अटोरिक्सा नियन्त्रण



नेपाल समाचारपत्र, बाँके । ट्राफिक प्रहरीले यातायात कार्यालयमा दर्ता नभएका अटोरिक्सालाई कडाई गरेको छ ।
ट्राफिकले शनिबार त्यस्ता अटोरिक्सालाई नियन्त्रणमा लिएको छ । अटोरिक्साको चाप र जथाभावी चल्दा दुर्घटना बढेको निष्कर्ष निकालेको ट्राफिक प्रहरीले नियमन र व्यवस्थित गर्न यस्तो अभियान चलाएको जनाएको छ ।

प्रहरीले यातायात कार्यालयमा दर्ता नभएका अटोरिक्सालाई नियन्त्रणमा लिदै गुल्ममा राखिएको छ । प्रायः अटोरिक्साहरु साविका गाविसमा दर्ता भएका छन् । यातायात कार्यालयमा दर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर नियन्त्रण गर्ने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज होमबहादुर थापाले बताउनुभयो ।

बाँके र त्यसमा पनि नेपालगञ्जमा कति अटोरिक्सा छन् भन्ने यकिन छैन । जथाभावी चल्ने अटोरिक्साले ट्राफिक अस्तव्यस्त बनाउने गरेको छ । यसले दुर्घटना पनि बढाएको छ । यातायात कार्यालयले अटोरिक्सा दर्ता र लाइसेन्सको व्यवस्था गर्न सकेको छैन । ट्राफिक सम्बन्धी ज्ञान नभएका व्यक्तिले जथाभावी सडक काट्ने, नियम मिच्ने गरेको पाइन्छ ।  नेपालगञ्जको सानो र खाल्टाखुल्टी परेका सडकमा अटोरिक्साको चापले अन्य सवारी साधन तथा पैदलयात्रीलाई दुःख दिएको छ ।

यातायात कार्यालयले अटोरिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्ने तयारी गरिरहदा अख्तियारको छापा परेपछि रोकिएको थियो । नेपालगञ्ज बजारमा अटोरिक्सा र टाँगाको व्यवस्थापन नगर्दासम्म दुर्घटनामा कमी नआउने सम्बद्धहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्