ओझेलमा यौनहिंसा



कपिल काफ्ले

नेपाली समाजले आज पनि यौनहिंसालाई गम्भीर रूपमा लिएको छैन। महिलामाथि पुरुषले गर्ने यौनहिंसालाई समाजले ‘जवानीको भूल’ भनेर हाँसोमा उडाउने गरेको छ। बलात्कारदेखि, अनिच्छापूर्वक यौनआनन्दका लागि छुने, जिस्क्याउने, इशारा गर्ने, निरुत्साहन गर्ने यावत् हर्कत यौनहिंसा हुन् र यस्ता गतिविधि गर्ने जो–कोही कानुनका दृष्टिले सजायको भागिदार हुन्छ भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनले बोलेका छन्, तर पनि यस्ता अपराध समाजमा निरन्तर भइरहेका छन्। यसो
हुनुमा सामाजिक मानसिकता कारक बनेको छ।

हालै, ललितपुरको इमाडोलमा रहेको चिल्ड्रेन गार्डेन स्कूलमा ८ कक्षामा पढ््ने छात्राहरू आफ्नै विद्यालयका मिलन शाक्य नामका प्रिन्सिपल तथा सञ्चालकबाट यौनहिंसामा परेको जानकारी बाहिर आयो। प्रोएक्टिभ पत्रकारिता गर्दै आएका जोशिला पत्रकार रवि लामिछानेले यस विषयलाई आफ्नो टेलिभिजनमार्फत गम्भीरताका साथ बाहिर ल्याए। उनले संकलन गरेको भिडियोमा किशोरीहरूले रुँदै दिएको बयानअनुसार बाहिर मैदानमा खेलिरहेका वा कक्षामा पढिरहेका किशोरीहरूलाई मिलनले आफ्नो कार्यकक्षमा बोलाउने, अंकमाल गर्ने, चुम्बन लिने, कपडाभित्रबाट हात छिराएर संवेदनशील अंगहरू खेलाउने गर्दा रहेछन्।
‘म कक्षाकोठाअगाडि निहुँरिएर जुत्ताको तुना मिलाउँदै थिएँ, प्रिन्सिपल सरले ए मैया यहाँ आऊ भनेर बोलाउनुभयो’, पीडित छात्राले आँसु पुछ्दै भनेकी छन्, ‘जानासाथ अंकमाल गर्नुभयो, किस गर्नुभयो, काखमा बसाउनुभयो र लुगाभित्र हात पसाएर छाती खेलाउनुभयो….।’ कामवासनाले ग्रस्त विवेकहीन मिलनको स्वर अझै ठूलो छ, ‘यी सबै मेरा छोरीका उमेरका केटीहरू हुन्, उनीहरूलाई अंकमाल गर्नु र म्वाइँ खानु ठूलो कुरो होइन।’ यो सबै मिलनको कुतर्कबाहेक केही पनि होइन भनेर सबैले सहजै बुझ्छन्।

महिला तथा किशोरीमाथि हुनै यौनहिंसाको आधार हो अधिनायकवादी पुरुषत्व वा हेपाहा प्रवृत्ति। यो एक प्रकारको महामारी हो, जसले पुरुषलाई महिलामाथि शोषण र हिंसा गर्न सिकाउँछ। पदीय हैसियत, धन वा अन्य स्रोत–साधनले शक्तिशाली महिलालाई देख्दा नजाग्ने यौनप्यास अशक्त महिला वा किशोरीमाथि मात्र किन पोखिन्छ ?

