माओवादीको हेडक्वाटर बैठक वीरगन्जमा



 

कृष्णउदास खनाल, वीरगन्ज
स्थानीय तहको पहिलो चरणमा र दोस्रो चरणमा तेस्रो स्थानमा पुगेको नेकपा माओवादी केन्द्रका सबै शीर्ष नेता मधेस झरेका छन्। असोज २ गते हुने स्थानीय तह निर्वाचनमा मधेसमा गुमेको साख फर्काउनका लागि भन्दै प्रचण्डसहितका शीर्ष नेता वीरगन्जमा झरेका हुन्। काठमाडौंमा गर्ने भनिएको सचिवालय हेडक्वाटर बैठक पनि माअ‍ोवादीले शनिबार वीरगन्जमा नै आयोजना गरेको छ। वीरगन्जको एक होटलमा आयोजित केन्द्रीय सचिवालय बैठकमा सबै शीर्ष नेताहरूको सहभागिता रहेको थियो। बैठकमा मुख्य गरी २ नम्बर प्रदेशमा कसरी विजय हासिल गर्ने भन्ने विषयमा नेताहरू केन्द्रित रहेको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटेले जानकारी दिए।

२ नम्बर प्रदेशको एक मात्रै महानगरपालिका वीरगन्जमा कसरी जित सुनिश्चित गर्ने भन्ने विषयमा पनि बैठक केन्द्रित रहेको नेताहरूले बताएका छन्। खास गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै मधेसमा जसरी पहिलो नभए पनि दोस्रो शक्ति हुनुपर्नेमा जोड दिएको र त्यहीअनुसार चुनावी रणनीति बनाउनका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बुझिएको छ।

संगठनको हिसाबले निकै कमजोर रहेको वीरगन्जमा विजय हासिल गर्नका लागि पार्टीको पूरै शक्ति केन्द्रित हुनुपर्नेमा पनि जोड दिइएको छ। माओवादीले वीरगन्जको मेयरमा एक स्वास्थ्य संस्थाका सञ्चालक रहेका रहबर अन्सारीलाई उठाउने निर्णय गरेको छ।

माओवादी राजनीतिमा यसअघि खासै नाम नसुनिएका व्यक्तिको नाम मेयरमा प्रस्ताव हुनु र एक्कै चुनावी मैदानमा उत्रिएका कारण वीरगन्जमा भने माओवादी तेस्रो शक्तिको रूपमा समेत आउने सम्भावना नभएको स्वयं उक्त पार्टीका नेताहरूले नै बताएका छन्। नयाँ व्यक्तिलाई मेयरको टिकट दिइएको भन्दै माओवादी वीरगन्जका पुराना नेताहरूले भने विरोध जनाएका छन्। त्यसलाई प्रचण्डसहितको टेलीले थामथुम पार्न लागिपरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्