दोलखाका सहकारी संस्थाहरु एकिकरणको अभियानमा



चिरञ्जीवी मास्के, दोलखा । दोलखा जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाहरु एकिकरणको प्रकृयामा रहेका छन् । दोलखाको गौरीशङ्कर गाँउपालिकामा रहेका दुई ठूला सहकारी संस्था एकिकरण गर्ने सम्झौता भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नं. २ मा कार्यालय रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्था(साकोस) र गौरीशंकर गाउँपालिका वडा नं. ४ मा कार्यालय रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था बीच एकीकरणको सम्झौता भएको छ । दुवै संस्थाले एकीकरणका लागि बनाएको कार्यदल बीचको छलफलपछि सम्झौता भएको हो । सम्झौता पत्रमा जनउपकारका कार्यदल संयोजक दिलबहादुर केसी र ग्रामीणका तर्फबाट कार्यदल संयोजक निमा लामाले हस्ताक्षर गरेका छन् ।

दोलखाको अन्य एक दर्जन सहकारी संस्थाहरु पनि एक आपसमा एकीकरण को प्रकृयामा रहेको जनउपकारका कार्यदल संयोजक दिलबहादुर केसीले बताए । सहकारी संस्थाहरुको संख्यात्मक विकासमात्र बढेकोले दोलखाका सहकारी संस्थाहरु एकीकरणको अभियानमा जुटेको सहकारीमा आवद्ध सदस्यहरु बताउछन् । यस अघि दोलखाको जिरीका ९ वटा सहकारी, चरिकोटका ४ वटा र सुनखानीका २ वटा सहकारी एकीकरण भइसकेका छन् ।

दुवै संस्था बीच एकीकरणका विषयमा धेरै विषयमा सहमति जुटि सकेको जनउपकार साकोसका सचिव समेत रहेका कार्यदल संयोजक केसीले जानकारी दिए । दुवै सहकारीले एकीकरणलाई मूर्त रुप दिनका लागि संयुक्त कार्यदल समेत बनाएका छन् । संयुक्त कार्यदलले प्राविधिक काम गरेपछि दुवैको संयुक्त साधारण सभाबाट पास गर्ने र पुनः संयुक्त साधारण सभापछि डिभिजन सहकारी कार्यालयको स्वीकृतिपछि एकीकृत कारोबार सुरु हुने केसीले बताए ।

 

जुँगू र झ्याँकूमा मात्र कारोबार गर्दै आएका दुवै सहकारीले एकीकरणपछि गौरीशंकर गाउँपालिका, विगू गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा समेत सेवा क्षेत्र विस्तार गरी कारोबार सुरु गर्ने तयारी गरेका छन् । गत असार मसान्तसम्म जनउपकार साकोसको २० करोड र ग्रामीणको ४ करोड वासलत रहेको छ ।

जुँगू र झ्याँकूमा रहेका अन्य एक दर्जन सहकारी संस्थासँग पनि एकीकरणका लागि छलफल चलिरहेको उनले बताए । जुँगूको हिमचुली बहुउद्देश्यीय सहकारी, बज्युस्थान कृषि सहकारी, नमूना कृषि सहकारी, प्रगतिशिल बहुउद्देश्यीय सहकारी, चेतना महिला उपभोक्ता सहकारी र युनिक साकोससँग छलफल भएको छ । एकीकरणका विषयमा सबै सहकारीका सञ्चालकहरु सकारात्मक रहेको उनले बताए ।

झ्याँकूमा रहेका अन्य आधा दर्जन सहकारीसँग पनि छलफल सुरु भएको छ । दुवै संस्थाको एकीकरण प्रक्रिया टुङ्गोमा नपुग्दासम्म गौरीशंकर, विगू र कालिञ्चोक गाउँपालिकाका जुनसुकै सहकारीसँग पनि छलफल गरेर एकीकरण प्रक्रियामा सहभागी गराउने संयुक्त कार्यदलको निर्णय भएको छ ।

दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले संख्यात्मक सहकारीभन्दा पनि सम्वृद्ध सहकारी बनेर सम्पूर्ण वित्तीय सेवा दिनसक्ने गरी सहकारी एकीकरण अभियानमा संघ पनि लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्