टपरी संरक्षणको लागि तालिम



चिरञ्जीवी मास्के, दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारका स्थानिय महिलाहरुलाई टपरी गास्ने तालिम दिईएको छ । भीमेश्वर सिकाई केन्द्र दोलखाले टपरी गास्ने तालिम सञ्चालन गरेको हो । धार्मिक कार्य गर्न चोखो भाँडाको रुपमा प्रयोग गरिने दुना टपरी लोप हुदै गएकोले केन्द्रमा आवद्ध महिलाहरुको लागि तालिम सञ्चालन गरिएको केन्द्रकी सल्लाहकार राधादेवी मास्केले बताउनु भयो ।

नेवारी समुदायको बाहुल्यता भएको दोलखा बजारमा प्रचलन रहेको लप्ती (पात) भोजको लागि होस वा धार्मिक कर्म र तिथी श्राद्धका लागि अनिवार्य भएपनि सीप नभएका कारण काठमाण्डौ तथा अन्यत्रबाट तयारी दुना टपरा किन्नु पर्ने भएपछि तालिमको आयोजना गरिएको मास्केले बताउनु भयो । तालिममा सहभागि महिलाहरु तालिम पछि आफै टपरी बुन्ने बताउँछन् ।

आफु सँग सीप नभएका कारण टपरीको रुपमा थालको र दुना बोगतीको रुपमा मकैको खोस्टा प्रयोग गर्ने गरेको बताउने भीमेश्वर नगरपालिका वडा नम्बर २ कि राधिका प्रधान सीप सिके पछि आफै दुना टपरी बुन्ने बताउछिन् । भीमेश्वर नगरपालिका वडा नम्बर २ कि मैया प्रधान तालिममा सहभागि भएपछि टपरी गास्न जाने जानेकोले यो सीपलाई आफ्नो प्रयोगका लागिमात्र नभई व्यवसायिक रुपमै अगाडि बढाउने बताउछिन् ।

दुना टपरी गास्ने सीप नभएकै कारण सासुको गालि खेप्नु परेको तालिमकी प्रशिक्षक भुमनेश्वरी आचार्यको अनुभव छ । विवाह गरेर पराई घर जाने वितिकै सीप परिक्षण गर्ने संस्कार थियो आचार्य भन्नु हुन्छ – टपरा गास्न न जान्ने बुहारीले के घर गर्लान भन्ने प्रश्न उठ्थ्यो । आफुले विवाह पछि निक्कै दुःख गरेर टपरी गास्न सिकेको बताउनु हुने प्रशिक्षक आचार्य सँस्कृति र परम्पराको जगेर्णा गर्न यो सीप सवैका लागि आवश्यक हुने रहेछ भन्ने महशुस गरेको बताउनु हुन्छ ।

धार्मिक संस्कार मुल्य मान्यतालाई निरन्तरता दिनका लागि दुना टपरीको महत्व भएकाले स्थानीय महिलाको लागि दुई दिने तालिमको आयोजना गरिएको आयोजकको भनाई छ । हरेक शुभ तथा पितृ कार्यका लागि अनिवार्य हुने दुना टपरी वाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता छ । पात नजिकै किन्न पाईए पनि टपरा गाँस्ने सीप नहुदा महंगो मुल्य तिर्न बाध्य भएकोले तालिम पछि महिला आफैले टपरी गासेर प्रयोग गर्ने अपेक्षा लिएको केन्द्रकी सल्लाहकार मास्केले बताउनु भयो । दोलखा धार्मिक हिसावले प्रसिद्ध भएकाले केही महिलाहरुले टपरा दुनाको व्यवसायनै गरे पनि जीविकोपार्जन गर्न सक्ने मास्केको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्