‘जनताको घरघरमा एमाले’



नेपाल समाचारपत्र, बाँके । नेकपा एमाले, बाँकेले ‘जनताको घरघरमा एमाले’ नामक अभियान थाल्ने तयारी गरेको छ ।
संविधान जारी हुँदा र नाकाबन्दीका बेलामा एमालेले भ्रम हटाउन तीन भाषामा संविधानको चर्चित बुँदाहरु समेटेको पुस्तक लिएर घरदैलो अभियान सञ्चालन गरेको थियो । अन्य शक्तिहरु मिलेर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेका बेला एमाले, बाँकेले आगामी चुनावलाई लक्षित गरेर यस्तो अभियान शुरु गर्न थालेको नेताहरुले बताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा तराई मधेसमा गरेका राम्रा कामहरुलाई निरन्तरता दिनका लागि फेरि आगामी चुनावमा एमालेलाई बहुमत दिनु पर्ने बताउन यस्तो अभियान थालेको एमालेका उपसचिव प्रमोद धितालले बताउनुभयो । यो अभियानका क्रममा संगठन सुदृढिकरण, स्थानीय निकायमा खटिएका युवाहरुलाई सम्मान, एमालेको सरकारले गरेका राम्रा कामको जानकारी गराइने छ ।

सरकारले मंसीरमा संघ र प्रदेशको चुनाव गर्ने घोषणा गरिसकेकाले एमालेले त्यसलाई लक्षित गरेर अभियान अगाडि बढाएको हो । ‘एमालेले राष्ट्रियता सम्बन्धी लिएको अडान, उसका नीतिका बारेमा घरघरमै गएर जनतालाई अवगत गराइनेछ, उपसचिव धितालले भन्नुभयो ।

अभियानका क्रममा गाउँगाउँमा सभाहरु गरिने छन् । दुई चरणको स्थानीय निकायको चुनावमा पहिलो पार्टी बनेको एमालेलाई एक्लाउने प्रयास भइरहेका बेला सो पार्टीका नेताहरुलाई ‘साख’ जोगाउने चुनौती रहेको छ ।

बाँकेको आठ वटा तहमध्ये चार वटामा जितेको एमालेलाई अब संघका तीन र प्रदेशका ६ क्षेत्रमा जित्नु चुनौती रहेको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बाँकेलाई निर्वाचन क्षेत्र निर्धारण आयोगले तीन वटामा झारेको छ । क्षेत्र घटाउदा पकड भएका गाउँहरु अन्यत्रमा मिसिएका छन् । आयोगले नरैनापुर, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकालाई मिसाएर एक नम्बर क्षेत्र बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका २३ मध्ये २१ वडा र डुडुवागाउँपालिकालाई मिसाएर क्षेत्र नं. २ बनाइएको छ । बैजनाथ, खजुरा र जानकी गाउँपालिका तथा नेपालगञ्जको १६ र १७ नम्बर वडालाई मिसाएर क्षेत्र नं. ३ कायम गरिएको छ ।

क्षेत्र नं. ३ मा एमालेले जितेका तीनवटै गाउँपालिका परेका छन् । एमालेले जितेको कोहलपुर नगरपालिका भने कांग्रेसले जितेको राप्तीसोनारी र संघीय समाजवादी फोरमले जितेको नरैनापुर गाउँपालिकासँग मिसिएको छ । चुनाव घोषणासँगै नेताहरुको चहलपहल अझ बढेको छ । यो वा त्यो ठाउँमा चुनाव लड्ने नेताहरुको चर्चा शुरु भएको छ । एमालेमात्रै होइन, अरु पार्टीका नेतामा पनि उम्मेदवारका चर्चा परिचर्चा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्