एयर पेस्तोल बरामद



नेपाल समाचापत्र, बाँके । सुर्खेतका लालसिंह राना एयर पेस्तोलसहित पक्राउ परेका छन् । भारतमा काम गरेर फर्किएका रानाले एयर पेस्तोल बोकेर आएका थिए । भारतमा खुल्लम–खुल्ला लिएर हिड्न पाइने एयर पेस्तोल बोकेर आएका रानालाई नाकामा रहेको जमुनाहा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालमा एयर पेस्तोल लिएर हिड्न पाइन्न भन्ने कुरा रानालाई थाहा थिएन । घरको खेतमा चराहरु आउने भएकाले त्यसलाई हान्न एयर पेस्तोल ल्याएको रानाको भनाई छ । रानाले दुई हजार बढीमा एयर पेस्तोल किनर ल्याएका थिए ।
पेस्तोल जस्तो देखिने भएकाले लुटपाटमा प्रयोग हुन सक्ने आशंकाले प्रहरीले यसलाई लिएर हिड्न रोक लगाउने गरेको पाइन्छ । जमुनाहा नाकाबाट स्थानीय चुनावको चुनाव अघि पनि दुई वटा एयर पेस्तोल बरामद भएको थियो । भारतमा बस्नेहरुले त्यहाँ केही नगर्ने भएपछि नेपालमा पनि केही हुँदैन होला भन्ने ठानेर एयर पेस्तोल बोकेर आउने गर्दछन् । चरा मार्न प्रयोग हुने एयर पेस्तोलले नजिकबाटै कन्चटमा हान्दा मानिसको पनि मृत्यु हुन सक्ने जानकारहरु बताउँछन् ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले भारतबाट आइरहेका रानाको झोला जाँच गर्दा एयर पेस्तोल फेला परेको बताउनुभयो । रानालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्