पाँच पत्रकारिता पुरस्कार प्रदान



 

नेपाल समाचारपत्र
काठमाडौं
पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील पाँच जना पत्रकारलाई विभिन्न पुरस्कार दिइएको छ। नेवार पत्रकारहरूको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबुको शनिबार राजधानीमा भएको पाँचौं वार्षिक साधारणसभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो। समाजसेवी सुरबहादुर श्रेष्ठले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको नाउँमा स्थापना गर्नुभएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार रमेशकाजी स्थापितलाई प्रदान गरियो।

त्यसै गरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले निकाला गर्नुभएका आठ भिक्षुमध्ये एक भिक्षु कुमारकाश्यप महास्थवीरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन मानन्धरलाई प्रदान गरियो।

त्यसै गरी ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोती शान्ति शाक्यले आफ्नी आमाको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नेपाल भाषाको हिटौडा साप्ताहिकका सम्पादक मोहनमान सांगामीलाई प्रदान गरियो।
त्यसै गरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापु हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गर्नुभएको फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटोपत्रकार राजेन्द्र चित्रकारलाई प्रदान गरियो।

त्यसै गरी सञ्चारकर्मी शोभा श्रेष्ठले आफ्ना पिता र माताको नाउँमा स्थापित पुरुषोत्तम निरादेवी पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ कार्टुनिस्ट श्याम डंगोललाई प्रदान गरियो। सबै पुरस्कारको नगद राशि रु. १० हजार रुपियाँ रहेको छ।

पुरस्कृत व्यक्तित्वहरूलाई नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रीकृष्ण महर्जनले माल्यार्पण, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले दोसल्ला र प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रमाणपत्र प्रदान गर्नुभयो। नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो।
सो अवसरमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यकालको सफलताको कामना गर्दै स्वागत तथा बधाई ज्ञापन गरिएको थियो।

नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो समारोहमा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, सूचना विभागका महानिर्देशक वीरबहादुर राई, नेपाल प्रेस काउन्सिलका कार्यवाहक सदस्य शुभेच्छा विन्दु, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, आदिवासी जनजाति पत्रकार महासंघका महासचिग गजुरधन राई, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेवाः पत्रकार राष्ट्रिय दबुका महासचिव सुनील महर्जनलगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रित गर्दै आ–आफ्नो धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्