तस्करी नियन्त्रण गर



 

नेपालभित्र गैरकानुनीरुपमा व्यापार व्यवसाय गर्नेहरुको कारण राज्यलाई ठूलो नोक्सानी हुने गरेको छ । नेपाल भित्रिने नाकाहरुमा कडाइ नगर्दा गलत धन्दा गर्नेहरुले राज्यलाई नोक्सानी गर्ने गरी अवैध ढंगले सामान भित्र्याउने गरेका छन् । केही वर्षयता सुन तस्करीमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । विशेष गरी चीनबाट सेटिङमा भित्रिने सुन प्रहरीको आँखा छल्दै राजधानी काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइन्छ ।

प्रहरीले राजधानीबाट ८८ किलो सुन बरामद गरेको छ । तिब्बतको र नेपालको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको सुन बोकेको गाडी बाटोमा कहीँ–कतै पनि चेकिङ नभई राजधानी आइपुगेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । सो नाकाबाट राजधानी भित्रिएको सुन किन बाटोमा नै पक्राउ परेन ? निकै गम्भीर प्रश्न उब्जिएको छ ? सुरक्षा निकायले कडाइ नगर्दाको परिणाम हो भन्नेमा दुईमत छैन ।

रसुवादेखि काठमाडौंसम्म सुन ल्याउने गाडी निर्बाधरुपमा कसरी आइपुग्यो ? अवैध सुन भित्रिने गरेको अनुमान गर्ने प्रहरीले सुन भित्रिने नाकामा किन कडाइपूर्वक जाँच गर्दैन ? यसले कतै प्रहरीकै मिलेमतोमा नै सुन तस्करी त भइरहेको छैन ? भन्ने गम्भीर प्रश्न पनि जन्माएको छ । चीनबाट अवैधरुपमा नेपाल भित्रिने गरेको सुन भारतमा जाने गरेको तथ्य प्रहरीले सार्वजनिक गर्दै आएको छ । नेपाललाई ट्रान्जिट बनाई भारतलगायतका देशहरुमा सुन तस्करी भइरहेको तथ्य प्रहरीले सार्वजनिक गर्ने गरे पनि तस्करी रोक्न भने प्रहरीको भूमिका प्रभावकारी देखिएको छैन । किन सरकारले अवैध तस्करी रोक्न सकेको छैन ?

यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन बरामद भएको थियो । सरकारले सुन तस्करीमा संलग्न संगठित गिरोहलाई किन पक्राउ गर्न सकिरहेको छैन ? सरकारले संगठितरुपमा तस्करी र गलत काम गर्नेहरुलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ । सुन तस्कर पक्राउ पर्ने र दबाबमा छुट्ने गरेका छन् । प्रहरीले पनि अहिले ८८ किलो सुन बरामद गर्नु सफलताको विषय हो । यो सँगै प्रहरीले नाकाहरुबाट सुन तस्करी नै हुन नदिन सचेत हुनुपर्छ । धाराको टुटी सफा गर्नुभन्दा मुहान नै सफा गर्न प्रहरीको ध्यान जान जरुरी छ । सुन तस्करीलगायतको कुनै पनि तस्करी हुन नदिन सरकार गम्भीर बन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्