यससम्बन्धमा अनौठा केही सन्दर्भहरू पनि जोडिएका छन्। पत्रकार रवि लामिछानेसँग चरचर्ती बाझ्ने एक महिला पनि देखा परिन् भिडियोमा। तपाईं आफैं केटी मान्छे भएर यौन दुव्र्यवहारमा परेकोमा गुनासो गर्ने छात्राहरूको विपक्षमा कसरी बोल्न सक्नुहुन्छ भनेर पत्रकार लामिछानेले प्रश्न गर्नुपर्ने अवस्था पनि भिडियोमा देखिन्छ। त्यहाँ छोरीहरूलाई पढ्न पठाउने अभिभावकले ‘पिन्सिपलसँग चाहिँ बच्नु है’ भनेको पनि जानकारी गराइयो। प्रिन्सिपलसँग बच्दै हिँड्नुपर्ने विद्यालयमा छोरीलाई पढ्न पठाउनै पर्ने बाध्यताले दुई तथ्यप्रति हाम्रो ध्यान तान्छ– एक, जहाँ गए पनि कोही न कोही यस्तै यौनपिपासु हुन्छन् नै, यहीँ बचेर पढे हुन्छ। दुई, यौनहिंसा ठूलो विषय होइन, यहीँ सतर्क हुन सकिन्छ। महिला स्वयंले यौनहिंसालाई सामान्यरूपमा लिएको देख्दा फेरि दुई पक्षमा हाम्रो ध्यान जान्छ– एक, म पनि कुनै बेला यसरी नै यौनहिंसामा परेकी थिएँ, जसरी मैले सहेँ त्यसरी नै नयाँ पुस्ताले सहे हुन्छ, यो नयाँ मुद्दा होइन, दुई, यस्ता सामान्य विषयमा शक्तिमा रहेका व्यक्ति (प्रिन्सिपल) सँग दुश्मनी गर्नहुन्न। जसरी हेरेपनि यौनहिंसालाई हाम्रो समाजले सामान्य रूपमा लिएको छ। कतिपय स्वनामधन्य राजनीतिज्ञहरू थिए र छन् जो ‘बजारमा दूध पाइन्छ भने गाई किन पाल्ने ?’ भनेर दाँत देखाउँथे, वरिपरि बसेर सुन्नेहरू गलल्ल हाँस्थे। बजारको दूध खाँदा दुवै पक्षबीच सहमतिमै किनबेच हुन्थ्यो कि शक्तिका आडमा यौनहिंसा हुन्थ्यो, हाँस्नुअघि कसैले ध्यान दिएन। यौनहिंसालाई गम्भीर रूपमा लिने प्रचलन भएको भए हाँस्नुअघि मानिसले एकपटक अवश्य सोच्ने थियो।

दुई वर्षअघि, २०१५ मा युएनएफपीएले सार्वजनिक गरेको एक रिपोर्टमा महिलाविरुद्ध हुने यौनहिंसा न्यूनीकरण गर्न पुरुष सहभागिता अनिवार्य रहेको बताइएको छ। महिला तथा बालिकाविरुद्ध हुने अधिकांश हिंसाका लागि पुरुष र केटाहरूलाई प्रशिक्षण गर्नु, बालक अवस्थादेखि नै उपयुक्त वातावरण प्रदान गर्नु आवश्यक छ। यौनहिंसाविरुद्ध महिला मात्र बोल्ने, पुरुष भने चुप लागेर बस्ने, त्यो पनि हाम्रोजस्तो पितृप्रधान समाजमा, यसरी यौनहिंसा न्यूनीकरण हुन सक्तैन। युएनएफपीएले पुरुष र केटाहरूलाई लैङ्गिक समानताका विषयमा प्रशिक्षणपछि सार्वजनिक कार्यक्रममा यौनहिंसा अन्त्यका लागि आ–आफ्नो तर्फबाट योगदान दिने प्रतिबद्धता जनाउन आह्वान गरियो, सबैले त्यस्तो हिंसा नगर्ने, कसैले गरेमा विरोध जनाउने वचन दिए। त्यस्तै, केयर नेपाल नामको संस्थाले कपिलवस्तु, चितवन र मकवानपुरमा ५० पुरुष अभियन्ता तयार पार्यो, आज पनि ती अभियन्ताहरू महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सक्रिय छन्। यस्ता अभियान घर–घरमा हुने हो भने यौनहिंसा न्यूनीकरण हुन्छ।

