रुकुमको तातोपानी संरक्षणको पखाइमा



 

धनवीर दाहाल, रुकुम
वर्षात्को समयमा पनि हिउँद महिनाको जस्तो सफा पानी बगिरहन्छ। झट्ट हेर्दा साह्रै चिसोजस्तो लाग्ने पानी छुनेबित्तिकै पोल्ने गर्दछ। तपाईंलाई विश्वास नलाग्न सक्छ तर यो सत्य हो। रुकुमको सिस्ने गाउँपालिका–४ मा परापूर्वकालदेखि तातोपानी कलकल बगिरहेको छ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका–४ पोखराकी जयकुमारी केसीलाई यति बेला आफ््नो ठाउँमा रहेको तातोपानीको मुहान पुरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।

रुकुमको गहनाको रूपमा रहेको तातोपानी मुहान क्षेत्र सानीभेरी नदीको बहावको कारण पुरिनसक्ने भन्दै जयकुमारीले संरक्षणका लागि पटकपटक सरोकारवालालाई अनुरोध गरिसकेको बताउँछिन्। उनीमात्र होइन यतिबेला पोखराबासी आफ्नो ठाउँमा रहेको तातोपानीको मुहान पुरिनसक्ने खतरा रहेकाले संरक्षणका लागि जोडदार माग गरिरहेका छन्। यति बेला सानीभेरी नदीको छेउमा रहेको ऐतिहासिक तातोपानी क्षेत्र ओझलमा पर्न थालेको छ।

परापूर्वकालदेखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको उचित संरक्षण र कुनै व्यवस्थापन नहुँदा नदी बगरको माटोले पुरिने अवस्थामा पुगेको छ। सानोभेरी नदीछेउको किनारमै रहेको पूर्वी रुकुमको पोखरामा अवस्थित तातोपानी क्षेत्रलाई आन्तकि र बाह्य पर्यटनका लागि एक ऐतिहासिक स्थानका रूपमा लिने गरिन्छ। तर, पछिल्लो समय तातेपानी क्षेत्र संरक्षणका लागि कुनै विशेष अभियान नचलाइँदा तातोपानीको मुहान पुरिएर जाने अवस्थामा रहेको छ। प्राकृतिकरूपमा आफैं उत्पत्ति भएको तातोपानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगसमेत निको हुने विश्वासले बर्सेनि तातोपानी क्षेत्रमा देश–विदेशबाट पर्यटक आउने गर्दछन्।

वर्षा शुरू भएपछि २ महिनाजति सानोभेरी नदिको बहावले तातोपानीको केही भाग पुरिने भएकाले कतै तातोपानी नै नरहने हो कि भन्ने चिन्ताले आफूहरूलाई पिरोल्ने गरेको स्थानीय रामचन्द्र खड्काले बताए। नदीको बहाव बढ्दा कम हुने र बहाव घढ्दा बढ्दै जाने तातोपानीको मुहान नेपालकै सन्र्दभमा संरक्षण गर्न आवश्यक रहेकाले आम्दानीको स्रोत बन्नसक्ने खड्काको भनाइ छ।

२ वर्षअघि तातोपानी संरक्षणका लागि तत्कालीन जिल्ला विकास समिति, रुकुमको सामान्य आर्थिक सहयोगमा तटबन्ध निर्माण गरेर कुवा र धारा निर्माण गरिएको थियो। तर, त्यो सबै बालुवामा पानी खनाएजस्तै भएकाले हाल तातोपानी क्षेत्र बगरमा परिणत भएको छ।

धार्मिक मान्यतासहित पर्यटकीय इतिहास बनाएको तातोपानी मूल संरक्षणका लागि भन्दै यसपटक भने सिस्ने गाउँपालिकाले थोरै बजेट विनियोजन गरेको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले बताइन्।

यसअघि रुकुम जिल्ला एउटै हुँदा समग्र जिल्लाको पहिचान बनाएको पोखराको तातोपानी क्षेत्रलाई रुकुमकै ऐतिहासिक स्थलको रूपमा लिने गरिन्थ्यो। स्थानीयबासीले बेलाबखत सरोकारवाला निकायलाई संरक्षणका लागि सहयोग गर्न आग्रह गर्दा पनि त्यसतर्फ भने सबै बेखबर बनेका छन्। पर्यटनका लागि प्रसस्त सम्भावना बोकेको तातोपानी संरक्षणका लागि पहल गर्न जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्