बढ्यो सुन चोरी र अवैध ओसारपसार



हेटौंडा, (नेस) । मकवानपुरमा रहेर सुनचाँदी किनबेच गर्नुहुन्छ भने होसियार भएर किनबेच गर्नुहोला । केही दिनअघि मात्र दिउँसै सुन पसलबाट केही सेकेण्डमै सुन हराएको छ ।
‘२ महिलाले एकैदिन २ वटा पसलबाट सुन लिएर फरार भएका छन् । ती महिला तपाईंको पसलमा किनबेचका लागि आउन सक्छन्, सचेत र सावधान रहनुहोला ।’ प्रहरीले माथि उल्लेखित वाक्यांश प्रयोग गर्दै सुन व्यवसायीलाई सावधान रहन आग्रह गरिरहेको छ ।
मकवानपुरका डीएसपी दिलीपराज झाले जिल्लामा सञ्चालित सबै सुन पसललाई सचेत र सावधान रहन भनिएको जानकारी दिए । ‘हामीले सबै सुन पसललाई सचेत भएर बिक्री गर्न र कतैबाट सुन किनबेचका लागि ल्याए सावधान रहन सूचना दिएका छौं,’ डीएसपी झाले भने–चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा यस्ता गिरोह सक्रिय छन्, त्यस्ता गिरोहबाट व्यापारी सचेत हुनु आवश्यक छ । हिन्दु नेपालीको महान चाडपर्व दसैं, तिहार र छठ नजिकिएसँगै हेटौंडा बजारमा चाप बढेको छ ।
सुन क्रेताका रुपमा पसलभित्र छिरेका महिलाले कुनै सामान तोडफोड नगरी राखिएको स्थानबाट सुन झिकेका छन् । बजारमा बढ्दो चाप र चोरी डँकैतीका घटना बाहिर आउन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने रणनीति अबलम्बन गरिरहेको छ । सामान्य चोरीदेखि दिउँसै ठगी गर्नेको जमात बजार क्षेत्रमा सक्रिय हुँदा व्यापारीलाई सचेत रहन प्रहरीलगायत सरोकारवाला संस्थाले आह्वान गरेका छन् ।
वर्षेनी चाडपर्वको समयमा चोरी, ठगीका घटना नरोकिँदा प्रहरीले सक्रियता बढाएसँगै अनुसन्धानमा जोड दिन आवश्यक छ । यस्ता घटनालाई मध्यनजर गरिरहँदा बिहीबार हेटौंडा बजार क्षेत्रमा सञ्चालित २ वटा सुन पसलमा दिउँसै ठगी भएको छ । प्रहरीले जनाएअनुसार हेटौंडा–१० र १ मा रहेको दुई वटा सुनपसलमा बिहीबार दिउँसो दुई महिलाले सुन ठगी गरेका छन् । सुनपसलमा रहेका प्रोप्राइटरलाई झुक्याएर दुई महिला सुन ठगेर भाग्न सफल भएका छन् ।
हालसम्म प्रहरीले ती महिलालाई पक्राउ गर्न सकेको छैन । हेटौंडा–१ मा रहेको अनमोल सुनचाँदी पसलबाट सुन ठगेको सीसीटिभी फुटेजमा देखिएको छ । फुटेजमा दुई महिला ग्राहक बनेर सुन खरिदका लागि गएको र सुन राखेको ठाउँबाट निकालेको देखिन्छ । उनीहरुमध्ये एक जनाले प्रोप्राइटरलाई भुलाउँदै अर्की महिलाले तीन वटा सुनको आंैठी झिकेको प्रहरीले जनाएको छ । औंठी झिकेपछि एकले अर्कीलाई जाने संकेत गर्दै उनीहरु फरार भए ।
उनीहरु अनमोलबाट हेटौंडा–१० मा रहेको श्रीराम सुनचाँदी पसलबाट पनि त्यसैगरी सुन लिएर फरार भएका छन् । सुन ठगी भएको विषयमा प्रतिक्रिया दिँदै अनमोल सुनचाँदी पसलका प्रोप्राइटर राजकुमार घिमिरेले आफ्नो पसलबाट करिब डेढ तोला सुन हराएको बताए । बिक्रीका लागि तयार पारिएको तीन वटा औंठी हराएको उनको भनाइ छ ।
सुन चोरीसँगै अवैध ओसारपसार पनि भइरहेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले करिब साढे ९ लाख मूल्य बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटांैडाबाट बीरगञ्जतर्फ जाँदै गरेको ना. १ ज ४०५२ नम्बर सुमो चेक गर्ने क्रममा सुमोका यात्री ४० वर्षीय भारतीय नागरिक अशोककुमार शर्माको साथबाट करिब ९ लाख ६१ हजार मूल्य पर्ने १ सय ९५ ग्राम सुन फेला पारेको हो । उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्