छोरीहरूलाई ‘साँझमा बाहिर नजा, बलात्कृत होलिस्’ भनेर डर देखाउने बाबुआमाले छोराहरूलाई ‘खबरदार, कुनै केटीलाई दुव्र्यवहार गर्लास्, नैतिक पतन भएर जेल जालास्’ भनेर सतर्क गराउँदैनौं। यहीँनिर त्रुटि छ। यस लेखकका परिचित एक वृद्ध एकदिन गौरवसाथ हाँसिरहेका थिए, उनले कारण बताए, ‘मेरो जेठो नातिले भाडामा बस्ने छ नि माया, उसको काखीमुनि समाइदिएछ।’ ती परिचित अहिले यस संसारमा छैनन्, उनको १७ वर्षको नातिले अहिले ३० काटिसकेको छ। बाबुआमाकै आड पाएका कारण भीडभाड बसमा महिला तथा किशोरीलाई संवेदनशील ठाउँमा छोएर जीवन सफल भएको ठानिरहेको बुझ्नमा आएको छ। महिला र किशोरीमाथि हुने यौनहिंसाको क्षेत्रमा सार्वजनिक सवारीसाधन एक प्रमुख हो। गतवर्ष मात्र रुकुमकी एक किशोरीलाई अपराधीहरूले बसभित्रै बलात्कार गरेको समाचार सार्वजनिक भयो। हिन्दी सिनेमाको नक्कल गर्न खप्पिस नेपाली समूहले तीन वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा घटेको घटनाकै शैलीमा किशोरीलाई योनहिंसाको सिकार बनायो। रुकुमदेखि नेपालगन्जसम्मको यात्रामा रहेकी ती किशारीका अपराधीहरूलाई न्यायिक कठघरामा उभ्याउन नसक्नु राज्यको लज्जाको विषय हुनुपर्ने हो।

यौनहिंसाको वैध आधार बनेको छ जबरजस्ती विवाह, अनमेल विवाह र बालविवाह। विवाह गरेकी श्रीमतीसँग श्रीमान्ले जसरी यौनसम्पर्क गरे पनि समाज बोल्दैन। कानुनले ‘वैवाहिक बलात्कार’ लाई अपराध माने पनि अदालतमा यस्ता मुद्दा विरलै दर्ता हुन्छन्। युनिसेफका अनुसार दक्षिण एसियामा नेपाल तेस्रो अधिक प्रतिशतमा बालविवाह हुने मुलुक हो। नेपालमा ३७ प्रतिशत केटीहरूको विवाह १८ वर्षको उमेर पुग्नुअघि नै हुने गर्छ, यसमा पनि १० प्रतिशतको विवाह १५ वर्षभित्रै हुने गरेको छ। नेपालको कानुनले विवाहको उमेर केटा र केटी दुवैका लागि २० तोकेको छ। बालविवाह नेपालमा सन् १९६३ देखि नै गैरकानुनी घोषणा भएको हो। तर, आज पनि १४–१५ वर्ष उमेरका छोरीका बाबुआमा उनीहरूको विवाहका लागि केटा खोज्न थालेको यत्रतत्र देखिन्छ।

यस अभ्यासले किशोरीका
श्रीमान्लाई यौनदुव्र्यवहार गर्ने लाइसेन्स प्राप्त हुन्छ।
महिला तथा किशोरीमाथि हुनै यौनहिंसाको आधार हो अधिनायकवादी पुरुषत्व वा हेपाहा प्रवृत्ति। यो एक प्रकारको महामारी हो, जसले पुरुषलाई महिलामाथि शोषण र हिंसा गर्न सिकाउँछ। पदीय हैसियत, धन वा अन्य स्रोत–साधनले शक्तिशाली महिलालाई देख्दा नजाग्ने यौनप्यास अशक्त महिला वा किशोरीमाथि मात्र किन पोखिन्छ ? यस विषयमा चिन्तन गरौं र महिलालाई सशक्त बनाऔं र पुरुषलाई सभ्य नागरिक हुन सिकाऔं, यही नै यस रोगको समाधान हुनेछ।

प्रतिक्रिया दिनुहोस्