६७ करोड रुपियाँभन्दा बढीको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका हाकिम र अन्य सबै कर्मचारी अहिले पनि खुलेयाम हिँडिरहेका छन्। प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपियाँबराबरको अनियमिततामा समेत मुछिएका छन्। तर कार्वाहीको प्रक्रिया सुस्ताएको छ। पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमतिलगायतका निर्णयमा समेत खड्काको अनियमितता भएको खुलेको कुरा बाहिर आउँदा पनि उनीहरुलाई कार्वाहीको गतिलो प्रक्रिया अगाडि बढाउन ढिला गर्नु सबैको मिलोमतो ठहर्छ।

पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउन भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिदमा एजेन्टसँगको मिलेमतोमा करिब ६७ करोड घोटालाको नेतृत्व गरेको आरोप लागेका खड्काले विभिन्न समयमा कर्मचारी नियुक्ति, ट्यांकर, बुलेट, ग्यास उद्योग, पेट्रोल पम्प सञ्चालन अनुमतिमा २० करोड रुपियाँभन्दा बढी घोटाला गरेको तथ्य बाहिर आइसकेको छ। तर कार्वाहीको कुरा हराएको छ। समितिमा पनि शुरुमा चर्कोरुपमा उठेको यो कुरा अहिले सुस्ताएको छ। निगम–स्रोत र व्यवसायीबाट बाहिर आएको भन्दै आमसञ्चारमा घोटालाका समाचार दिनहुँजसो केही दिनदेखि आए पनि सम्बन्धित सरकारी निकायले यसको गहिरो अनुसन्धान र छानबिन गरेको छैन। यस विषयमा ध्यान जाओस्। गलत नजिर नबसोस्। अनियमितता गर्नेलाई हदैसम्मको कार्वाही होस्।

– रीना पुन, काठमाडौं

कहिले हट्ने होला जाम ?

जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान अहिले ट्राफिक व्यवस्थापनमा समेत देखिएको छ। निकै चर्चा कमाएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले ट्राफिक प्रमुख भएपछि केही गर्छन् कि भन्ने ठूलै अपेक्षा थियो। जाम हुँदा हामी धेरै समस्यामा परेका छौं, समय खेर गइरहेको छ। सही ट्राफिक व्यवस्थापन नहुँदा पनि धेरै जाम भएको मैले पाएको छु। लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्न जरुरी छ। यसमा तपाईं ट्राफिक प्रमुख सर्वेन्द्र खनालले पहल गरेर काम गर्नुपर्ने हो। तर कहिले सडकमा गएर लोकप्रियताका लागि पत्रकार लगेर नौटंकी गरिरहनुहुन्छ त कहिले के ? दिगो कार्यक्रम लिएर काम गर्नुस्।

जनताले निकै दुःख पाएका छन्। कहाँ–कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो पत्ता लगाएर त्यसको समाधान खोज्नतिर ध्यान दिनुस्। ट्राफिक प्रहरीले जिम्मेवार भएर काम गर्दा केही मात्रामा भए पनि जाम कम हुन्छ। सडकको अवस्था नाजुक छ, खाल्डाखुल्डी धेरै छन्, ट्राफिक लाइट छैन। त्यसले गर्दा पनि काम गर्न समस्या भएको छ। तर जिम्मेवारीमा आएपछि खनालज्यू, यसको बारेमा केही बोल्नुपर्छ। केही कामको शुरुवात गर्नुपर्छ।
उपत्यकामा जथाभावी पार्किङ गर्ने काम नियन्त्रण गर्ने विषयमा पनि केही काम भएको छैन। त्यसलाई पनि व्यवस्थापन गर्न जरुरी छ। त्यस्तै पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गर्नुपर्छ। अहिले पनि त्यो कम नभएको हल्ला सुनिन्छ कहिलेकाहीँ। काठमाडौंमा ट्याक्सी चालकहरुको पनि मनलाग्दी छ। मिटरमा जान नमान्ने चालकमाथि कारबाही गरिने प्रक्रिया खनाल सर, तपाईंले कडाइका साथ गर्नुपर्छ।

– सागर चलाउने, बलम्बु, काठमाडौं

राजधानीका सडकको दयनीय अवस्था

काठमाडौंमा सडकको समस्या कुनै नौलो कुरा होइन। वर्षायाममा खुट्टा टेक्नै नसकिने हिलो हुने राजधानीका सडकमा अहिले सास फेर्नै नसकिने गरी धूलो उड्ने गरेको छ। हालसालै प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको राजधानीका सडकहरुमा रहेका खाल्डा पुर्नको लागि १५ दिने निर्देशनपश्चात् पनि कतिपय स्थानमा गाडीको टायर नै डुब्ने खाल्डो परेको देखिन्छ। सडकमा मान्छे हिँड्न त परको कुरा हो, गाडी चलाउने चालकहरुले पनि समस्यामा परेको गुनासो गर्ने गरेको सुनिन्छ। हिउँदमा धूलो र बर्खामा हिलो हुने सडकको अवस्थाको कारण नागरिकले सधैँ सास्ती भोगिरहेका छन्। बर्खामा त राजधानीका सडकहरु हिलाम्मे भई धान रोप्नको लागि तयार पारिएको खेतजस्तो देखिने गरेको पाइन्छ। सडकमा रहेको उक्त हिलोका कारणले सर्वसाधरणको समयको बरबादी भएको छ भने अनेक प्रकारका समस्यामा अल्झिनुपरेको छ।

उपत्यकामा सडक विस्तार, खानेपानी तथा ढलको पाइप बिछ्याउने क्रम अनि बढ्दो सवारी चापलगायतले धूलो, धुवाँ बढेर काठमाडौं उपत्यकामा वायु प्रदूषण ५ गुणा बढेको समाचारमा उल्लेख नभएको होइन। यसतर्फ सम्बन्धित सरोकारवालाले समयमै ध्यान नपुर्याए भविष्यमा ठूलो धनजनको क्षति बेहोर्नुपर्ने सम्भावना देखिएको छ। चक्रपथलाई एउटा उदाहरण मान्न सकिन्छ, जहाँ लथालिङ्ग ढल, अव्यवस्थित तार र हजारौं खाल्डाहरु देख्न सकिन्छ। यहाँका धेरै ठाउँमा सडकको अवस्था दयनीय छ। सर्वसाधारणलाई परेको सास्ती चिल्ला सवारीसाधनमा गुड्नेहरुले नदेख्दा नै जनताले मौसमअनुसारको मार काठमाडौंको सडकमा भोग्दै आउनुपरेको छ।

– सुरज भण्डारी, कुपण्डोल, ललितपुर

प्रतिक्रिया दिनुहोस्