विपद् व्यवस्था न्यूनीकरणसम्बन्धी विधेयक सिधै संसद्मा पेश गर्ने



 

काठमाडौँ, १९ भदौ । मन्त्रिपरिषद्को आजको बैठकले विपद् व्यवस्था न्यूनीकरणसम्बन्धी विधेयकलाई सिधै व्यवस्थापिका–संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विपद् व्यवस्थापनसम्बन्धी विधेयक चाँडो पास गर्नुप¥यो भन्ने माग चौतर्फीबाट आएका हुनाले सो विधेयक सिधै व्यवस्थापिका–संसद्मा पेश गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

निजामती सेवा दिवस–२०७४ को उपलक्ष्यमा १० जना सहसचिवलाई निजामती कर्मचारी सेवा पुरस्कार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा गठित समितिले पुरस्कारका लागि १० जना सहसचिवको नाम छनोट गरेको हो । यसरी पुरस्कृत हुनेमा दीपक सुवेदी, डिल्लीराज धिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेढाईं, जगनाथ बराल, लक्ष्मीभक्त कलैनी, प्रल्हादकुमार योगी र अनिल खनाल छन् ।

यसैगरी समितिले सहसचिव वाहेक अन्य तहका ३० जना कर्मचारीलाई पनि सो पुरस्कार प्रदान गर्ने गरेको सिफारिसलाई पनि बैठकले स्वीकृत गरेको गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्